कलाकार मात्र भएर बस्दा आयु सकिन्छ : सरिता लामिछाने



सरिता लामिछाने भन्नासाथ पाठक–दर्शकलाई एक जमानाको सुपरहिट टेलिसिरियल मुक्तिको मुख्य पात्रको याद आउँछ। जसमा उनलाई हेर्नका लागि मानिसहरू घर–घरमा जम्मा भएर टेलिभिजन सेटअघि कुरेर बस्थे।

शहरका बाटो खाली र सुनसान हुन थाले भने थाहा हुन्थ्यो त्यो साँझ नेपाल टेलिभिजनमा टेलिसिरियल मुक्ति आईरहेको छ। पहिलो सिरियलबाटै सरिताले यति धेरै दर्शकको मन जितिदिइन् कि बूढी बूढी मान्छे पनि उनलाई भेटेर अँगालो हालेर रुँदै अबचाहिँ मरेँ भने पनि स्वर्ग पुग्छु भन्थे।

मुक्तिबाटै पहिचान बनाउन सफल भएपछि अभिनेत्री लामिछाने यति व्यस्त हुन थालिन् कि, उनी एकै समयमा नौ भिन्दाभिन्दै टेलिभिजन च्यानलमा देखिइरहेकी हुन्थिन्। कुनै च्यानलमा उनको सिरियल आइरहेको हुन्थ्यो भने कुनैमा विज्ञापन, कुनैमा उनले होस्ट गरेको कार्यक्रम, कुनैमा म्युजिक भिडियो आइरहेको हुन्थ्यो।

यसलाई हेरेर रवि गिरीजस्ता अभिनेताले सरितालाई सल्लाह दिन्थे ‘यति धेरै काम नगर। इलास्टिक जस्तो हुन्छ, च्यातिन्छ।’ विभिन्न सिरियलका लागि गरेको अभिनयको इलास्टिकलाई च्यातिन नदिई जतनसाथ तन्क्याउँदै दर्शकबाट सिरियल क्विनको उपाधि पाएकी सरिताले मुक्तिपछि दृष्टि, परिचय, परिचय–२ गहना, जानकी, सीता, चेतनाको दियो, अचानक, दुई दिनको जिन्दगानी, चाहना मनको, माइती, हराएको साइनो, भूमिका, सपनाको महलजस्ता दुई दर्जन सिरियल तथा मेघा सिरियलका आठ सयभन्दा बढी भागका विभिन्न चरित्रमा अभिनय गरी दर्शकको मन जित्दै आएकी छन्।

त्यसैगरी, सन्तानको माया, श्रीमान् श्रीमती, फिंगर प्रिन्ट, किस्मत–२, सीता, म, सरी ममजस्ता पौने दर्जन फिल्मबाट पनि दर्शकमाझ विशेष छाप निर्माण गरेकी छन्। दुई दर्जन जति सर्ट फिल्म, दुई दर्जन म्युजिक भिडियो, एक दर्जन बढी विज्ञापन फिल्ममा काम गरिसकेकी बहुप्रतिभाकी धनी उनले विभिन्न सिरियल र मेघा सिरियलबाट अवार्ड र सम्मान पनि चुम्दै आएकी छन्। बहुप्रतिभाकी धनी उनै अभिनेत्री सरिता लामिछानेका साथ नेपाल समाचारपत्रका वरिष्ठ समाचार सम्पादक विदुर गिरीले गरेको कुराकानी यहाँ प्रस्तुत छ :

हाल के गर्दै हुनुहुन्छ?

हाल एउटा आफ्नै होम प्रोडक्सनको सिरियलको तयारीमा छु। जु्न छिट्टै नै फ्लोरमा जा“दैछ भने प्राइम टेलिभिजनमा बायोग्राफीसम्बन्धी कार्यक्रम सञ्चालनको तयारीमा छु।

कला क्षेत्रमा बिताएका दुई दशकभन्दा लामो समयलाई फर्केर हेर्दा कस्तो महशुस हुन्छ?

