दोलखा महोत्सव– २०८० को तयारी तीव्र

0
Shares

दोलखा।

आगामी पुस १३ देखी २२ गतेसम्म दोलखा सदरमुकाम चरिकोटमा आयोजना गरिन लागेको दोलखा महोत्सव– २०८० को तयारी लगभग पुरा भएको आयोजक दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले बताए । महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहालले गर्नुहुने पनि अध्यक्ष श्रेष्ठले बताए ।

स्थानीय कृष तथा घरेलु उत्पादनलाई प्राथामिकता दिदै सुस्ताउँदा आर्थिक गतिविधिलाई चलायमान बनाउन प्रयत्न गर्ने उद्देश्यले आयोजना गर्न लागिएको दोलखा महोत्सव– २०८० को लागि सदरमुकाम चरिकोट स्थित टुँडिखेलमा एक सय ५० वटा स्टल निर्माण गरिएको र त्यसमा एक सय ३० वटा स्टल स्थानीय व्यवसायीहरुले बुक गरेको  दोलखा उद्योग वाणिज्य संघका सचिव प्रवीण श्रेष्ठले बताए । महोत्सवको लागि बजार सिंगार्ने र टुँडिखेलमा मनोरञ्जनात्मक खेलको लागि आवश्यक तयारी गर्ने काम समेत पूरा भएको संघले जनाएको छ ।

१० दिनसम्म आयोजना गरिने महोत्सवमा प्रत्येक दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरुले दैनिक मनोरञ्जन प्रदान गर्ने आयोजकको भनाई छ । महोत्सवकै अवसरमा पुस १४ गते सातदोबाटो चोकमा साहित्यिक साँझ, पुस १५ गते स्टेट फुड फेस्टिबल र पुस १८ गतेबाट बिभिन्न इभेन्टको ब्याडमिण्टन प्रतियोगीता आयोजना गरिने सचिव श्रेष्ठको भनाई छ ।

त्यसैगरी घरेलु हस्तकला उत्पादनको बिक्री तथा प्रर्दशन, बिभिन्न जातजातिको धार्मिक एवं सांस्कृतिक झाँकीहरुको प्रर्दशन, स्थानीय कृषि उत्पादनको बिक्री तथा प्रर्दशन, बिभिन्न प्रविधिहरुको प्रर्दशन महोत्सवको आकर्षण हुने सचिव श्रेष्ठको भनाई छ ।

महोत्सव आयोजना स्थल प्रवेशको लागि प्रतिव्यक्ति ६० रुपैयाँ टिकट शुल्क लाग्ने आयोजकले जनाएको छ । विद्यार्थीहरुलाई समूहमा आए २० रुपैयाँ र अन्य समयमा ३० रुपैयाँ तथा दृष्टिविहीन र अपाङ्गता भएका फरक क्षमताको व्यक्तिलाई निःशुल्क प्रवेश दिइने आयोजक दोलखा उद्योग वाणिज्य संघका महासचिव सुरेश उप्रेतीले बताए ।