काठमाडौं ।
काठमाडौं महानगरपालिकालगायत अन्य महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाहरुमा निर्वाचन सम्पन्न भएको डेढ वर्ष नाघेको छ।
त्यो अवधिमा काठमाडौं, धनगढी र धरानका मेयरहरुले आ–आफ्नो तरिका र शैलीबाट त्यहाँका जनताका समस्याहरुलाई सम्बोधन गर्ने प्रयास गरिरहेका छन्। अरु र अन्तका मेयरहरुले पनि आ–आफ्नो क्षेत्रमा गरेका होलान् । तथापि यी तीन क्षेत्रमा चाहिँ जनताले स्वतन्त्र उम्मेदवारलाई विजयी बनाएको कारणले उनीहरुले गरेका राम्रा कामहरुको बारेमा जनजनले प्रोत्साहित गरिरहेका छन्।
यी तीन स्थानहरुका स्वतन्त्र उम्मेदवारको रुपमा जनताबाट चुनिएर मेयर भएकाहरुलाई एकातिर आ–आफ्नो क्षेत्रका जनताको समस्या सम्बोधन गर्न अग्रसर हुनुले उनीहरुप्रति जनताको अगाध माया र आस्था त छँदै छ, त्यसमाथि पनि उनीहरु कसैमा पनि पदको दुरुपयोगमामार्फत आर्थिक अपचलनमा जोडिन नपुग्नु नै ठूलो उपलब्धि मानिएको छ।
आर्थिक अपचलनदेखि लिएर नीतिगत निर्णयहरुमार्फत भ्रष्टाचारजन्य कार्यमा लिप्त हुनेहरुको लागि यी तीन मेयरहरुको कार्यले ठूलो चुनौती, साथसाथै समयमै दलीय नेतृत्वहरुलाई सच्चिन पनि सन्देश प्रवाह गरेका छन्।
केही अपवादबाहेक पहिला–पहिलाका मेयरहरु विवादित बन्न पुगे । यस कारणले पनि गएको निर्वाचनमा दलीय नेतृत्व बलियो मानिएको धरान, धनगढी र काठमाडौंजस्ता स्थानहरुमा स्वतन्त्र उम्मेदवारहरुलाई जनताले छान्न पुगे।
यसै सिलसिलामा काठमाडौंमा मेयर बालेनको आगमनपछि महानगरपालिकामा भएका कार्यहरु जनमुखी नै रहेका छन्। काम गर्ने सिलसिलामा सानातिना कमी–कमजोरीहरु देखिनु स्वाभाविक हो।
विशेष गरी कामनपामा कुनै पनि भ्रष्टाचारजन्य कार्य हुन नदिन तत्पर रहेको सन्देश फैलाउन मेयर सफल रहेका छन्। जुन कुरालाई महानगरवासीका जनजनले ठूलो उपलब्धिको रुपमा ग्रहण गरेका छन्। वास्तवमा देशमा यस्तै प्रकारको नेतृत्वको खाँचो रहेको भन्ने आभाष दिन बालेन, गोपीहर्षजस्ताका सकारात्मक कार्यहरु हुँदै गइरहेको जनजनले अनुभूति गरिरहेका छन्।
केही कमी–कमजोरी सबैका पक्कै हुन्छन्। त्यस्ता केही कमजोरी मेयर बालेनमा पनि नदेखिएका होइनन्। समयक्रममा उनले आफ्ना सानातिना कमजोरीलाई आत्मसात् गर्दै, सम्बोधन गर्दै जानेछन् भन्ने अभिलाषा जनजनले राखेका छन्।
यससँगसँगै उनको पछिल्लो एउटा कामको उद्घोषले जनजनमा खुशीको लहर छाएको छ। त्यो काम भनेको सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक र सार्वजनिक स्थलमा धूमपान गरेमा सजायको भागिदार बन्नुपर्ने अवस्थाको सृजना। यही आउने मंसिर २७ गते बुधबारका दिनदेखि यो कार्यको शुरुवात गरिने समाचार सार्वजनिक भएको छ।
