ठेकेदारले पुल निर्माण नगर्दा स्थानीय र विद्यार्थीलाई विद्यालयमा आउजाउ गर्न समस्या

0
Shares

मुगु।

गमगाढ नदीमा ठेकेदारले पुल निर्माण नगर्दा स्थानीय र विद्यार्थीलाई विद्यालयमा आउजाउ गर्न समस्या भएको छ । वर्षाको समयमा खोला बढ्ने र बाढीले बगाउने डरले आकाशमा कालो बादल लाग्नासाथ विद्यार्थीहरू बिदा मागेर घर फर्किने गर्छन्।

मुगुको छायाँनाथ रारा नगरपालिका १, १०, ११ र १२ त्यसैगरी मुगमकार्मारोङ गाउँ पालिकाका स्थानीयहरू जिल्ला सदरमुकाम गमगढी बजारमा आउँदाजाँदा गमगाढ खोला तर्नका लागि खोलामाथि राखिएका काठका दुई लाप्का भएर खोला तर्दा काँप्दै खोला तर्ने गर्छन् । दिनमा यही लाप्काको भरमा काम्दै सयौँको सङ्ख्यामा गमगाढ खोलामाथि तर्ने गरेको स्थानीय धन बहादुर मल्लले बताए ।

छायाँनाथ रारा नगरपालिका-१ श्रीनगर गाउँमा रहेको मीन माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा सपना मल्ल र महाकाली नमुना माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा मुस्कान मल्लले आफ्नो घरबाट विद्यालय जाँदा गमगाढ खोला माथिका दुई लाप्का भएर जानुपर्ने बाध्यता भएकाले सधैँ विद्यालय जाँदा र घर फर्कँदा डराउँदै खोला तर्ने गरेको गुनासो सुनाइन् ।

निर्माण प्रालीले कालीकाखेतु, वाँजागाड, विष्टवाडा, रोकायावाडा, गोठीजिउला, पिना, झ्यारीखोला, गमगाढ, लुम्स त्यसैगरी काठेखोलासम्म नाग्म गमगढी लोगमार्गको नदी र खोला खण्डमा पर्ने उक्त दस वटा पक्की पुलको निर्माण कार्य प्रालीले ०८२ साल भदौ ८ गते भित्र काम सम्पन्न गर्ने जिम्मा लिएको थियो।

गमगाढ खोलामा निर्माण हुने पक्की पुल ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण सम्झौता भएको झन्डै तीन वर्ष बितिसक्दा पनि निर्माण कार्यहुन सकेको छैन । पुलको निर्माण गर्ने जिम्मा लिएको ठेकेदार कम्पनीले गमगाढ नदीमा पक्की पुलको निर्माण कार्य नहुँदा चारपाङग्रे देखि दुई पाङ्ग्रे सवारीसाधन र स्थानीयलाई आउजाउ गर्नमा सास्ती भएको छ।

सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी चित्र चौलागाईंले नाग्म गमगढी लोकमार्ग अन्तर्गत पर्ने गमगाढ नदीका निर्माण हुने पक्की पुलको छिटोछरितो निर्माण गर्नलाई जिम्मा लिएको हिम सगरमाथा कन्स्ट्रक्सन प्रालिलाई कार्यालयबाट पटकपटक पत्राचार भएको छ।