फेरिन थाले सुन तस्करीका रूप, ढिक्काभन्दा पनि तरल र धुलोको स्वरूपमा

0
Shares

काठमाडौं ।

सुन तस्करले सुन तस्करी गर्न विभिन्न नयाँ तरिकाहरू अपनाउन थालेको पाइएको छ। त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयमा पछिल्लोपटक पक्राउ गरिएको ६ किलो सुन तरल स्वरूपमा ल्याइएको पाइएको छ।

तस्करहरूले तरल तथा धुलो स्वरूपमा सुन भित्र्याएर तस्करी गर्ने गरेको पाइएको छ भने कपासभित्र समेत सुन लुकाएर ल्याउने गरिएको पाइएको छ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख सहसचिव डा. टोकराज पाण्डेले पछिल्लो समय सुन तस्करको संगठित सेटिङ भत्काउने कार्य गरिएको र तस्करले स्वरूप फेरेर सुन तस्करी गर्ने गरेको पाइएको जानकारी दिनुभयो।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘तस्करले झुक्याउनका लागि सुनलाई विभिन्न फर्ममा ल्याउन थालेका छन्, विशेषगरी पछिल्लोपटक उनीहरूले सुनलाई लिक्विड र डस्ट फर्ममा ल्याएर तस्करीको प्रयास गर्ने गरेको पाइएको छ।’

उहाँले पछिल्लोपटक भन्सार कार्यालयकै सतर्कता र सचेतताका कारण तस्करी गरेर ल्याइएको साढे १४ किलो र ६ किलो गरी साढे २० किलो सुन बरामद भएको बताउनुभयो।

भन्सार कार्यालयका कर्मचारीका अनुसार सुन तस्करले दैनिकजसो नै सुनको तस्करीको प्रयास गर्ने गरेका छन्। तस्करको सेटिङ भन्सार विभाग, अर्थ मन्त्रालय र उच्च राजनीतिक नेतृत्वसम्ममा नै रहेको हुनाले तस्करहरू प्रोत्साहित हुने गरेका छन्।

भन्सार कार्यालयका प्रमुख डा. पाण्डेले पछिल्लो समय आफूले सुन सेटिङको जालो भत्काउने प्रयास गरेको दाबी गर्दै भन्नुभयो– ‘सुन सेटिङको पूरै जालो भत्काउन निकै चुनौतीपूर्ण छ।’

राजनीतिक नेतृत्वको सहयोग र साथ नपाउने हो भने भन्सार कार्यालयमा गएका प्रमुखसहितका कर्मचारीहरूलाई मात्रै सुन तस्करीको पूरै जालो भत्काउन निकै कठिन छ।

भन्सार कार्यालयमा जाने कर्मचारीहरूले उच्च तहबाट सहयोग र साथ नपाउँदा उनीहरूको जागिर नै संकटमा पर्नसक्ने भय रहने भएकाले उनीहरूले उच्च मनोबलका साथ काम गर्न नपाएको बताइन्छ।

भन्सारका अधिकारीहरूका अनुसार जागिरमा राम्रो भविष्य चाहनेहरू सो कार्यालयमा कार्यालय प्रमुख तथा नेतृत्वदायी भूमिकामा रहन चाहँदैनन्, त्यसैले सुधार कार्य कठिन छ। विमानस्थल कार्यालय प्रमुख पाण्डेले पनि आफूले सुन तस्करीको जालो भत्काउन खोज्दा चुनौती बढेको बताउनुभयो।

पाण्डे नेतृत्वको टोलीले पछिल्लो समय सुन तस्करहरू समाउने क्रम बढाएको छ । पाण्डेले विमानस्थलमा विशेष निगरानी जारी राखिएको र तस्करहरू उम्कन नदिइने रणनीति अख्तियार गरिएको दाबी गर्दै भन्नुभयोे– ‘हामीले तस्करी रोक्ने प्रयास गरेपछि तस्करले सुन तस्करीको स्वरूप फेर्न थालेका छन्, त्यसैले हाम्रो अनुसन्धान पनि वैज्ञानिक किसिमको हुन जरुरी छ।’