‘घुस्याहा’ कर्मचारीको प्रवृत्ति

0
Shares

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिनहुँजसो नै घूस खाँदै गरेका कर्मचारीलाई रंगेहात पक्राउ गर्ने क्रम जारी छ। रंगेहात पक्राउ परेका सबै कर्मचारीहरुलाई अख्तियारले मुद्दासमेत दायर गरिरहेको छ।

त्यस्ता कर्मचारीको जागिरसमेत चट् हुदै आएको छ। जागिर चट् हुने अवस्था हुँदाहुँदै पनि कर्मचारीहरुले घूस खाने प्रवृत्ति भने कमी भएको छैन तर उनीहरुको घूस खाने प्रवृत्ति फेरिएको छ। अहिले पनि कैयौँ सरकारी कार्यालयमा ‘घुस्याहा’ कर्मचारीको बिगबिगी छ।

अधिकांश कार्यालय प्रमुख तथा उच्च तहका कर्मचारीहरुले सीधै आफैँ घूस खाने गर्दैनन्। उनीहरुले बिचौलिया र एजेन्ट प्रयोग गर्ने गर्छन् । बिचौलिया र एजेन्ट प्रयोग नगरी सीधै आफैँ घूसको डिल गर्ने कर्मचारीहरु बढी अख्तियारको फन्दामा परेको देखिन्छ भने बिचौलिया र एजेन्टमार्फत घूस खानेहरु प्रायः उम्कने गरेका छन्।

अधिकांश घुस्याहा कर्मचारीले विभिन्न बिचौलियाहरु र एजेन्टमार्फत घूस खाने गरेकाले पनि उनीहरुको कर्तुत बाहिर आउन नसकेको र घूस खानेहरु धेरैले सहजै उन्मुक्ति पाउने गरेको यथार्थ छ। फरक–फरक कार्यालयका कर्मचारीले घूस खाँदा फरक–फरक बिचौलिया र एजेन्टहरु प्रयोग गरेको पाइएको छ।

अख्तियार स्रोतका अनुसार मालपोत कार्यालयका कर्मचारीले लेखापढी व्यवसायी तथा अन्य बिचौलियामार्फत घूस खाने गरेका छन् भने आन्तरिक राजस्व कार्यालयका कर्मचारीले अडिटरमार्फत घूस खाने गरेका छन्।

यस्तै लाइसेन्स कार्यालयका कर्मचारीले ड्राइभिङ इन्स्टिच्युटमार्फत र अन्य बिचौलियामार्फत, यातायात कार्यालयका कर्मचारीले बस व्यवसायी, ट्रक व्यवसायी तथा अटोमोबाइल लिडरमार्फत सेटिङमा घूस खाने गरेका छन्।

भन्सारका कर्मचारीले भन्सार एजेन्टमार्फत घूस खाने गरेका छन्। यसरी कार्यालय र क्षेत्रपिच्छे कर्मचारीको घूस खाने तरिका र पद्धति फरक छ। एजेन्टहरु पनि फरक–फरक हुने गरेको देखिन्छ।

अख्तियारले रंगेहात पक्राउ गर्ने क्रम पछिल्ला दिनमा धेरै कम छ। तर सरकारी कार्यालयहरुमा यस्ता खालका घूसका डिल तथा कारोबार प्रायः दिनदिनै हुने गरेको सरोकारवालाको अनुभव छ।

जनताका काम बढी हुने सरकारी कार्यालयमा नै बढी घूस चल्ने गरेको र घूस लिएका अनगिन्ती घटनामध्ये निकै कम घटनामात्रै अख्तियारको आँखामा पर्ने गरेको पाइन्छ।

त्यसैले अब अख्तियारले बिचौलिया र एजेन्टमार्फत घूस खाने उच्च तहका कर्मचारीहरुलाई पनि पक्राउ गर्न सक्ने गरी वैज्ञानिक खोज र अनुसन्धान थाल्न ढिलाइ भइसकेको छ।

अख्तियारले बिचौलिया र एजेन्टलाई पनि पक्राउ गरी उनीहरुमार्फत कार्यालय प्रमुखलाई पनि छानबिन गर्ने पद्धतिको विकास गर्नुपर्छ।

घुस्याहा कर्मचारीका कारण सरकारको विकास र सुशासनको लक्ष्यमा समेत गम्भीर अवरोध हुने भएकाले त्यस्ता कर्मचारीलाई निरुत्साहन गर्नु अहिलेको प्रमुख आवश्यकता हो।

घुस्याहा कर्मचारीहरुले कार्यालयपिच्छे एजेन्ट, बिचौलिया, लेखापढी व्यवसायी, ड्राइभिङ इन्स्टिच्युट, वकिल, उच्च व्यापारी, ठेकेदारमार्फत घूसको लेनदेन गर्ने गरेको र घूस खाने कर्मचारीले प्रयोग गर्ने तौरतरिकासमेत फेरिँदै जान थालेकाले उनीहरुलाई पक्राउ गर्नसमेत कठिन हुने गरेको अख्तियारका अनुसन्धान अधिकृतको अनुभव छ।

घुस्याहा कर्मचारीले अन्य बिचौलियामार्फत घूस लिने गरेकाले धेरै घुस्याहा कर्मचारीहरु उम्कने गरेको अख्तियार स्रोतको दाबी छ। विशेष गरी मालपोत, नापी, यातायात, वैदेशिक रोजगार, श्रम, स्थानीय तह, जिल्ला प्रशासन, राजस्व कार्यालयहरु, सिंचाइ, खानेपानी, सडकलगायतका सरकारी कार्यालयहरु घुस्याहा कर्मचारीको अखडाका रुपमा रहेको पाइन्छ।

घुस्याहा कर्मचारीलाई एक–एक खोजी गर्नुपर्ने र उनीहरुको फेरिएको प्रवृत्तिलाई समेत मध्यनजर गरी नियमन निकायले कारबाही गर्ने परिपाटीको विकास गर्न सक्नुपर्छ।