आफ्नो साइडबाट एकदम बेस्ट गरेँ भन्ने लाग्छ। जीवनको उत्कृष्ट पल फिल्म क्षेत्रमा बिताइएछ, जसलाइ सम्झि“दा कहिल्यै रिग्रेट फिल हुँदैन। म यस मानेमा लक्की पनि छु कि हिजो पनि स्पिडले काम गरिरहेकी थिएँ, आज पनि गरिरहेकी छु। क्ला क्षेत्रको समय परिस्थिति फेरिँदै आउँदा र आर्थिक मन्दीको असर देखिँदा पनि म निरन्तर काम गरिरहेकी छु। कामलाई सिरियसली लिएर र कामप्रति आफ्नो मेहनत र अनुशासन आदिका कारणले होला कहिले पनि काम छैन भनेर बस्नुपरेको छैन। दर्शकले पनि मलाई राम्रो हिसाबले लिनुभएको छ। हिजोको मुक्तिको त्यो सरिता आज पनि जीवितै छे।

यो क्षेत्रमा कस्तो अन्तर पाउनुभएको छ?

समय सँगसँगै फिल्म र सिरियलको क्षेत्र पनि अपग्रेट हुँदै गएको छ। धेरैले यो क्षेत्र नै छोडी पनि सके। तर, मलगायत हामी केही अझै काम गरिरहेका छौँ। हामी कलाकार पनि समयसँगै अपडेट हुनुपर्छ। मेरो काम यो हो भनेर बुझेर अगाडि बढ्नुपर्छ। हिजोभन्दा आज धेरै कुरा फरक भएको छ। अहिले मोबाइलका कारण सबै कुरा हातमा छ। त्यसको कतिपय फाइदा पनि छ बेफाइदा पनि छ। ओभरनाइट सेलिब्रेटी बनेर पलायन हुने समस्या पनि छ। अनुशासनको कुरा गर्नुपर्दा आफूमा हुनुपर्छ। सिनियरलाई रेस्पेक्ट छैन भनेर सिनियरहरूको सुनिरहन्छु। सिनेमा क्षेत्रमा लागेपछि सिनेमा, सिनेकर्मी र लिजेन्डको बारेमा केही जानेर बुझेर आएको राम्रो। कहिलेकाहीँ नचिन्दा र नजानेको खण्डमा अप्ठेरो पर्न सक्छ। सायद, त्यसैलाई अनुशासनको कमी भनेको हो कि?

तपाईंले कला क्षेत्रबाट नामसँगै दाम पनि मनग्ये कमाउनुभयो हैन?

आजको दिनसम्म मेरो सिनेमाभन्दा अर्को पेशा छैन। सिरियल र सिनेमाले नै मलाई नाम र दाम दिएको छ। यसलाई राम्रै हिसाबले लिनुपर्छ। मैले यही क्षेत्रबाट घर घडेरीदेखि लिएर सम्पूर्ण कुरा प्रँप्त गरेकी छु। त्यसैले कमाइको हिसाबले सन्तुष्ट छु।

कला क्षेत्रमा आउनुअघिको समयलाई कसरी सम्झनुहुन्छ?

म नेपाल बायो इलोक्ट्रिक कम्पनीको एक प्रोजेक्टमा जब गर्थें। राम्रो पैसा आउँथ्यो। एकदिन कस्तो इन्सिडेन्ट भयो भने अफिसमा बसिरहेको बेला साथीहरूलाई एउटा फोटो देखाइरहेको थिएँ। बोस (हेमन्त अर्याल) ले देख्नुभयो र फोटो लगेर भित्र बोलाउनुभयो। म ला के भन्ने हो भन्ने डरले थुरुरु भएँ। त्यो फोटो खाममा राखेर दिँदै भरे घर गएर मात्र खोल्नु भन्नु भयो। घर गएर हेर्दा विस यु अल द बेस्ट, यो फोटो हेर्दा तिमीले फिल्म क्षेत्रमा ज्वाइन गर्नुपर्छ कि जस्तो लाग्यो भनेर लेखिएको थियो। नभन्दै त्यहाँको जब छोडेपछि म फिल्म क्षेत्रमा आएँ। त्यहाँ पनि एक प्रकारको सन्तुष्टि थियो, अहिले यता अर्को खालको सन्तुष्टि छ।

तपाईं सिरियलमा बढी रुचाइनुभयो नि?

