नियमित अन्तर्राष्ट्रिय उडान गर्न माग गदै गरिएको आन्दोलन जारी, पूर्वप्रधानमन्त्री भट्टराई र सांसद घिमिरेद्वारा ऐक्यबद्धता

0
Shares

बुटवल। 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै भैरहवामा जारी आन्दोलनप्रति प्रतिनिधि सभाका सांसद बासुदेव घिमिरेले समर्थन गर्दै ऐक्यबद्धता जनाएका छन् । आन्दोलनकारीसँगै धर्नामा बसेर सांसद घिमिरेले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र नियमित अन्तर्राष्ट्रिय उडान गर्न सरकार उदासीन रहेको भन्दै चिन्ता व्यक्त गरे ।

 सिद्धार्थ सञ्जाल रुपन्देहीको अगुवाइमा सरकारलाई दवाव सृजना गरी  माग पुरा गराउन मंसिर २२ देखि चरणबद्ध आन्दोलन सुरु गरिएको हो । आन्दोलन अन्तर्गत अहिले भैरहवामा विमानस्थल अगाडि धर्ना जारी राखिएको छ । सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले भोली पुस २ गतेसम्म पनि माग पुरा गर्नेतर्फ सरकारले चासो नदेखाएमा बृहत् आन्दोलनतर्फ उन्मुख हुँदै आन्तरिक उडान पनि ठप्प पार्ने चेतावनी दिए ।

यसैबीच शनिवार भैरहवा आएका  पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आधुनिक अर्थतन्त्रको केन्द्र अव काठमाडौँमा मात्रै सीमित राखेर नहुने भएकाले आर्थिक विकासका पूर्वाधार बिकेन्द्रि करण गर्ने सोंच अनुरुप भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण भएको बताए । ‘बुद्ध जन्मस्थल लुम्बिनीको सेराफेरो नेपालकै सबैभन्दा ठूलो आर्थिक विकास केन्द्र बन्न सक्छ भन्ने मान्यता राख्ने मान्छे म हो’, आन्दोलनरत सिद्धार्थ सञ्जालका पदाधिकारीसँगको भेटघाटमा भट्टराईले भने, ‘तर दुर्भाग्य विभिन्न बहानाले हुन सकिरहेको छैन । केही त बाह्य कारणले भए पनि राज्यले उच्च स्तरमा बसेर डिप्लोम्याटिक तबरबाट हल गर्ने विषय हो ।’