समाचार सम्प्रेषण र निर्णयमा अन्तरनिहित सम्बन्ध

0
Shares

संसारको राज्य व्यवस्था, मानवअधिकार, प्रजातन्त्रको अभ्यूदय, पुनरुत्थानमा राज्यको चौथो अंगको रुपमा रहेको सञ्चारको भूमिका सर्वोपरि भएकोमा शायद दुईमत नहोला । आज साँघुरिएको विश्वमा सञ्चारका विभिन्न माध्यमबाट संसारको कुनै पनि कुनाको समाचार छिटो र छरितो ढंगले आम जनमानसमा पुगेका निर्विवाद तथ्य हुन् ।

यसरी संसारको सूचना आदानप्रदानबाट आम जनमानसमा चनाखो, सतर्कता, जागरुकता, अधिकारप्रति सचेतता बढेको अवस्थालाई पनि अस्वीकार गर्न सकिँदैन । तर यति भईकन पनि सञ्चार, समाचार सूचनाको यथार्थता, सत्यता, भरपर्दो आधारमा भने बहसको पाटो हुन सक्छ । कतै आजको विश्व र समाज समाचार सम्पे्रषणको नाममा सञ्चारयुद्धमा त होमिएको छैन ? कतै सञ्चारका विभिन्न माध्यमहरुको दुरुपयोगबाट मानवजीवनमा थप चुनौती त बढेको छैन ? गलत समाचार सम्पे्रषण, एकपक्षीय समाचार, समूहगत, द्वन्द्वगत र स्वार्थजन्य सूचनाको त बाहुल्य छैन ।

अर्को शब्दमा भन्नुपर्दा इतिहासको विभिन्न कालखण्डमा विभिन्न किसिमको लडाइँ, सो युद्धमा प्रयोग हुने विभिन्न प्रकारको हतियारदेखि आणविक हतियारसम्मको चरम अवस्थाकै विकसित रुप नै आजको सञ्चार साधन पनि युद्धकै हतियार वा भनौँ आईटी बम मान्न सकिन्न्छ । आज मानसिक, सामाजिक, आर्थिक समस्याहरुको जननी वा केही भूमिका निश्चितरुपमा पनि यो आईटी बम अन्तरनिहित भएको मान्न सकिन्छ । शिक्षाको सञ्चारको आधार सूचना प्रविधि, सूचनाको यथार्थपरक र गाम्भीर्यता, जिम्मेवारीविनाको सूचनाले समाजमा नकारात्मक भावको वृद्धि, एक–आपसमा वैमनस्यता, द्वन्द्व बढाउने कारक तत्व भइरहेको छ भने त्यस्तो सूचना वा समाचारको पनि के औचित्य मान्न सकिन्छ ।

संसारको साँघुरोपन, व्यक्ति–समाजमा मोबाइलको लत, विभिन्न सञ्चारमाध्यममा भाइरल हुने सूचनाहरु, कमेन्ट, द्वन्द्व, अन्तरद्वन्द्व, वादविवाद, चरित्र हत्या, व्यक्तिगत जीवन, गोप्यता, पारदर्शिताको विरोधाभाष, ई–ठगी, साइबर क्राइमको बढ्दो मामिला, क्षतिपूर्ति आदि आजको समाजको पर्यावाची र पहिचान भएको छ । आधुनिक प्रविधिले जीवनमा कैयौँ सुविधा ल्याएको, सकारात्मक पक्ष कैयौँ भएको नकार्न नसकिने यथार्थ भईकन पनि यसको गलत प्रयोग, दुरुपयोगमा व्यक्तिहरुको अज्ञानता, मानसिक समस्या आदिको कारक तत्वको पहिचान पनि आजको आवश्यकता भएको छ । व्यक्तिहरुको कुण्ठा, विकृत मनोभावना, निराशा व्यक्त गर्ने स्थानमा सञ्चारमाध्यमको प्रयोग निश्चितरुपमा पनि समाजको हकहितमा हुन सक्दैनन् ।

यसको कारक तत्वको पहिचान, रोकथामको उपाय अवलम्बन गर्न राज्यको थप जिम्मेवारी बढेको, व्यक्तिहरु स्वयं पनि सूचनाको वास्तविक यथार्थ र भरपर्दो एवं विश्वसनीयताप्रति सजग हुन नितान्त आवश्यक देखिन्छ । कैयौँ सूचनाहरु खाली प्राथमिक सूचनाको रुपमा लाभकारी हुनेमा शंका छैन तर आज कैयौँै सूचना, समाचारहरुका विभिन्न माध्यमहरुमा फरक–फरक व्याख्या हुन, आपैmँले निर्णय गरेझैँ समाचार सम्प्रेषण गर्नु निकै घातक मान्न सकिन्छ । आधिकारिक निकायबाट छानबिनपश्चात आउनुपर्ने समचार पनि विभिन्न निकायबाट पैmसलाकै रुपमा सूचना दिने प्रवृित्त व्यक्ति, समाज र राष्ट्रको हितमा हुन सक्दैनन् । यसमा सबै पक्षको चनाखोपन तथा अझ आधिकारिक निकायहरुको थप पुस्ट्याइँ अपेक्षा आम जनमानसमा रहनु शायद अन्यथा नहोला ।