सायद, मैले सिरियलबाट काम शुरु गरिएकाले पनि होला, म सिरियलमै रुचाइएँ। त्यो बेलाको माहोल एकदमै फरक थियो। मानिसहरू मुक्ति सिरियल आउने समय भयो भनेर कुरेर बस्ने गर्थे। अहिले यति भ्युज गयो, यति जनाले हेरे, भाइरल भयो भन्ने गर्छन्। मलाई लाग्छ, अहिलेको सफलताभन्दा त्यो सफलता धेरै माथिको सफलता रहेछ। म आफैंले पनि नचिनेको कल्पना पनि नगरेको सफलता पाएकी रहेछु।

हिजोआज पहिलेजस्तो सार्थक सिरियल आउनै छोडे नि?

मैले गर्ने समय र अहिलको समयमा आकाश जमिनको फरक छ। त्यति बेला क्वालिटीको कुरा पनि आउँथ्यो। अहिले सिरियलको परिभाषा र कथा भन्ने शैली पनि फेरिएजस्तो छ। टेक्निकल्ली रिच भए पनि कथामा भने पोर देखियो। पहिले परिवारसँग बसेर पारिवारिक कथाको सिरियल हेर्ने, यो सिरियल यो दिन आउँदैछ भन्ने माहोल थियो, अहिले त्यो छैन। सबैजना बसेर टेलिभिजन हेर्ने कल्चर थियो। पहिलेजस्तो हिजोआज सबैजना बसेर हेरौँ न त भन्ने खालको सिरियलको कमी नै छ जस्तो लाग्छ।

सिनेमामा चाहिँ कम देखिनुभयो नि?

सिरियलमा काम गरेर नै फूर्सद भएन, त्यसैले मैले सिनेमामा धेरै काम गरिनँ। त्यो समयमा मलाई जति फिल्मको अफर कमैलाई आएको होला। मैले पहिलो सिनेमाको रूपमा सन्तानको मायामा काम गर्दा १८ ओटा सिनेमा छोडेर १९औं सिनेमामा काम गरेकी थिएँ। मुक्तिमा काम गरेपछि त सिनेमामा पहिलो रोजाइ नै मै हुन्थेँ। मैले ५० को हाराहारीमा फिल्म छोडेँ। कतिमा पैसा नमिल्ने, कतिमा कथा चित्त नबुझ्ने भयो, कहीँ समय मिलेन र काम गरिनं। फेरि फिचर फिल्ममा काम गर्दा महिनौं दिन बाहिर गएर बस्नुपर्ने कारणले पनि मैले धेरै सिनेमा छोडेँ।

तपाईंलाई निर्देशक बन्ने मन छैन?

पक्कै पनि छ। धेरै अगाडि दुइटा सिनेमा निर्देशनको लागि भर्बल एग्रिमेन्ट गरेको थिएँ। अल्टिमेट्ली कलाकार मात्र भएर बस्दा कलाकारको आयु सकिन्छ। टेक्निकल फिल्ड पनि अपनाउनुपर्छ कि भनेर लेखनमा लागेर झन्डै चार वर्ष दृष्टि भन्ने सिरियल लेखेँ। त्यसपछि फूलफेज निर्देशनमा जानको लागि छवि ओझा र प्रदीप उदय दाइसँग ल अब काम गर्नुपर्छ है भनेर एक प्रकारको मौखिक एग्रिमेन्ट थियो। सिनेमा निर्देशन भनेको सानोतिनो जब होइन, अझै तयारी गर्छु भनेर बसिरहेको छु।

