मारकाटमा उत्रिएर कुनै समस्याको समाधान खोजिन्छ भने त्यो किमार्थ सम्भव छैन : ईश्वर पोखरेल

0
Shares

काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राले एमाले प्रति जनताको विश्वास जगाएको बताएका छन् ।

मङ्सिर १४ गते बैतडीको महाकाली नदी किनार झुलाघाटबाट सुरु भएको यात्रा आइतबार पाँचथरको चिवाभञ्ज्याङमा सम्पन्न गरेपछि काठमाडौं फर्कने क्रममा सोमबार झापामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले बैतडीदेखि पाँचथरसम्म सबै ठाउँमा नागरिकले अपार माया देखाएका बताए । ‘सबै ठाउँमा जनताको उपस्थिति हामीले त्यस्तै किसिमको पायौँ, यसले हामी अत्यन्त उत्साहित भएका छौँ’, उनले भने ।

प्रेस चौतारी नेपाल झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले जनताले एमाले प्रति आशा र विश्वास राखेका बताए । त्यो विश्वासलाई एमालेले मर्न दिनु नहुने उनको भनाइ छ ।
नेकपा एमालेले आयोजना गरेको संकल्प यात्रा कसैको विरुद्ध नभएको पनि उनले स्पष्ट पारे । ‘हाम्रो यो यात्रा कसैको विरुद्ध होइन, हाम्रो यात्रा अन्योल, अस्थिरता, राज्यको तर्फबाट जुन सेवा पाउनु पर्ने हो त्यो पाउन नसकेको स्थितिलाई चिर्न हो’, उनले भने ।

देशको अहिलेको अवस्थाको बारेमा जनतालाई यथार्थ जानकारी गराउने एमालेले संकल्प यात्रा आयोजना गरेको र त्यसमा सफलता मिलेको उनले बताए । राष्ट्रिय एकता, सामाजिक सद्भावना कायम गर्दै विकासका काम अघि बढाउनु पर्छ भन्ने कुरामा खबरदारी गर्न यात्रा आयोजना गरिएको उनले प्रष्ट पारे ।
अहिले ग्रामीण क्षेत्रमा जनताले कुनै पनि सेवा पाउन नसकेको कारण असन्तुष्टि बढेको उनले बताए । एमालेले सुरु गरेका विकासका सबै काम ठप्प भएको उनले सुनाए । अहिले मास फ्रस्टेसनको स्थिति सिर्जना भएको उनको भनाइ छ ।

नेकपा एमाले लोकतन्त्रमा विरोध गर्न पाइने कुरामा प्रष्ट रहेको तर हिंसालाई भने स्वीकार नगर्ने पार्टी भएको उनले स्पष्ट पारे । सबै असहमति शान्तिपूर्ण रूपमा राख्नु पर्ने र संवैधानिक हिसाबले समाधान खोज्नु पर्नेमा उनको जोड छ । ‘मारकाटमा उत्रिएर कुनै समस्याको समाधान खोजिन्छ भने त्यो किमार्थ सम्भव छैन, नेकपा एमाले त्यसको विरुद्धमा रहन्छ’, उनले भने ।

विधिसम्मत ढङ्गले कसैले पनि यो भएन यो हुनुपर्छ भन्न सक्ने भए पनि जबरजस्ती गरेर कुनै पनि समस्या समाधान नहुने उनले बताए । कोशी प्रदेशको नामाकरण संवैधानिक हिसाबले नै भएको र असन्तुष्टि भए संवैधानिक बाटोबाट नै समाधान गर्न उनले आग्रह गरे।

पोखरेलले समृद्धिको लागि संकल्प यात्रा औपचारिक ढङ्गले समापन भएको भए पनि सो यात्राका क्रममा प्राप्त विषयवस्तुलाई निरन्तर अघि बढाउने उनले बताए । जनताले सेवा प्राप्त गर्न नसक्ने अहिलेको स्थितिका विरुद्ध एमालेको अभियान निरन्तर हुने उनले प्रष्ट पारे ।