गुरुकुल स्थापनाको लागि एकैदिन ४० लाख सहयोग प्राप्त

42
Shares

काभ्रे, पनौती ।

शचीतीर्थ त्रिवेणी गुरुकुलको भौतिक संरचना निर्माणार्थ आयोजित श्रीमत् भागवत सप्ताह ज्ञान महायज्ञको सातौँ दिन ४० लाख भन्दा बढी संकलन भएको छ । सङ्कलित रकम मध्ये  २२ लाख १८ हजार १ सय ६१ रुपैयाँ  सहकारीमा नगद जम्मा भएको छ भने १४ लाख रुपैयाँ बराबरको चेक सटहीको प्रक्रियामा रहेको छ । केही रकम क्यूआर कोड मार्फत पनि भुक्तानी भएको छ ।

गुरुकुल निर्माणार्थ सप्ताहको सातौँ दिन क्यूआर कोड मार्फत भुक्तानी गरिएको बाहेक  नगद २५ लाख र चेक मार्फत १४ लाख रुपैयाँ सहयोग प्राप्त भएको आयोजक समितिका सुरेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । रकम जम्मा गरिएको स्थानीय सामुदायिक सहकारीका कर्मचारीका अनुसार शुक्रवार २२ लाख १८ हजार १ सय ६१ रुपैयाँ जम्मा भएको बताइएको हो ।

गुरुकुल निर्माणको लागि शुक्रवार सर्वाधिक चन्दा दान गर्नेमा स्थानीय मच्छेमाया जंगमको परिवार रहेको छ । जंगम परिवारले ६ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिएको शचीतीर्थ त्रिवेणी गुरुकुलका अध्यक्ष शिवप्रसाद जंगमले जानकारी दिएका छन् । सप्ताहबाट सङ्कलित रकम अधिकांश सहकारीमा राखिएको छ । बैकले सेवा सुविधा दिन नसकेपछि सहकारीमा रकम जम्मा गरिएको भन्दै आयोजक समितिले सप्ताह सकिनासाथ सहकारीबाट रकम निकालेर बैकमा राख्ने जनाएका छन् ।

सप्ताहका पहिलो दिनदेखि सातौँ दिन बेलुकीसम्म सहकारीमा गुरुकुलको रकम ७७ लाख ८३ हजार १ सय ६१ रुपैयाँ जम्मा भएको सामुदायिक सहकारीका कर्मचारीले बताएका छन् । सप्ताहमा प्राप्त करिब २० लाख भन्दा बढी रकम केही बैकमा जम्मा भएको छ भने केही चेक सटही गर्न बाकी रहेको अध्यक्ष जंगमले बताएका छन् । सप्ताहको सातौँ दिन सम्ममा एक करोड रुपैयाँ भन्दा बढी रकम संकलन भए पनि केही चेक सटही भएको छैन । चन्दादाताबाट प्राप्त सहकारीको चेक नसाटिएर दुई-तीनवटा फिर्ता आएको बताइएको छ ।

सप्ताह भन्दा पहिला नै गुरुकुल निर्माणको लागि केही चन्दादाताहरुले नगद प्रदान गरिसकेका थिए । सप्ताह भन्दा पहिले नै नगद सहयोग गर्नेको हिसाब राख्दा डेढ करोड भन्दा बढी हुने बताउँदै गुरुकुलका अध्यक्ष शिवप्रसाद जंगम भन्छन्– सप्ताह सकिए वित्तिकै सम्पुर्ण हिसावकितावको विस्तृत विवरण सार्वजनिक गरिने छ । सप्ताह स्थलमा आएर सहयोग प्रदान गर्ने वचनबद्धता व्यक्त गर्नेहरुको हिसाब राख्ने हो भने दुई करोड रुपैयाँ भन्दा बढी हुने भन्दै अध्यक्ष जंगमले भने–सप्ताहपछि केही  दिन चन्दा दान गर्ने भन्दै घोषणा गर्ने र सम्मान लिने व्यक्तिहरूबाट रकम उठाउन पहल गरिने छ र त्यस पछि सबै विवरण सार्वजनिक गरिने छ ।

शचीतीर्थ त्रिवेणी गुरुकुलमा देशका विभिन्न भागबाट आएका  २८ जना बटुकले शिक्षा दिक्षा लिइरहेका छन् । यो गुरुकुल विगत दुई वर्षदेखि त्रिवेणी घाटको सत्तलमा सञ्चालन भैरहेको छ । आफ्नै भवनमा सुविधा सम्पन्न भवन निर्माण गरी  अझ व्यवस्थित तरिकाले गुरुकुल सञ्चालन गर्न पनौती ६ स्थित गोरखनाथ डाडामा भवन निर्माण भइरहेको छ । हाल निर्माणाधीन ८० फिट लम्बाई र २० फिट चौडाईको दुईतले भवनलाई सुर्की चुना लगायत कलात्मक तरिकाले रंगरोगण गरिँदै छ , साथै शौचालय निर्माण कार्यपनि भइरहेको छ ।

सप्ताहको सातौँ दिन शुक्रवार एमाले नेता पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटा सप्ताह स्थल इन्द्रेश्वर माहादेवको मन्दिर परिसरमा आई पनौतीमा गुरुकुल स्थापनाको लागि सिङ्गो समाज उठेको बताउँदै आफ्नो र आफ्नो पार्टीको पूर्ण सहयोग रहने बताएका थिए । पूर्वमन्त्री वास्कोटाले काभ्रेको विकासको लागि आफ्नो सम्पूर्ण  क्षमता लगाउने वचनबद्धता व्यक्त गर्दै  गुरुकुल निर्माण जस्तो पवित्र कार्यमा सबैको साथ र सहयोग प्राप्त हुनेमा आफू आशावादी रहेको पनि बताए  ।