समाचार अनुसार प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री गर्न, भण्डार गर्न र प्रयोग गर्न बन्देज लगाइएको छ। यो कार्यको लागि कामनपाबाट आवश्यक संख्यामा कर्मचारीहरुसमेत परिचालन गरिने कुरा कामनपाले जनाएको छ।
कामनपाले प्रयास गरेका विभिन्न कार्यहरुमध्ये यो पनि एउटा असल कार्यभित्र पर्न आउँछ । किनभने मानिसको स्वास्थ्य राम्रो हुनु नै दीर्घायु हुनुको सन्देश हो । यो कार्यबाट सरकारलाई प्राप्त हुन सक्ने केही राजस्व घाटा लाग्न सक्ला, जनताको स्वास्थ्यभन्दा राजस्व ठूलो कुरा हुँदै होइन।
साँच्चै भन्ने हो भने जनताका स्वास्थ्यमा प्रतिकूल असर पर्ने वस्तुहरुलाई नियन्त्रण गर्दा राज्यको स्वास्थ्य क्षेत्रमा हुने खर्चमा पनि कटौती हुन सक्ने कुरालाई समेत ध्यानमा राख्नुपर्दछ । पक्कै पनि सुर्तीजन्य वस्तुहरुको उपभोगबाट स्वास्थ्यमा हुन जाने हानिलाई रोक्न जति रकम सरकारले छुट्याउनुपर्दथ्यो त्यो रकममा कटौती हुनासाथ राज्यलाई सुर्तीजन्य पदार्थबाट आएको राजस्वभन्दा बढी फाइदा हुन जाने देखिन्छ।
यस अर्थमा पनि राज्यबाट कामनपाको यस कार्यलाई साथ र सहयोग प्रदान गरिनुपर्दछ। हुन त सरकारले यसबारेमा सोचेकै छैन अथवा कुनै पहलकदमी नै लिएन भन्ने होइन। सुर्तीजन्य पदार्थको सेवन र नियन्त्रणमा केही पहलकदमी लिइएको भए तापनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्नुले त्यसले गति प्राप्त गर्न सकेको थिएन।
कामनपाको यो कार्य सानै रुपमै भए पनि कामनपा क्षेत्रभित्र सफल कार्यान्वयन हुन सक्यो भने त्यसले पार्ने सकारात्मक प्रभावले पक्कै पनि सुर्तीजन्य पदार्थको सेवन गर्ने बानीमा परिवर्तन ल्याउनेछ भन्ने कुराको जनजनमा आशा पलाएको छ।
सरकारले लागूऔषध नियन्त्रण ऐनमार्फत लागूऔषध बिक्री वितरण तथा सेवनकर्तालाई जुन किसिमले कानुनी कार्यवाहीको दायरामा ल्याएको छ सोही अनुसार सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणमा पनि अगाडि बढ्न सकेको भए सुनमाथि सुगन्ध हुन जान्थ्यो तर राजस्वको आशले सरकारले त्यतातिर ध्यान दिन सकेन।
धूमपानले स्वास्थ्यमा हानि गर्छ भन्ने सन्देश छर्न सरकार सफल त भयो तर त्यसले सेवनकर्तामा कुनै प्रभाव परेन भन्ने कुराको दिनानुदिन सेवनकर्ताको संख्या बढ्दै जानुले स्पष्ट भएको छ। फोक्सोमा क्यान्सर भएका चित्र धूमपानको बट्टा वा प्याकेटमा छापेर बजारमा ल्याउँदा पनि सेवनकर्तामा त्यसको असर परेन।
यसले के कुराको प्रमाणित गर्दछ भने, कुनै चिज वा वस्तुको लत लागिसकेको मानिसलाई त्यो लतबाट छुटकारा दिलाउन वास्तवमै हम्मेहम्मे पर्दछ । जबसम्म स्वयं व्यक्तिले उपभोग गरेको वस्तुबाट आपूmलाई हानि पुगेको हो भन्ने निक्र्योल गर्दैन तबसम्म त्यो व्यक्ति त्यो चिज वा वस्तुको उपभोग गर्न छाड्दैन ।
