लमजुङको कुमाल समुदाय जुट्यो पाउँदुरे नाचको संरक्षणमा 



लमजुङ। 

पूर्वी लमजुङका कुमाल समुदाय लोपुन्मख पाउँदुरे नाचको संरक्षणमा जुटेको छ । राइनास नगरपालिका ४, अल्कटारका कुमाल समुदायका युवाहरु कुमाल जातिको संस्कृति जोगाउने उद्देश्यले उक्त नाचको संरक्षणमा जुटेको हो ।

अल्कटारमा शनिबारबाट पाउँदुरे नाच प्रशिक्षणको सुरुवात भएको छ । पाउँदुरे नाच सिक्न अल्कटार क्षेत्रका ३० भन्दा बढी युवा जुटेका छन् । राइनसस्थित पोखरी कुमाल समाजको अगुवाइमा युवाहरुलाई ७५ देखि ८५ वर्ष उमेरका ६ जना वृद्धहरूले पाउँदुरे नाच सिकाउन थालेका हुन्।

जिल्लामा रहेका विभिन्न जातजातिहरु लोपुन्मुख भएको संस्कृति जोगाउनमा लगेको भन्दै लोपुन्मुख संस्कृतिलाई बचाउन कुमाल समुदायमा पनि पाउँदुरे नाचको प्रशिक्षण थालिएको पोखरी कुमाल समाजका अध्यक्ष कमलविक्रम कुमालले जानकारी दिए ।

पाउँदुरे नाच्ने संस्कृति कुमाल समुदायको भएता पनि कतिपय ठाउँमा लोप भइसकेको हुनाले आफ्नो संस्कृति जोगाउनका निम्ति अल्कटार क्षेत्रका कुमाल युवाहरुलाई भेला गराई नाचको प्रशिक्षण थालिएको अध्यक्ष कुमालको भनाई छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङका अध्यक्ष अनुज अधिकारीले लोक संस्कृतिलाई जोगाउन समुदाय नै अग्रसर हुनुपर्नेमा जोड दिए ।

पोखरी कुमाल समाजले गण्डकी प्रज्ञा–प्रतिष्ठानको सहयोगमा सुरु गरिएको पाउँदुरे नाच प्रशिक्षण कार्यक्रममा डेढलाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । नाच प्रशिक्षण एक महिना सम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्