चामुण्डाबिन्द्रासैनी ९ मा बौलाहा कुकुरको बिगबिगी, स्थानीय त्रसित

0
Shares

 दैलेख। 

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाको ९ नम्बर डौसुर क्षेत्रमा यति वेला बौलाहा कुकुरको बिगबिगी बढेपछि स्थानीयबासी त्रसित बनेका छन् । बौलाहा कुकुरले रातिको समयमा घरमा पसेर स्थानीयलाई घाइते बनाउनुका साथै पशु चौपायाहरूलाई समेत क्षति गरेपछि स्थानीयबासीले हैरानी खेप्नुका साथै क्षति व्याहोर्नु परेको छ ।

बौलाहा कुकुरले स्थानीयबासीका पशु चौपायाहरूलाई घाइते बनाएपछि उपचारको अभावमा धेरै पशु चौपाया मरेका छन् भने केहीलाई जिल्ला स्थित पशु अस्पतालमा पुगेर औषधी  उपचार गराउनुपरेको स्थानिबासीको भनाई रहेको छ ।

यता चामुण्डाबिन्द्रासैनी नगरपालिका ९ ले पनि सूचना प्रसारण गर्दै स्थानीयबासीहरुलाई सचेत रहन अनुरोध गरेको छ । भने पशुचौपायाहरु लगायत घरपालुवा कुकुरहरुलाई समेत छाडा नछोड्न अनुरोध गरेको छ । साथै भुस्याहा कुकुरहरुलाई नियन्त्रण गर्न र घाइते पशुचौपायाहरुका लागि भ्याक्सिनको व्यवस्थापन गर्नका लागि  वडा आफैले नसक्ने भएकाले नगरपालिका लगायत संघसंस्थाहरुलाई सहयोग गर्न भनिएको वडाध्यक्ष प्रेम बहादुर रावलले बताए ।

स्थानीयबासी लगायत चामुण्डाबिन्द्रासैनी ९ नम्बर वडाले नगरपालिकामा रहेको पशुसेवा शाखामा समेत जानकारी गराउँदा पनि कर्मचारीहरुले सेवा प्रवाह नगरेको गुनासो गरेका छन् । यस तर्फ भने सम्बन्धित निकायले समयमै सेवा प्रदान गर्न सकेको खण्डमा हुन जाने क्षतिमा न्यूनीकरण गर्न सकिन्छ कि ?