गगनको प्रश्न- कांग्रेस सरकारमा भएको बेलामा किन यति धेरै कुशासनका घटना?

0
Shares

काठमाडौँ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकहरु कुशासनका कारण आक्रान्त भएको बताएका छन्।

आइतबार नेपाली कांग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले आजको दिनमा कुशासनबाट नागरिकहरू वाक्कदिक्क भएको बताए। उनले एउटा प्रकरण सेलाउन नपाउँदै अर्को अनियमितताको प्रकरण आउनु नागरिक र देशका लागि दुःखद् भएको बताए।

‘आजको दिनमा कुशासन, एउटा नागरिकलाई र्‍यान्डम्ली गएर कसैले भेट्यो भने नागरिक सबैभन्दा बढी आजित केही कुराले भएको छ भने कुशासनले भएका छन्। एउटा काण्ड सेलाउन पाएको हुँदैन, अर्को काण्ड आउँछ। केही समय अघिसम्म एउटा काण्ड जताततै थियो,’ थापाले भने, ‘सुन काण्ड थियो, नक्कली भूटानी शरणार्थी प्रकरण थियो। अब एनसेल काण्ड आयो। अब यो केही दिन यही चल्छ। यो सेलाउन पाएको छैन, अर्को आउँछ। यो काण्ड कुशासनसँग जोडिएको छ।’

उनले कांग्रेस सरकारमा भएको बेलामा यति धेरै कुशासनका यति धेरै घटना किन भइरहेको छन्? भन्दै प्रश्न गरे।

‘कुशासन की नियतसँग जोडिएको छ की अयोग्यतासँग जोडिएको छ। शासन हामीले गरिरहेका छौँ। सुशासन हाम्रो वाचा मात्रै होइन, त्यसकै निम्ति जन्मिएको पार्टी हो। त्यसैले हामी सरकारमा भएको बेला, हाम्रो नियन्त्रणमा राजनीति भएको बेलामा, हामी सबैभन्दा प्रभावशाली भएको बेलामा, हामीले भनेको बाटोमा देश हिँडिरहेको बेलामा कुशासनका यति धेरै घटना किन भइरहेको छन्। यति धेरै काण्डहरू किन भइरहेको छन्? जरामा के छ? समस्या कहाँनेर छ? के कारणले गर्दा आएको छ? मलाई लाग्छ नेपाल पुकारले त्यसको जरामा पुग्नुपर्छ,’ उनले भने।