मानव सेवा आश्रमलाई सरकारले अभिभावकत्व प्रदान गर्छ : प्रधानमन्त्री दाहाल

0
Shares

हेटौँडा।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव सेवा आश्रमलाई सरकारले अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मानव सेवा आश्रमले हेटौँडा–९ लामसुरेधापमा निर्माण गरेको भवन आज उद्घाटन गर्दै उनले आश्रमले गरिरहेको कामले सरकारलाई झक्झकाएको बताए ।

प्रधानमन्त्री दाहालले आश्रमबाट भएका कामलाई बिस्तार गर्न सबै प्रदेशमा भवन निर्माण तथा उद्धारलगायतका कामका लागि प्रक्रिया अगाडि बढाएको बताए । उनले मानवसेवा आश्रमलाई सात वटा सवारी साधन र प्रतिव्यक्ति १० हजार नगद उपलब्ध गराउने जानकारी दिए । आश्रमले मानवता प्रवद्र्धनको पुण्य अभियानका लागि काम गरिरहेकाले आफू उपस्थित भएको बताए ।

मानवसेवा आश्रमको सो भवन १३ करोड ८१ लाख ६६ हजार पाँच सय ८० लागतमा निर्माण भएको हो । आश्रमले हालसम्म नौ हजार ७९ जनाको उद्धार गरेकामा हाल १८ जना बालक तीनजना बालिकासहित दुई सय चारजना आश्रित छन् । सडकमा रहेका मानवलाई उद्धार गरी पालनपोषण गर्ने तथा परिवारसँग पुनर्मिलन गराउने उद्देश्यले संस्थाको स्थापना भएको हो ।