उदाहरणको लागि कतिपय गेडागुडीहरु स्वास्थ्यको लागि लाभदायक नै मानिन्छ तर युरिकएसिडको समस्या भएको व्यक्तिलाई गेडागुडी विषसमान नै हुन्छ। जबसम्म युरिकएसिडको समस्या भएको व्यक्तिले आपैmँले त्यो कार्यलाई परख गर्दैन तबसम्म गेडागुडी मन पर्ने व्यक्तिले त्यसको उपभोग गर्न छोड्दैन।
नेपालमा धेरै व्यक्तिलाई युरिकएसिडको समस्याले पिरोलेको छ। वर्तमानमा आएर युरिकएसिडका पीडितहरु धेरैले गेडागुडीको उपभोगलाई त्यागिदिएका छन्। सुर्तीजन्य पदार्थको सेवनको हकमा पनि त्यस्तै हो।
सुर्तीजन्य पदार्थको सेवनको कारण रोगले च्यापिसकेपछि उपचारको क्रममा रोग लाग्नुको कारण सुर्तीजन्य पदार्थ हो भन्ने भावना मनमा गढ्यो भने त्यसको सेवन रोकिन केही मिनेट पनि लाग्दैन । यस विषयमा गहिरिएर अनुसन्धान गर्ने हो भने यो कुरा प्रमाणित हुन आउँछ।
धूमपान र सुर्ती सेवनको लत मात्र होइन, लागूऔषधको दुव्र्यसनी बन्न पुगेर धेरै युवाहरुको बिचल्ली हुन पुगेको छ। स्कुलमा अध्ययनरत धरै विद्यार्थी पनि यसको सिकार बन्न पुगेका छन्। कतिपय अभिभावकहरु आफ्नो सन्तानको भविष्यलाई लिएर चिन्तित बन्न पुगेका छन्।
न त मेरो सन्तान लागूऔषधको दुव्र्यसनी हो भनेर सडकमा चिच्याउन सक्छन्, न त कानुनी कार्यवाहीको लागि सरोकारवाला निकायहरुलाई सुम्पिन सक्छन् । सम्झाउँदा–सम्झाउँदा केही सीप नलागेपछि बाध्य भएर अभिभावकहरुले आफ्ना सन्तानलाई सुधारगृहमा लगेर राख्छन्।
कतिपय अवस्थामा सुधारगृहमा राख्दा पनि नसुध्रिएका उदाहरण बाहिरिएका छन्। सुधारगृहहरुले पनि युवाहरुको भविष्यमाथि खेलबाड गरिरहेका कुराहरुको समाचार सार्वजनिक भएका छन्।
सुधारगृहहरुले सुधार्ने नाउँमा कुटपिट गर्ने वा अन्य अमानवीय व्यवहार गर्ने गरेका समाचारहरु बेला–बेलामा सार्वजनिक भइरहेका छन्। यही सन्दर्भलाई पनि आत्मसात् गर्ने हो भने कामनपाले लागूऔषध प्रयोगकर्तादेखि लिएर त्यसको बिक्री वितरण र भण्डारणसमेतको विषयमा सरकारसँग सहकार्य गरेर अगाडि बढ्न सकेमा सुनमाथि सुगन्ध हुने कुरामा विमति देखिँदैन।
यस सम्बन्धमा पनि भर्खरै कामनपाले सूचना जारी गरी औषधि पसलेहरुलाई औषधि बेचबिखनमा सतर्क रहन र लागूऔषधको परिभाषाभित्र पर्ने औषधिहरुको बिक्री वितरणमा होसियारी अपनाउन स्थानीय सरकार ऐन अनुसार अगाडि बढ्न सुझाएको छ।
साथसाथै यस विषयमा हेलचक्र्याइँ गरिएमा औषधि पसल नै बन्द गर्ने हदसम्मको कार्यवाही गरिने कुराको जानकारी गराएको छ। यो कार्यको थालनी यही आउँदो २९ गतेबाट शुरु गरिने कुराको जनकारी सार्वजनिक गरिएको छ, जुन ज्यादै स्वागतयोग्य कुरा हो।
