चितवनमा हात्ती तथा पर्यटन महोत्सव हुने

0
Shares

काठमाडौँ। 

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि चितवनमा १७ औं चितवन हात्ती तथा पर्यटन महोत्सव हुने भएको छ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार सौराहमा आगामी पुस १० देखि १४ गतेसम्म महोत्सवका हुने भएको हो ।

मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सो महोत्सवको भव्य तयारी हुँदै गरेको होटल एसोसियशन नेपाल (हान) का महासचिव साजन शाक्यले जानकारी दिए । विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको माध्यामबाट पर्यटक आकर्षित गराउँदै यस क्षेत्रलाई महत्वपूर्ण पर्यटन गन्तव्य स्थलका रुपमा चिनाउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको महासचिव शाक्यले बताए ।

कोरोना भाइरस महामारी अघि नियमित गर्दै आएको उक्त महोत्सवका कोभिडकालमा तीन वर्ष बन्द भएको थियो । मुलुकको स्वास्थ्य स्थिति सामान्य अवस्थामा फर्किएको तीन वर्षपछि महोत्सवको पूनः सूचारु गरिएको होटल एसोसियशन नेपाल (हान) अध्यक्ष विनायक शाहले बताए । अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन विकासलाई पहिचान दिएको चितवन हात्ती तथा पर्यटन महोत्वसको पुनः नियमित गर्नका लागि सबै निकायको सहयोग आवश्यक रहेको अध्यक्ष शाहको अपेक्षा छ । हात्तीविना समग्र चितवनको पर्यटन कल्पना गर्न नसकिने भन्दै उनले यस पटकको महोत्सवमा हात्ती श्रृङगार प्रतियोगिता, हात्ती बनभोज लगायतका आकर्षण रहेको बताए ।

विश्व सम्पदा सूचीमा सुचीकृत चितवन राष्ट्रिय निकुञ्जको माध्यमबाट पर्यटकहरुलाई आकर्षित गराउँदै चितवनको पर्यटकीय क्षेत्रलाई महत्त्वपूर्ण गन्तव्य स्थलको रुपमा विकास गराउन यस महोत्सवको उद्देश्य रहेको होटल एशोसिएशन नेपालका कोषाध्यक्ष युवराज श्रेष्ठले बताए । पर्या–पर्यटन सम्बन्धित गतिविधिहरु र स्थानीय उत्पादनहरुलाई बजारीकरण गर्दै राष्ट्रिय स्तरसम्म पहिचान गराउन सक्नु महोत्सवको लक्ष्य रहेको उनको भनाई छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा हुने उक्त महोत्सवमा दैनिक २० हजार पर्यटकको आगमन हुने आयोजकको अपेक्षा रहेको छ । महोत्सवका लागि कम्तीमा एक करोड आठ लाख रकम खर्च हुने आयोजकले जानकारी दिएको छ । चितवनको सौराहामा आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनको लागि क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा युनाईटेड हात्ती सञ्चालन समिति लिमिठेड र रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपालको सह–आयोजनामा महोत्सव हुनेछ ।