बाघको आक्रमणबाट एकको मृत्यु

0
Shares

वीरगन्ज।

पर्साको पटेर्वासुगौली गाउँपालिकामा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ थरकटीका बाबुलाल उरावँ धाँगडका ३२ बर्षीय छोरा मनोज उरावँ धाँगडको बाघको आक्रमणबाट ज्यान गएको हो ।

आइतबार राति जंगल छेउमा शौच गर्न गएका मनोजलाई बाघले घिसारेर लगेको थियो । मनोज बेपत्ता भएपछि खोजी गर्ने क्रममा उनले लगाएको चप्पल भेटिएको स्थानमा बाघको पञ्जाको डोव पनि भेटिएकोले बाघले नै मनोजलाई लगेको यकिन भएको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष विजय गैरेले बताए।

रातिबाट  बेपत्ता भएका मनोजलाई खोजी गर्दै जाँदा सोमबार  बिहान लगि मारेको र मारेको ठाउँमा मृतकको मोबाईल भेटिएको छ । साथै दाहिने घुडा देखि तलको एउटा खुट्टा बाकी रहेको, गर्धनको छाला नभएको मासु र हड्डी, सोही छेउमा छाला नभएको खप्पर भेटिएको थियो । बाटो भरी रगत लतपतिएको र टाउको र खुट्टा भएको घट्ना स्थलदेखी अन्दाजी १० मिटर उत्तर पूर्वमा मृतकको ज्याकेट पनि फेला परेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए ।

पर्साको जंगल छेउको वस्तीमा वन्यजन्तुले बालीनाली खाएर नष्ट गर्नुका साथै मान्छेको ज्यान समेत लिने गरेको छ । मनोजका बाबु बाबुलाल महतो उरावँले दुई विगाह क्षेत्रफलमा लगाएको धानबाली पनि यसपटक जंगली जनावरले खाइदिएपछि भित्र्याउन पाएनन् । बाली भित्र्याउन नपाएको पीडामा रहेका  बाबुलाललाई बाघले छोरा पनि खाइदिएपछि झन् पीडा थपिएको छ । वडाध्यक्ष गैरेका अनुसार बाघ अहिले जङगल पसेको छ । बाघ नियन्त्रणमा नआएकाले सावधानी अपनाउन उनको आग्रह छ । रातको समयमा घर बाहिर ननिस्कन, जङगल आसपास नजान  तथा घाँस दाउरा लिन जङगल जाँदा सावधानी अपनाउन उनले आग्रह गरेका छन्  ।