२२ वर्ष अघि भन्दा जर्जर छ स्वास्थ्य क्षेत्र : मन्त्री बस्नेत

0
Shares

काभ्रे। 

रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपामा शुक्रबारबाट दुईदिने अन्तर्राष्ट्रिय नेत्र विशेषज्ञ सम्मेलन सुरु भएको छ । सोहि अवसरमा अस्पतालले विस्तार गरेको ओपिडी ब्लकको उद्घाटन गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सम्मेलन र ओपीडी ब्लकको शुभारम्भ गर्दै २२ वर्ष अघि आफू राज्यमन्त्री हुँदा भन्दा कम जनशक्ति रहेकाले स्वास्थ्य क्षेत्र जर्जर रहेको बताए । ‘त्यतिबेला ३३ हजार कर्मचारी थिए । अहिले कागजमा ३१ हजार छन् तर ब्यवहारमा २८ हजार भन्दा कर्मचारी छैनन् । ७ सय ५३ वटा पालिकामा अस्पताल शिल्यान्यास गरिएको छ खै उद्घाटन ? त्यतिबेला भन्दा अहिले बिरामी कति बढेका छन् ? जनसंख्या कति बढेको छ ? अनि खै पूर्वाधार, खै जनशक्ति, खै प्रविधि ? अनि नागरिकहरुले सहज सुविधा कसरी पाउन सक्छन् ?’– मन्त्री बस्नेतले भने – ‘स्वास्थ्य क्षेत्रमा सुधार गर्ने हो भने पूर्वाधार, दक्ष जनशक्ति र न्यूनतम प्रविधि आवश्यक छ । तर स्वास्थ्य क्षेत्रको बजेट हरेक वर्ष कटौतीमा परेको छ ।’

मन्त्री बस्नेतले उपत्यका बाहिर काभ्रेपलान्चोक जिल्लामा रहेको रेयुकाई अस्पतालले उपलब्ध गराएको सेवाको खुलेर प्रशंशा गरे । सम्मेलनमा अमेरिका, नेपाल भरका आँखा अस्पतालमा कार्यरत नेत्र विशेषज्ञहरु १ सय ५० जनाको सहभागिता रहेको छ । मन्त्री बस्नेतले नेपालमा आँखाको उपचारमा समस्या र संवेदनशिलतालाई ख्याल गर्दै राज्यले सबै जिल्लामा आँखा परीक्षण केन्द्र र अस्पतालको व्यवस्थापन गर्न खोजेर पनि नसकेको बताएका छन् । तर पनि सरकार त्यसकै व्यवस्थापनमा सरकार जुटेको मन्त्री बस्नेतले बताए ।

आँखा अस्पताल र उपचारको क्षेत्रको अवस्था निराशाजनक भएको बताउँदै मन्त्री बस्नेतले रेयुकाई आँखा अस्पताल जस्ता केही संस्थाले नागरिकहरुको न्यूनतम आवश्यकता पुरा गरेको बताए । सरकारले चालु वर्षको बजेटमा स्वास्थ्य मन्त्रालयको २० प्रतिशत बजेट कटौती गरेको बताउँदै मन्त्री बस्नेतले भने–‘जनताको शिक्षा, स्वास्थ्य र खाद्यबस्तुलाई जनताको मौलिक हक भनिएको भए पनि त्यसको पूर्ण व्यवस्थापन राज्यले गर्न सकेको छैन । उपचार पाउन नसकेर अस्पतालबाट हाम फालेर, उपचार पछि घर गएर आत्महत्या गर्नु पर्ने परिस्थितीलाई राज्यले जिम्मा लिनु पर्छ । राज्यको प्रतिनिधि म भएकाले त्यसको जिम्मेवारी म लिन्छु ।’ गरिवहरुको निशुल्क उपचार हुनु पर्छ । पैसा नहुनेहरुले पैसा नभएकै कारण उपचार नपाएर मर्नु पर्ने परिस्थितिको सरकारले अन्त्य गर्ने मन्त्री बस्नेतले बताए ।

