ताजपुरिया संस्कृति जगेर्ना गर्न माग

0
Shares

मोरङ। 

ताजपुरिया समुदायका अगुवाहरुले आफ्नो संस्कृति र परम्परा संरक्षण तथा सम्वद्र्धनका लागि राज्यका तर्फबाट पहल गर्नुपर्ने माग गरेका छन् । संविधानको भावना र मर्म अनुसार आदिवासी जनजातिको कला, संस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्नुपर्ने भन्दै उनीहरुले त्यसका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

ताजपुरिया समाज कल्याण परिषद्को २८ औं स्थापना दिवसका अवसरमा मोरङको रंगेली नगरपालिका–८ दर्बेशा बजारमा आयोजित कार्यक्रममा परिषद्का अध्यक्ष पुर्णलाल ताजपुरियाले समुदायको परम्परागत संस्कृति जोगाउनुपर्ने बताए । ताजपुरिया समुदायको संस्कृति जोगाउन स्थापना दिवसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ थियो ।

परिषद्का पूर्व अध्यक्ष एवम् आदिवासी जनजाति महासंघका पूर्व महासचिव नित्यानन्द ताजपुरियाले नटुवा, हुदुरधुरा, ढोलसोना लगायत सांस्कृतिक नाचहरु पछिल्लो समय लोप हुने अवस्थामा पुगेको बताए । पूर्वी तराईको झापा र मोरङमा बसोबास गर्दै आएका ताजपुरिया जातिले संविधानले दिएको अधिकारको महसुस गर्न नपाएको उनले उल्लेख गरे ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सदस्य ऋषिकेश पोखरेलले ताजपुरिया जातिलाई विशेष स्वायत्त क्षेत्र घोषणा गर्न संसदमा माग गर्ने प्रतिबद्धता जनाए । संविधानले दिएको अधिकारबाट संरक्षित क्षेत्र घोषणा गरिए ताजपुरिया समुदाय अघि बढ्न सक्ने बताउँदै सांसद पोखरेलले परिषद्ले लिएको लक्ष्य छिट्टै पुरा हुनेमा विश्वस्त रहेको बताए ।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा झापा र मोरङ्गबाट प्रतिनिधित्व गरेका टोलीहरुले नटुवा, हुदुरधुरा, ढोलसोना लगायत सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । साथै जातीय पहिचानका केही परम्परागत र आधुनिक गीतको प्रस्तुति गरिएको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार ताजपुरिया जातिको संख्या २० हजार ९ सय ८९ छ ।