विषय विज्ञताको अभाव भईकन पनि हरेक क्षेत्रमा मानिसहरुको न्यायाधीश बन्ने परिपाटी, विषयवस्तुको अध्ययन–अनुसन्धानविना नै आपैmँ पोख्त हुने परिपाटीलाई सामाजिक मनोरोग, राष्ट्रको क्षयको मूल कारक तत्व मान्न सकिन्छ । यसको सुधारको आधार भन्नु नै व्यक्तिहरुको अज्ञानता हटाउनु, अध्ययनशील जनमत तयार गर्नु नै सर्वोपरि दायित्व हो । यस प्रसंगमा बुद्धशिक्षाका केही भनाइ राख्न उपयुक्त ठान्छु । बोल्न जान्ने मात्र सही र न्यायकर्ता हुँदैन, जसले पक्ष–विपक्षको सबै कुरा सुनी सहीरुपमा निर्णय गर्छ उही नै सच्चा न्यायाधीश (न्यायपालिका अन्तर्गतको न्यायाधीशलाई इंगित गर्न खोजको होइन) हुन् । आज समाजको यावत् क्षेत्रमा देखा परेका समस्या समाधानको नाममा विभिन्न सञ्चारमाध्यमहरुमा जुन किसिमका समाचार सम्पे्रषण, विश्लेषण र निर्णय गर्ने, गराउने परिपाटी विकास भएको छ, वस्तुतः अधिकांशमा मनको वेग, मानसिक कुण्ठा, विवशता, अन्यायको विरुद्ध आवाज आदिको प्रतिविम्ब देखिन्छ । यसमा थप अझ उल्लेखनीय छ, पढेलेखेको मात्र विद्वान्, न्यायाधीश हुँदैन, बरु आफ्नो अविद्या हटाउनेलाई नै सही विद्वान् भन्न सकिन्छ ।

व्यक्तिको आक्रोश सबै सही नै हुनुपर्छ भन्ने छैन । मूलतः समाजका विभिन्न सेवाप्रदायकहरुको अक्षमता, अदूरदर्शिताको कारणले समाजमा उब्जेका समस्याहरुको विकराल अवस्था, व्यक्तिहरुको मनोदशा, सामाजिक रोगको रुपमा देखा परेको आजको यथार्थ हो । यसलाई समाज, राष्ट्रले गम्भीर भएर सामाजिक समस्याहरुको निराकरण, सहज, सरल, सक्षम सेवा दिन प्रयत्नशील हुने कार्यक्रम योजनाको आवश्यकता देखिन्छ । देशको कानुनबमोजिम व्यक्तिहरुलाई सजाय दिने गरी ऐन–कानुनको निर्माणमा मात्र समय खेर फाल्नु्भन्दा समाजको समस्याको मूल कारण गरिब, अशिक्षा, अनैतिकता हटाउने दूरगामी कार्यक्रम तथा थप पहलकदमी हुनुपर्दछ ।

ऐन, कानुन, सजाय, जेल आदिको व्यवस्थाले मात्र समाज सुधार हुन्छ भन्ने परिकल्पना नै गलत भएको अवस्था मान्न सकिन्छ कि सकिँदैन ? यदि ऐन–कानुनले उपचारमुखी कार्य गरेका भए आज समाज, राष्ट्रमा विभिन्न खालको ठगी, लुट, भ्रष्टाचार, छलकपट, डकैती आदि घटना नहुनुपर्ने वा भइरहेको संख्या घटेर जानुपर्ने थियो तर त्यसो भएको त कदापि मान्न सकिँदैन ।

जनसंख्या वृद्धि भएकोल यस्ता संख्याहरु बढेका भन्ने तर्क पनि हुन सक्छ तर पनि जनसंख्या वृद्धिदर, अपराधका भिन्नभिन्नै वर्गीकरण अनुरुपको संख्या र अझ नयाँ–नयाँ खालको अपराध वृद्धि हुँदै गएको परिपे्रक्ष्यलाई के–कसरी मापन गर्न सकिन्छ, थप अध्ययनको विषय हुन सक्छ । देशमा ऐन–कानुनको परिपालन र सजायको व्यवस्था सामान्य आवश्यकता हुन सक्छ । त्योभन्दा ठूलो आवश्यकता सामाजिक सद्भाव कायम गर्न सबै व्यक्तिहरुको कर्तव्य, नैतिकता, देशको नियम–कानुनको परिपालन, कर्तव्यपरायण र सक्षम जनशक्ति उत्पादन गर्नेतर्पm सकारात्मक प्रयासको जरुरी छ ।

यसको लागि देशका नियम–कानुनको व्यवस्थादेखि नैतिक शिक्षा पाठ्यक्रममा समावेश गरी नैतिकवान्, कर्तव्यपरायण, मानव संशाधनद्वारा सेवाप्रवाह र सेवाग्राही दुवैतर्फको परस्पर अन्तरकार्यमा सहजीकरणको अभिवृद्धिको अपेक्षा गर्न सकिन्छ । आजका लागि यसलाई नै व्यक्ति, समाज र राष्ट्र विकासको मूलमन्त्र बनाउनुपर्ने आजको आवश्यकता हो ।
(लेखक नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक हुनुहुन्छ ।)