जापान सरकारको सहयोगमा धुलिखेलमा बन्ने भो १ सय बेडको ट्रमा सेन्टर

0
Shares

काठमाडौँ । 

नेपालमै पहिलोपटक समुदायलाई विश्वास गरी दातृ निकायको सहयोगमा धुलिखेल अस्पतालमा ट्रमा सेन्टर बन्ने भएको छ । नेपाल सरकार र जापान सरकारको सहमति भएअनुसार ३ अरब २२ करोडको १ सय शय्याको ट्रमा सेन्टर धुलिखेल अस्पतालमा बन्ने भएको छ ।

धुलिखेलमा बन्ने ट्रमा सेन्टर निर्माणका लागि आवश्यक प्रक्रियाको पाँचौँ चरणको अन्तिम सम्झौता सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जापान इन्टरनेशनलको अपरेशन एजेन्सी (जाईका) नेपालका सिनियर प्रतिनिधि इजिका केनिचिरोको रोहबरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य समन्वय महाशाखाका महाशाखा प्रमुख डा.चुमनलाल दास र धुलिखेल अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.रामकण्ठ माकजू श्रेष्ठले संयुक्त रूपमा सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौता पत्र एक आपसमा आदानप्रदान गर्दै डा.चुमनलालले तोकिएको समयमै काम सक्नु चुनौतीपूर्ण भएपनि समयमै काम सक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विगतमा त्रिवि शिक्षण अस्पताल निर्माणमा जापान सरकारले गरेको सहयोगको मुक्त कण्ठले प्रशंसा गर्दै आगामी दिनमा पनि नेपाल सरकार जापान सरकार समक्ष यस्तै साथ र सहयोगको अपेक्षा सहित सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

त्यसै गरी डा.रामकण्ठ माकजुले धुलिखेल अस्पतालमा ट्रमा सेन्टर बनाउनु धेरै ठुलो योजना हो । यति ठुलो योजनाका लागि साथ र सहयोग गर्ने जापान सरकार र नेपाल सरकारप्रति धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले समुदाय स्तरमा दुई देशका सरकारले यति ठुलो योजनाको जिम्मेवारी पहिलो पटक दिँदै छ । यसका लागि स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार र समुदायको ठुलो र महत्त्वपूर्ण जिम्मेवारीको काम हो भन्नुभयो । उहाँले नेपालमा यो योजना दिनका लागि जापान सरकारको सदनबाट पहिलो चरणमा पारित गरी नेपालको ससदमा दोस्रो चरणमा पास गरियो । तेस्रो चरणमा जापान सरकारले नेपालमा काम गर्न स्वीकृति दियो ।

चौथो चरणमा नेपाल सरकार र जापान सरकारका बिच अर्थ मन्त्रालय समक्ष सम्झौता भयो र यो पाँचौँ चरणमा नेपाल सरकारको स्वास्थ्य मन्त्रालय र अस्पतालका बिच जापान सरकारका प्रतिनिधिको रोहबरमा सम्झौता भयो भन्नुभयो ।  त्रिपक्षीय सम्झौता कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, अस्पतालका विभागीय प्रमुखहरू, धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार व्याञ्जू श्रेष्ठ, जाईकाका प्रतिनिधि, पत्रकार लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सोही अवसरमा मेयर श्रेष्ठले ट्रमा सेन्टर बनाउनु धुलिखेल अत्यन्तै उपयुक्त थलो भएको र आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसै गरी जाईकाका प्रतिनिधि केनिचिरोले २० वर्ष अघि आफ्नो साथीले काम गरेको अस्पतालमा सहयोग गर्न पाएकोमा खुसी लागेको र यति ठुलो कामका लागि सबैको साथ र सहयोग चाहिन्छ यो अप्ठ्यारो काम पनि हो भन्नुभयो । त्यसैगरि धुलिखेल अस्पतालका हाड जोर्नी विभागका प्रमुख डा. दीपक घिनाञ्जुले १ सय बेडको लेबल वान ट्रमा सेन्टर धुलिखेल अस्पतालमा बन्दै गरेको बताउनुभयो ।

उहाँले नेपाल सरकारले सन् २०१० मा नै आइटी सेन्टर बनाउन लिएको १६ रोपनी जग्गामा आइटी सेन्टर नबनेर पनौतीमा बन्यो । सोही स्थानमा धुलिखेल अस्पतालले ट्रमा सेन्टर बनाउने सम्झौता भएको हो । यो प्रस्तावना सन् २०१४ मा नै जाईकालाई धुलिखेल अस्पतालले पेस गरेको थियो । सन् २००९ मा यो योजना बनेको हो ।  योजना बनाएको १४ वर्षमा काम हुनेभयो । धुलिखेलमा अरनीको राजमार्गले चीनको तिब्बत जोडेको छ भने अर्को बिपी राजमार्गले भारत जोडेको छ । यो बिचमा ठुला अस्पताल कुनै पनि छैन । यी दुवै राजमार्ग अत्यन्तै व्यस्त छन् र यी दुवै सडकमा साना ठुला धेरै दुर्घटना हुन्छ ।

गम्भीर उपचारका लागि घाइतेलाई काठमाडौँ ल्याउँनुपर्ने हुन्छ । ट्रमामा ६ घण्टालाई गोल्डेन आवर भनिन्छ । यो ६ घण्टा भित्र उपचार गर्‍यो भने बाच्ने र कम क्षति हुने सम्भावना हुन्छ । यो समय हामीले धेरै गुमाएका छौ । धेरैको ज्यान जाने र अपांग हुने कारण बढेको छ । यो अवस्थामा एउटा ट्रमा सेन्टरको आवश्यकता दर्साउँदै जाईका समक्ष प्रस्ताव राखियो चरण पार गरी आज हस्ताक्षर भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इजुकेटिभ एजेन्सी हो भने इम्प्लिमेन्टीङ एजेन्सी धुलिखेल अस्पताल हो ।

यो १ सय बेडको अस्पतालमा भौतिक संरचना, आवश्यक भवन, मेडिकल उपकरण हुन्छ । जापान सरकारले ६० प्रतिशत भवनमा ४० प्रतिशत सबै प्रकारका मेडिकल उपकरणका लागि सपोर्ट गर्छ । सन् २०२४ को अक्टुबरमा शिलान्यास भएर सन् २०२६ को फेब्रुअरी २ मा २ वर्ष भित्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

ट्रमा सेन्टरको नक्सा, डिजाइन, वातावरण प्रदूषणको मापदण्ड लगायतका धेरै काम भैसकेको छ । जाईकाले खटाएको कन्सल्टट्याण्डले झन्डै ६० वर्षको लागि परिकल्पना गरेर योजना ल्याएको छ । योजना अनुरु पनै ठेकेदार छनोट गरिसकेकोछ । अस्पतालको डिजाइनमा बिरामी ल्याउने एम्बुलेन्स कहाँ रोक्ने, शल्यक्रिया कक्षमा छिटो भन्दा छिटो कसरी पुर्‍याउने, कहाँ राख्ने सबै योजना गरी डिजाइन गरेको ४ वर्ष भइसक्यो । यति सम्म कि घाम कता लाग्छ, कता बिरामी राख्ने भन्ने सम्म स्पष्ट छ । उक्त सेन्टरमा पार्किङ, आइसियु, ३ वटा अप्रेसन थिएटर, एचडियू, ल्याब, फार्मेसि, वेस्ट म्यानेजमेन्ट सबै सामेल गरेको ठुलो प्रोजेक्ट हो डा.दीपकले भन्नुभयो  ।