विवाह गराइदिन्छु भन्दै बोलाएर महिलाको हत्या, फरार व्यक्ति ६ वर्षपछि पक्राउ

0
Shares

काठमाडौँ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २०७४ पुस ३० गते काठमाडौँ महानगरपालिका-१४, बल्खुस्थित बोक्सिदह डाँडामा एक महिलाको हत्या गरी फरार रहेका व्यक्तिहरूलाई पक्राउ गरेको छ।

प्रहरीले ०७४ पुस ३० गते बल्खुस्थित भुमेश्वरी मन्दिर पछाडि बोक्सीदह डाँडामा अन्दाजी ५० वर्षकी महिलाको टाउको र मुखमा गहिरो चोट लागेको अवस्थामा मृत फेला पारेको थियो।

अनुसन्धान गर्दै जाँदा प्रहरीले मृतक नारायणी तिमल्सिना रहेको पत्ता लगाएको थियो। सोही अपराधमा संलग्न दुई व्यक्तिलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पुस ४ गते पक्राउ गरेको हो।

पक्राउ पर्नेमा अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं. १४ का ३७ वर्षीय जगत विश्वकर्मा र धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ तल्लोपोखरा बस्ने वर्ष ४६ को शिवराम अधिकारी रहेका छन्। अधिकारी २०७९ कात्तिक २९ गते चोरी मुद्दामा ३ वर्ष कैद सजाय पाई हाल कारागारमै रहेको प्रहरीले जनाएको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत सुरक्षा केसीका अनुसार मृतक अप्सरा भनिने नारायणी तिमल्सिनासँग जगत विकको चिनजान घटना घटेको दिनमा मात्रै भएको थियो।

शिवराम अधिकारीले नारायणी तिमल्सिनालाई भूपू आर्मीसँग विवाह गराइदिन्छु, १५/२० हजार रुपैयाँ र गरगहना लगाई राम्रो भएर आउनु भनी फोन गरेका थिए।

बालाजुस्थित माछापोखरी क्षेत्रमा तीन जनाको भेट भएपश्चात् २/३ घण्टा खानपिन गरी चक्रपथ चल्ने बसमा चढी, बल्खु झरेर ललितपुरको कुसुन्तीमा पुगी साँझको खाना त्यहीँ खाई बल्खु क्षेत्रको नाम थाहा नभएको खोला किनारामा मन्दिर पछाडि बसेका थिए।

शिवराम अधिकारी र मृतक दुईघण्टा सँगै सुतेका थिए। सोही क्रममा अधिकारी र विकले ढुंगा प्रहार गरी हत्या गरेर मृतकले लगाएका सुनका मुन्द्री र खल्तीमा भएको नगद ६/७ सय रुपैयाँ निकाली गाडी चढी गंगबु बसपार्कको कोपिला गेष्ट हाउसमा गई बसेका थिए। अर्को दिन बिहान पूर्व जाने गाडी चढी उपत्यकाबाट बाहिरिएका थिए।

त्यसपछि प्रहरीको खोजी सूचीमा रहेका आरोपी नेपाल आउँदैछन् भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले पुस ४ गते (हिजो) जगत विकलाई पक्राउ गरेको हो।

अनुसन्धानको क्रममा अर्का आरोपी शिवराम अधिकारी रहेको र उनी ०७९ कात्तिक २९ गते चोरी मुद्दामा तीन वर्ष कैद सजाय भोगिरहेका खुल्न आएको हो। उनले नाम परिवर्तन गरी अर्जुन अधिकारीको नाममा केन्द्रीय कारागारमा रहेको पत्ता लागेको प्रहरीले जनाएको छ।