तरकारीमा आत्मनिर्भर बन्दैछन् ग्रामीण महिला

0
Shares

दोलखा।

केही समय अघिसम्म दोलखा कालिन्चोक गाउँपालिकाको विभिन्न ठाउँका घरको भान्सामा चरिकोट र सिंगटीतिरबाट ल्याइएको तरकारी पाक्ने गर्थ्यो । अहिले समय फेरिएको छ । ती गाँउहरुमा अहिले भान्सामा करै तातिँदै गर्दा घरको करेसामा रहेको दुईपात साग भाँचेर तरकारीको छाक टार्न सकिने अवस्था बनेको छ ।

तरकारीमा हामी आत्मनिर्भर बन्दछौ कालिन्चोक गाउँपालिका वडा नम्बर– ८ सुनखानीकी लक्ष्मी सेढाईले भनिन् – व्यवसायीक नभएपनि अब हामीलाई आफ्नो लागि तरकारी किन्न चरिकोट र सिंगटी पुग्नुपर्ने बाध्यता हटेको छ । जमिन हुनेहरुले विस्तारै तरकारीको व्यवसायीक खेतीसमेत सुरु गर्न थालेको सेढाईले बताइन्।

लुथरन वल्ड फेडरेशनको आर्थिक सहयोग तथा मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) दोलदखाको सहकार्यमा सञ्चालित सामुदायिक सशक्तीकरण र विकासको लागि स्थानीय पहल (लाईसेड) परियोजनाले कालिन्चोक गाउँपालिकाको वडा नम्बर ३, ४ र ८ का महिलाहरुलाई तरकारी खेतीको लागि थोरै विउविजन सहित चेतनामूलक सहयोग गरेपछि आफूहरु तरकारीमा पारिवारिक रुपमा आत्मनिर्भर बनेको भगवती महिला समूहको अध्यक्ष समेत रहेकी स्थानीय लक्ष्मी सेढाईले बताइन्।

कालिन्चोक गाउँपालिका वडा नम्बर– ४ गुमु हिलेपानीकी देवी कार्की पनि हुरोडेकको समन्वयमा सञ्चालित लाईसेड परियोजनाका कारण गाँउमा रहेका सबै परिवारले आफ्नो करेसाबारीमा साग, मुला, लसुन, प्याज, काउली, बन्दा जस्ता तरकारी खेती गर्न थालेपछि चरिकोट र सिंगटीतिरबाट तरकारी ल्याउने झण्झट हटेको बताउँछिन् । अहिले सागसब्जीमा खर्चहुने पैसा बालबच्चाको कपिकलम, नुन– तेल जस्ता कुरामा खर्च गर्न सकिने अवस्था बनेको देवीको भनाई छ ।

लाईसेड परियोजनाले अहिले कालिन्चोक गाउँपालिकाको तीनवटा वडामा एक-एक वटा समूह बनाएर त्यहि समूहमार्फत करेसा बारीमा तरकारी खेतीको लागि विउविजन समेत दिएको परियोजना प्रमुख सुन्दर लामिछानेले बताए । यो ठूलो सहयोग हैन तर यसले स्थानीय महिलाहरुलाई कमसेकम तरकारीमा आत्मनिर्भर बन्न सहयोग पु¥याएको छ– परियोजना प्रमुख लामिछानेले भने ।

लुथरन वल्ड फेडरेशनको आर्थिक सहयोगमा हुराडेकले सञ्चालन गरेको लाईसेड परियोजनाको सहयोगमा वडा नम्बर– ८ मा १४ जना रहेको समूह, वडा नम्बर– ४ मा १७ जना रहेको समूह र वडा नम्बर– ३ मा ११ जना रहेको समूह निर्माण गरिएको र प्रत्येक समूहलाई सिड मनिको रुपमा २५ हजार सहयोग गरिएको हुराडेकका प्रशासन प्रमुख कृष्ण भुजेलले बताए । समूहमा रहेका २० जनालाई तरकारी खेतीको लागि वडाको सिफारीसमा पाँच सय लिटरको ट्याङ्की समेत उपलब्ध गराएको भुजेलले बताए।

समूहले सदस्यहरुबाट प्रत्येक महिना ५० रुपैयाँ जम्मा गर्ने र आवश्यकताको आधारमा १० हजारसम्म ऋण लगानी समेत गर्दै आएको वडा नम्बर– ४ मा रहेको सशक्तीकरण महिला समूहको अध्यक्ष सितामाया थापाले बताइन् । सो बापत समूहले एक हजारको मासिक १० रुपैयाँ ब्याज लिने गरेको पनि थापाले बताइन्।

समूहबाट ऋण लिएर स्थानीय महिलाहरुले तरकारीको विउविजन, खसी– बोका जस्ता आवश्यक कुरा खरिद गर्ने र विस्तार व्यवसायीक रुपमा पशुपालन तथा तरकारी खेतीको सुरुवात समेत गर्न थालेको सशक्तीकरण महिला समूहको अध्यक्ष थापाले बताइन् ।

कालिन्चोक गाउँपालिका वडा नम्बर– ८ का वडा अध्यक्ष बालकृष्ण आचार्य हुराडेकको सहयोगमा सञ्चालित लाईसेड परियोजनाले स्थानीय महिलाहरुलाई तरकारी तथा पशुपालनमा आत्मनिर्भरसँगै व्यवसायीक समेत बनाउँदै लगेकोले वडाले पनि हाटबजार स्थापना र तरकारीको विउविजन लगायतका कुरामा सहयोग गरेको बताए ।