सम्मेलनमा विश्वभर भइरहेका अभ्यास तथा अनुभव र आगामी दिनमा हुन सक्ने सम्भावित चुनौतीका बारेमा विशेषज्ञहरुले छलफल गर्नेछन् । नेपालमा १९६१ मा पहिलो पटक अमेरिकाको तर्फबाट गोरखा जिल्लाबाट स्वास्थ्य सेवा सुरु गरेको डुली इन्टरमेड इन्टरनेशनलका अध्यक्ष डा.स्कट डब्लु ह्यामेलटनले नेपालको स्वास्थ्य क्षेत्रमा सहकार्य र समन्वय गर्ने बताए । ‘सम्मेलनमा अमेरिकामा भएका अभ्यास, उपचार विधी र अनुभव दिँदै नेपालमा भइरहेका अभ्यास, प्रविधिको प्रयोग तथा नेपालमा देखिएका विभिन्न रोगहरुका बारेमा जानकारी लिने छौँ– अध्यक्ष डा.स्कट डब्लु ह्यामेलटनले भने–‘वरिष्ठ विशेषज्ञहरूको अनुभव र ज्ञानबाट भर्खर नेत्र रोगका क्षेत्रमा प्रवेश गरेका चिकित्सकहरुले धेरै अनुभव बटुल्न सक्नेछन् । सम्मेलन केवल छलफलका लागि मात्रै नभई ज्ञान र अनुभवसँगै प्रविधि र रोगका बारेमा समेत खुलेर छलफल गर्ने स्थल हुनेछ ।’

सोही  सम्मेलनमा अप्रेसन रिस्टोर साईटका अध्यक्ष रोनाल्ड जेन्टलले आँखा सम्बन्धी विभिन्न खालका रोग तथा त्यसको उपचारमा भइरहेका विश्वका अभ्यास र प्रविधिका बारेमा छलफल हुने बताए । डुली इन्टरमेड इन्टरनेशनलले रेयुकाई मासुनागा आँखा अस्पताललाई ढल्केबगरमा ३ करोडको भवन निर्माण गरी सेवा सुरु गर्न सहयोग गरेको छ भने तत्कालै अन्य क्षेत्रमा सेवा विस्तारका लागि सहयोग गर्ने भएको छ । भवन, उपचारात्मक प्रविधि र ज्ञानमा सहकार्य र समन्वय गरिने डुली इन्टरमेड इन्टरनेशनलका अध्यक्ष डा. ह्यामेलटनले बताए । नेपालका ग्रामीण भेगमा अझै आँखा उपचारको सहज सेवा नभएकाले त्यसका लागि सहयोग र समन्वय गर्ने उनले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले रेयुकाई मासुनागा आँखा अस्पतालले हजारौँलाई सेवा प्रदान गरी नयाँ जीवन दिएको बताए । गुणस्तरीय सेवा, प्रविधि र दक्ष जनशक्तिका लागि अझै प्रभावकारी रुपमा सेवा सहज बनाउन समन्वय गरिने उनले बताए । कार्यक्रममा अस्पतालका अध्यक्ष मधु प्रसाद आचार्यले रेयुकाई मासुनागा आँखा अस्पतालले काभ्रेपलान्चोक जिल्ला र आसपासका क्षेत्रका नागरिकहरुमा आँखामा हुने रोगहरुको पहिचान, उपचारसँगै मोतिया विन्दु मुक्त बनाउने अभियानमा तिन तहकै सरकारको समन्वय आवश्यक रहेको बताए । कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरु, गाउँपालिकाका अध्यक्ष तथा प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

अस्पतालका प्रशासकीय प्रमुख हीरामणि शर्माले सन् २००७ सालमा स्थापना भएको अस्पतालले २०२३ सम्ममा १० लाख नागरिकहरुलाई ओपिडी सेवा उपलब्ध गराएको बताए । अस्पतालले जिल्लाको भकुण्डे, सिन्धुपाल्चोकको खाँडीचौर र जनकपुर ढल्केबरमा समेत सेवा उपलब्ध गराउँदै आएको छ । विद्यालय स्तरमा पुगेर बालबालिकाहरुमा आँखा सम्बन्धी रोगको पहिचान तथा उपचार सुरु गरेको अस्पतालले पहिलो पटक बनेपामा २४ हजार बालबालिकाहरुको आँखा नि: शुल्क परीक्षण गरिरहेको मेडिकल डाईरेक्टर डा. रुचि श्रेष्ठले बताइन् । अस्पतालले अघिल्लो आर्थिक वर्ष ६० हजार बिरामीलाई सेवा गर्ने लक्ष्य लिएकोमा ५५ हजार ९ सय ९७ जनालाई सेवा उपलब्ध गराएको थियो भने ६ सय जनाको अप्रेसन गर्ने लक्ष्य लिएकोमा ४ सय ४५ जनाको अप्रेसन गरेको छ । चालु वर्षका लागि ७० हजारलाई सेवा दिने योजना बनाएको छ भने ६ सय ५० जनाको अप्रेसन गर्ने लक्ष्य लिएको छ ।