लैङ्गिक हिंसा अन्त्यका लागि विद्यमान कानुन पर्याप्त छैन- उपसभामुख दनुवार 

0
Shares

उदयपुर ।

कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले वर्तमान अवस्थामा लैङ्गिक हिंसा अन्त्य गर्न कानुन पर्याप्त नरहेको बताएकी छन् ।

आइतबार उदयपुरको गाईघाट स्थित राजावासको महिला पुनः स्थापना केन्द्र ओरेकमा ३२ औं अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान २०२३को समापन कार्यक्रममा बोल्दै उप सभामुख दनुवारले हिंसकाका कारण धेरै महिला बालबालिका पीडित भएको तर कतिपय कुरामा कानुन बाझिएको र कतिपय कुरामा कानुनी जटिलता समेत रहेकोले हिंसा अन्त्यका लागि संघर्ष गर्नु परेको बताइन ।

कानुन छ तर फितालो छ कार्यान्वयन पक्ष कमजोर छ । महिला हिंसा अन्त्यका लागि भएको प्रयास उपलब्धिपूर्ण बनाउन कानुनी जटिलताको अन्त्य हुनु पर्ने बताउँदै उप सभामुख दनुवारले हिंसा न्यूनीकरणमा सबैको साथ सहयोग आवश्यक भएको कुरामा जोड दिइन् ।

महिला पुनः स्थापना केन्द्र (ओरेक) की नव निर्वाचित अध्यक्ष सविता पोखरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा अध्यक्ष पोखरेलले हिंसा आफैँमा राम्रो कुरा होइन र मानवीय संवेदनशीलता नदेखिने यस्ता हिंसात्मक कुराले समाजलाई गाँजेको हुँदा सूचना नपाउँदा धेरै हिंसात्मक घटना बाहिर आउन नपाउने भएकोले हिंसा निराकरणमा समस्या भएको बताइन् ।

स्थानीय तह प्रदेश सरकार र संघीय सरकारले पनि यस्ता विषयमा ध्यान नीति निर्माण तथा कानुन बनाएर हिंसा अन्त्यका लागि पालिकाभित्रका वडा वडाबाट जनप्रतिनिधि जागरुक भएर लाग्नु पर्ने उनले बताइन्  ।

ओरेक उदयपुरकी बालिका कार्कीको संचालनमा भएको सो कार्यक्रममा पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, माधव पोखरेल उर्मिला दनुवार, वन्दना दनुवार तथा अधिकार कर्मीहरु माया भण्डारी, माधव प्रकाश पराजुली लगायतका वकताहरले महिला हिंसा अन्त्य गर्ने विषयमा आ-आफ्नो धारण राखेका  थिए ।