काम गर्दा यतिजना महिला निर्देशक भए है भन्दा पनि राम्रो खालको महिला निर्देशक आयो है भन्ने खालको हुनुपर्छ जस्तो लाग्छ। मेरो ड्रिम प्रोजेक्ट भनेकै फिचर फिल्म हो। मसँग एउटा बलियो कन्सेप्ट छ। मलाई मात्र राम्रो लागेको पनि हुन सक्छ, तर मेरो सर्कलको मानिसहरूलाई कन्सेप्ट सेयर गर्दा सबैले यो राम्रो छ भन्नुभएको छ। सबै कुरा मिलाउँदा समय कहिले आउँछ हेरौं।

नेपाल चलचित्र कलाकार संघमा महासचिव भएर काम गर्दाको अनुभवचाहिँ कस्तो रह्यो?

मैले कलाकार संघको महासचिव पदमा चुनाव लड्दा संघको २७ वर्षको इतिहासमा पहिलोपटक त्यो पदमा महिलाको उम्मेदवारी थियो। त्यस्तोमा अत्यधिक मत ल्याएर विजयी हुनु भनेको अचम्मको कुरा थियो। साढे तीन वर्ष जति महासचिव भएर काम गर्दा मैले बेस्ट दिएको हो। त्यही बेला संघबाट दुई अवार्ड कार्यक्रम गरियो। संघमा कलाकार र गैर कलाकार भनेर विवाद भइरहन्छ। मैले जेन्युन कलाकारलाई सदस्यता दिलाएँ। त्यतिबेला चलेका कलाकारहरू संघको सदस्यता नै लिन चाहनुहुन्थ्यो। खै संघले के गरेको छ र भन्नुहुन्थ्यो। तर, मैले पूजा शर्मा, साम्राज्ञी राज्य लक्ष्मी शाह, नाजिर हुसेन, पल शाह, आँचल शर्मालगायतलाई सदस्यता लिन लगाएँ।

संघको गतिविधिसँगै राजनीतिमा छिर्नुभयो?

म राजनीतिभित्र कति छिरेँ छिरिनँ थाहा छैन, तर मैले पार्टी समातेर राजनीति गरेको होइन। कलाकार संघमा पनि पार्टीगत राजनीति चल्छ, मचाहिँ कुनै पनि राजनीतिक पार्टीमा थिइनँ। म स्वतन्त्र कलाकारको हैसियतले उठेकी थिएँ। तर, महिला भएकाले काम गर्न अलि असहज भयो। महिला भएकै कारणले यसलाई अगाडि आउन दिन हुँदैन भन्ने मेन्टालिटी भएका केही मानिस पनि भेटिए। महिला भएकै कारण नियम र कानुनका कुरा जान्ने अधिकारचाहिँ हामी पुरुषलाई मात्र हुन्छ भन्ने मेन्टालिटी पाएँ। महिला महासचिव किन? महिला भएर घर सम्हालेर बस्नुपर्छ भनेका तीता शब्द पनि सुनेँ। महिलाले कहाँ महासचिव पद सम्हाल्न सक्छन् भन्नेहरू पनि थिए। तर, मैले त महिलाका लागि बाटो खोलिदिएँ, अहिले संघमा महिलाहरू आउनुभएको छ। महिला आए, चुनावमा फाइट गरे। सफल हुनु नुहुन अर्कै कुरा हो। मैले महिलाहरूका लागि राइट टु इन्भरमेसन नामक वर्कसप गरेँ, जसमा दुई सयजना महिलाको सहभागिता थियो। म चलचित्र विकास बोर्डको महिला सशक्ति करणको टिममा थिएँ। कार्यक्रम यस्तो राम्रो भएछ कि अग्रज कलाकार वसुन्धरा भुसालले हामीलाई स्पेसल गेस्ट होइन, पार्टीसिपेट गरेको भनेर सर्टिफिकेट दिनुस् भन्नुभयो।

अबको योजना के छ?

राम्रो सिनेमा, सिरियल र टेलिभिजनको यात्रालाई कन्टिन्यु गर्ने अबको सोच छ।

प्रतिक्रिया दिनुहोस्