श्री परशु आधारभूत विद्यालयको ६४औँ स्थापना दिवस  एवं शैक्षिक प्रतिष्ठानको उद्घाटन

42
Shares

कास्की ।

 विसं २०१६ मा स्थापना भएको श्री परशु आधारभूत विद्यालयले ६४औँ स्थापना दिवस मनाएको छ । सो अवसरमा विद्यालयको समग्र शैक्षिक उन्नयनका लागि गठित श्री परशु शैक्षिक प्रतिष्ठानको समेत उद्घाटन गरिएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका-१, भारती डाँडामा अवस्थित उक्त विद्यालयको एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी, प्रतिष्ठानका प्रमुख संरक्षक प्रेमराज अधिकारी लगायतले संयुक्त रूपमा उक्त प्रतिष्ठानको उद्घाटन गरेका हुन् ।

अहिलेसम्म करिब हजार बढी विद्यार्थीले अध्ययन सक्याए । उनीहरु सबैलाई कुनै न कुनै माध्यमबाट विद्यालयसँग जोड्ने योजनाअनुसार ६४औँ स्थापना दिवस एवं श्री परशु शैक्षिक प्रतिष्ठान माध्यम बन्यो ।

विद्यालयमा आर्थिक सङ्कलन गर्ने माध्यम बनेका महायज्ञबाट ठूलो रकम सङ्कलन भए पनि खर्च कटाउँदा न्यून बचत हुने गरेको सन्दर्भमा अन्नपूर्ण गाउँपालिका-१, भारतीडाँडास्थित श्री परशु आधारभूत विद्यालयले फरक शैली अपनाएर प्रतिष्ठानका लागि अभियान सुरु गरेको एक वर्षमा १२ लाख बढी रकम सङ्कलन गरेको छ ।
पुस ९ गते सोमवार विद्यालयमा आयोजना गरिएको ६४औँ स्थापना दिवस एवं श्री परशु शैक्षिक प्रतिष्ठान समुद्घाटन कार्यक्रममा विद्यालयमा अध्ययन र अध्यापन गराएर विभिन्न सिलसिलामा स्वदेश तथा विदेशमा पेसा व्यवसाय गर्दै आएका व्यक्तिबीचमा भेटघाटको अवसर पनि जुरेको थियो । विविध कारण स्वदेश तथा विदेशका विभिन्न ठाउँमा पुगेका पूर्व विद्यार्थी, शिक्षक तथा विद्यालयका शुभचिन्तकले विद्यालयको चौतर्फी विकासका बारेमा समेत छलफल गरे ।

सो अवसरमा ८० बर्ष उमेर पुगेका ४० जना स्थानीयलाई गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी, प्रतिष्ठानका प्रमुख संरक्षक प्रेमराज अधिकारी लगायतले सम्मान गरेका थिए । सँगै पूर्व विद्यालय ब्यावस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष, पूर्व प्रधानाध्यापक, पूर्व शिक्षक, चन्दादातालाई पनि सम्मान गरिएको थियो । विद्यालयमा अध्ययनरत ३१ जना विद्यार्थीलाई न्यानो कपड़ा स्विटर र टोपी प्रदान गरिएको कार्यक्रममा विद्यालयले सञ्चालन गरेको अतिरिक्त कार्यक्रममा प्रथम, द्वितीय, तृतीय हुने छात्राछात्रलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष केदारनाथ अधिकारीको अध्यक्षता, अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष विष्णुबहादुर केसी प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल सरकारका सह-सचिव एवं पूर्व विद्यार्थी बिनोद बहादुर कुँवर, पालिकाका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारी, पूर्व प्रधानाध्यापक एवं वडा नं १ का वडाध्यक्ष, प्रतिष्ठानका अध्यक्ष तुलसी प्रसाद अधिकारी, पालिकाका शिक्षा विभाग प्रमुख पूर्व विद्यार्थी बलराम भुगाई, पूर्व ड़िएसपी/विद्यार्थी ग़मबहादुर कुँवर, पूर्व प्रधानाध्यापक तुलसीप्रसाद अधिकारी, पूर्व विद्यार्थी राजेन्द्र अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

बिधालयका शिक्षक हरिप्रसाद भुगाईको सञ्चालन रहेको कार्यक्रममा बिधालयका प्रधानाध्यापक कलाधर भुगाईले विद्यालयको प्रगति प्रतिवेदन सहित भावी रणनीति, प्रतिष्ठानका कोषाध्यक्ष ओमकार अधिकारीले प्रतिष्ठान गठन गर्नुको उद्देश्य सहित भावी रणनीति बारे प्रकाश पारेका थिए भने शिक्षिका एवं प्रतिष्ठानका उपाध्यक्ष संगीता नेपालीले उपस्थित सबैलाई स्वागत गरेकी थिइन् ।

कार्यक्रममा विद्यालयको शैक्षिक विकासका लागि सुरु गरिएको आर्थिक सङ्कलन अभियानमा विद्यालयका पूर्व शिक्षक/विद्यार्थी स्थानीय अभिभावक सबैले उदार मनले सहयोग गरेका छन् ।

“सरकारी तवरबाट आउने अनुदानले मात्रै विद्यालय सञ्चालन हुनसक्ने अवस्था छैन, त्यसलै विद्यालयका पूर्व विद्यार्थी र शुभचिन्तकलाई जिम्मेवार बनाउँदै सहयोग जुटाउन थालेका हौँ”– प्रधानाध्यापक कलाधर भुगाईले बताए ।