मेयर बालेन्द्र–प्रधानमन्त्री ‘प्रचण्ड’बीच जुहारी



ललितपुर ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच स्थानीय तहको कामकारबाहीमा संघीय सरकारले सहयोग गरेको र नगरेको विषयमा आरोपप्रत्यारोप भएको छ ।

ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसको अवसरमा सोमबार भएको समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका प्रधानमन्त्री प्रचण्ड र अतिथिका रूपमा उपस्थिति मेयर साहले बोल्ने क्रममा एकअर्काबीच आरोप र आक्रोश पोख्नुभएको हो।

प्रधानमन्त्री र मेयरबीच यस्तो आक्रोश र आरोप लगाइरहँदा मञ्चमा आसिन अन्य अतिथि र सहभागीहरू मज्जाले हाँसेका थिए।

मेयर साहले बोल्ने क्रममै शुरूमै आफूले गरेको काममा संघ र प्रदेश सरकारले अवरोध गरेको गुनासो गर्दै काठमाडौं उपत्यकाका फोहोर व्यवस्थापनका लागि कानुनी अड्चन रहेको र त्यस विषयमा संघ सरकारले कुनै पहल नगरेको आरोप लगाउनुभयो।

उहाँले भन्नुभयो– ‘केही काम गर्न खोज्दा मुद्दा हाल्ने र पाँचदेखि एक घण्टामा हुने काम पनि संघ सरकारले गरेको छैन।’

‘बन्चरेडाँडाको फोहोर व्यवस्थापनका लागि कानुनी अड्चन रहेकाले त्यसलाई फुकुवा गर्न प्रधानमन्त्रीसँग आग्रह गर्दछु। प्रधानमन्त्री र मन्त्रीहरूले चाहेमा पाँच मिनेटदेखि एक घण्टामा सकिने विषय पनि सम्बोधन गरेका छैनन्। कतिपय कुरा स्थानीय सरकारले मात्र नसक्ने हुँदा संघ सरकारले हेर्नुपर्ने हुन्छ। उपत्यका विकास प्राधिकरणसँग मिलेर हामीले काम गरिरहेका छौं। हामी त्यसका सदस्य छौं। तर, केही विषयमा प्रदेश सकारले मुद्दा हालेकाले काम अड्किएको छ। यस्ता विषयमा सहकार्य गरेर जान सकिन्छ’ –मेयर साहले गुनासो पोख्नुभयो।

‘यातायात व्यवस्थापन कार्य गर्न खोज्दा प्रदेश सरकारले मुद्दा हालेर बाधा अड्चन आएको छ’, उहाँले भन्नुभयो– ‘स्थानीय सरकारले गरिरहेको काममा त्यसरी प्रदेश सरकारले मुद्दा हालिदिनुभएन ।’ मेयर साहले संघ र प्रदेशले गर्ने काम स्थानीय सरकारले गर्दा खुसी हुनुपर्नेमा झन् अल्झाउने काम गरिरहेको आरोप लगाउनुभयो।

उहाँले भन्नुभयो– ‘स्थानीय सरकारले गरेको काम रोक्ने हो भने तपाईंहरूले गरे भइगो नि। हामी चुप लागेर बस्छौं। कसैले काम गर्नु भनेको अरूको अधिकार खोस्नु होइन।’ आक्रोश पोख्दै मेयर साहले भन्नुभयो– ‘फोहोर व्यवस्थापन संघले गरेको भए हामीले किन गर्नुपथ्र्यो ? हामी चुप लागेर बस्थ्यौं। त्यसैले अधिकारभन्दा पनि कर्तव्य हो। तीनै तहका सरकार मिलेर काम गरौैं।’

आफ्ना कुरा राखेको केही समयमै मेयर साह कार्यक्रमबाट निस्किनुभएको थियो। ‘बालेन्द्रजी हिँडिहाल्नुभयो। मलाई फेरि पहिला बोलेर हिँडिहाल्नेसँग पनि अलिअलि ‘इरिटेसन’ हुन्छ। आफूले जे–जे भन्नु छ भनिहाल्ने अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्ने हुनुहुँदैन। प्रमुख अतिथिले बोल्ने बेलासम्म, बस्नुपर्छ।’ मेयर साहसँग झोक्किँदै प्रचण्डले भन्नुभयो– ‘यहाँबाट निस्कने बित्तिकै हुन्छ। बालेन्द्रजी चाहे तपाईंले वागमतीको किनारमा बसेकामथि हस्तक्षेपको कुरा होस् वा तीनकुनेको मुआब्जाको विषय होस्, चाहे काठमाडौं उपत्यकाभित्र फोहोर व्यवस्थापनका लागि मिलेर काम गर्ने सम्बन्धमा सिंहदरबारमा कति पटक बैठक भयो? के अहिलेको प्रधानमन्त्रीको जत्तिको सकारात्मक, रचनात्मक रूपले समस्या समाधान गर्न समन्वय गरेको अन्य कोही कतै देख्नुभएको छ ?’

प्रधानमन्त्रीले प्रचण्डले मेयर साहप्रति प्रश्न तेस्र्याउँदै भन्नुभयो– ‘तपाईं त्यसलाई ‘रिकग्नाइजेसन’ गर्न किन डराउनुहुन्छ? तपाई काठमाडौं महानगरपालिकाको मेयर भएका नाताले काठमाडौं र ललितपुरका अन्य पालिकाकासँग समन्वय गर्न बढी जिम्मेवारी छ। म तपाईंलाई सहयोग गर्छु भनेका, गरेका कुरालाई सम्बोधन गर्न केले रोक्यो? प्रधानमन्त्रीले बल गरिराखेको छ भन्न केले रोक्यो? यतिको प्रधानमन्त्री अरू पाउन सक्नुहुन्छ ?’

प्रधानमन्त्री प्रचण्डले फेरि दोहोर्‍याएर भन्नुभयो– ‘मैले गरेको कामको ‘रिकग्नाइज’ गर्न तपाईंलाई केले रोक्यो ?’ उहाँले तीनवटै सरकारसँग सहकार्य गर्न आफू तयार रहेको पनि बताउनुभयो।

प्रधानमन्त्री प्रचण्डले काठमाडौंको फोहोर उपत्यकामा देखिएको फोहोरको समस्या सबै स्थानीय तहको मूलभूत समस्या रहेको संघीय सरकारलाई अवगत रहेको बताउनुभयो।

संघीय सरकारले फोहोर समस्या समाधानका लागि वैज्ञानिक र दीर्घकालीन समाधानका लागि पहल भइरहेको उहाँले जानकारी दिनुभयो। खानेपानी समस्याका लागि संघीय सरकारले काम गरिरहेको भन्दै सार्वजनिक खरिदको नीतिगत सुधारका लागि पहल भइरहेको उहाँले बताउनुभयो।

सोही अवसरमा बुद्धधर्मसम्बन्धी प्रामाणिक ग्रन्थ त्रिपिटकको नेपाल भाषा र नेपालीमा अनुवाद गर्ने अध्येता दुण्डबहादुर बज्राचार्य, लगनखेलस्थित सप्तपाताल पोखरीको संरक्षणमा उल्लेखनीय योगदान पुर्‍याएका अभियन्ता पूर्ण स्थापित र लामो समयदेखि नेपाल टेलिभिजनमा कार्यरत सञ्चारकर्मी ईश्वर महर्जनलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्