कामनपाले सार्वजनिक गरेको सूचनामा विभिन्न स्थानहरुलाई सुर्तीजन्य पदार्थ सेवन निषेधित क्षेत्र घोषणा गर्ने भएको छ । आवश्यकता परे सम्बन्धित कानुन अनुसार बिक्री वितरण गरिआएको बिक्रीस्थल नै बन्द गर्ने र अटेर गर्दै गए एक लाख रुपियाँसम्म जरिवाना गर्ने ऐनको प्रावधानलाई कार्यान्वयनमा ल्याउने अठोट कामनपाले गरेको छ।
यो सँगसँगै सुर्तीजन्य पदार्थ सेवन निषेधित क्षेत्रमा शिक्षण संस्था, सरकारी कार्यालय, पुस्तकालय, तालिम तथा जनस्वास्थ्यसम्बन्धी संस्था, सार्वजनिक सवारीसाधन, वृद्धाश्रम, विमानस्थल, बालकल्याण गृहहरु, क्लबहरु, सार्वजनिक शौचालयहरु, होटेल, रेस्टुरेन्टहरु, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतीक्षालय आदि स्थानहरुलाई तोकिएको छ।
यी तोकिएका स्थानहरुमा सीधा वा छडकेरुपमा कामनपाका प्रहरीहरु परिचालित हुने जनाएको छ। कुनै पनि कार्यलाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने कसम खाएको कामनपाले यो कार्यलाई पनि सकुसल निभाउनेछ भन्ने कुरामा जनजन आशावादी छन्।
प्रस्तावित कार्य निकै राम्रो भए तापनि यससँगसँगै एउटा अर्को कामको जिम्मेवारी बहन गरेर सरकारसँग सहकार्य गरेमा एउटै समयमा दुईवटा कार्यहरुको जश पाउने अवस्था सिर्जना हुनेमा जनजनको विश्वास रहेको छ।
त्यो के हो भने, सुर्तीजन्य पदार्थ सेवन रोक्ने कार्यसँगसँगै लागूऔषधमा परिभाषित गरिएका वस्तुहरुको सेवन गर्ने कार्यमा रोक्न पनि महानगरपालिकाको भूमिका आवश्यक देखिएको छ।
आउँदो २७ गतेदेखि प्रस्ताविक कार्यमा परिचालित हुने कर्मचारीहरुलाई लागूऔषध सेवन गर्ने कार्यलाई रोक्ने कार्यमा पनि एकैसाथ परिचालित हुन सक्यो भने त्यसको जश पनि कामनपामा आउने कुरामा विमति देखिँदैन र सरकारसँगको सहकार्यमा पनि अभिवृद्धि हुन जानेमा द्विविधा देखिँदैन।
लागूऔषध दुव्र्यशनीहरुको अखडा भनेको वागमती, विष्णुमतीलगायत अन्य नदीहरुको किनार र सुकुम्बासी बस्तीहरुको छेउछाउलाई बढी प्रयोग हुँदै आइरहेको कुरा प्रायः सबैलाई जानकारी छ।
शुरुवाती चरणमा तोकिएका यस्ता केही क्षेत्रहरुमा सामान्य निगरानी राख्दा पनि धेरै हदसम्म लागूऔषध सेवनकर्ताहरुलाई नियन्त्रणमा लिन सकिन्छ।
औषधि बिक्री गर्ने पसलहरुमा पनि लागूऔषध सेवन गर्ने प्रयोजनको लागि विभिन्न औषधिहरु किन्न आउने व्यक्तिहरुलाई समेत निगरानीमा राख्न प्रस्ताविक कार्यक्रमले सहयोग गर्न सक्ने भएकोले यो सम्बन्धमा पनि ध्यान दिँदा उपयुक्त हुने देखिन्छ।
(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)
प्रतिक्रिया