सप्ताहको छैटौँ दिन पनि २२ लाख सङ्कलन

७३ लाख सहकारीमा

0
Shares

काभ्रे, पनौती ।

शचीतीर्थ त्रिवेणी गुरुकुलको भौतिक संरचना निर्माणार्थ आयोजित श्रीमत् भागवत सप्ताह ज्ञान महायज्ञको छैठौ दिन बिहीबार  पनि २२ लाख रुपैयाँ  सङ्कलन भएको छ । अघिल्लो दिन बुधवार पनि २२ लाख रुपैयाँ  सङ्कलन भएको थियो  । पहिलो र दोस्रो दिन ३० लाख सङ्कलन भएको थियो भने तेस्रो दिन १९ लाख रुपैयाँ सङ्कलन भएको थियो ।

आज बिहीबार  सङ्कलित चेक बाहेकको नगद १८ लाख रुपैयाँ सहकारीमा जम्मा भएको आयोजक समितिका सदस्य सुरेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । यो सँगै गुरुकुल निर्माणको लागि सङ्कलित ६३ लाख ५० हजार रुपैयाँ सहकारीमा जम्मा भैसकेको छ । अघिल्लो दिन सम्म सहकारीमा ४५ लाख ५१ हजार जम्मा भएको बताइएको थियो । केही चेक सटही गर्न बाकी रहेको सचिवालयले जनाएको छ । सटही गर्न बाकी चेक १० लाखको हाराहारीमा रहेको सचिवालयको भनाई छ।

कतिपय दाताहरुले गोरखनाथमा निर्माणाधीन गुरुकुललाई पहिले नै रकम दिएकोले दान गरेको सूचीमा  आएपनि नगद प्राप्त भएको छैन । अहिले नगद अथवा चेक प्राप्त भएको र सहकारीमा जम्मा भएको र चेक सटही गर्न बाकी हिसाब मात्र ७३ लाख भन्दा बढी भएकोले पहिले नै दान गरेको समेत हिसाब गर्दा गुरुकुललाई एक करोड भन्दा बढी रकम प्राप्त भैसकेको अनुमान गरिएको छ । यसबारेमा सचीतीर्थ त्रिवेणी गुरुकुलका अध्यक्ष एवं इन्द्रेश्वर मन्दीरका पुजारी शिवप्रसाद जंगम भन्छन्– सप्ताह सकिएपछि जम्मा आम्दानी, खर्च, बाकी मौज्जाद सबै पारदर्शी तरिकाले सार्वजनिक गर्छौ ।

अहिले कतिपयले पहिले र अहिले दान गरेको एकमुष्ट हिसाब राखेका छन्  भने कतिपयले यति रकम दिन्छौँ भनेर प्रतिवद्धतामात्र व्यक्त गरेका छन् । यो सबै हिसाब गर्दा धेरै हुन्छ । अहिले नगद जम्मा भएको र चेक आएको हिसाब मात्र प्राप्त भएकोमा सार्वजनिक भइरहेको छ । सप्ताह सकिएपछि हिसाब किताब बारे विस्तृत विवरण सार्वजनिक गर्छौ । दैनिक लाखौँ रकमको कारोबार बैक मार्फत नगरी सहकारी मार्फत गरेको भन्दै गुरुकुलको आलोचना भइरहेको छ ।

अघिल्लो दिन एमाले नेता एवं बागमती प्रदेशका पूर्वमन्त्री चन्द्र लामाले ५ लाख रुपैयाँ नगद दिएका थिए भने कांग्रेस जिल्ला सभापति एवं बागमती प्रदेशका मन्त्री तीर्थ लामा, काभ्रे कांग्रेसका  कोषाध्यक्ष जगन्नाथ गिरीले एक-एक लाख रुपैयाँ दिने वचनबद्धता मात्र व्यक्त गरेका थिए । गुरुकुलका अध्यक्ष जंगम भन्छन्– बुधवार सङ्कलित २२ लाख रुपैयाँ प्राप्त भैसकेको मात्र हो, वचनबद्धता व्यक्त गरेको रकम होइन । सप्ताहमा आएर वचनबद्धता गरेको रकम सबै आएमा गुरुकुल निर्माणको लागि डेढ करोड रुपैयाँ भन्दा बढी सङ्कलन हुने उनको भनाई थियो ।

शचीतीर्थ त्रिवेणी गुरुकुलमा देशका विभिन्न भागबाट आएका  २८ जना बटुकले शिक्षा दिक्षा लिइरहेका छन् । यो गुरुकुल विगत दुईवर्ष देखि त्रिवेणी घाटको सत्तलमा सञ्चालन भइरहेको छ । आफ्नै भवनमा सुविधा सम्पन्न भवन निर्माण गरी अझ व्यवस्थित तरिकाले गुरुकुल सञ्चालन गर्न पनौती ६ स्थित गोरखनाथ डाँडामा भवन निर्माण भइरहेको छ । हाल निर्माणाधीन ८० फिट लम्बाई र २० फिट चौडाईको दुईतले भवनलाई सुर्की चुना लगाएत कलात्मक तरिकाले रंगरोगण गरिँदै छ , साथै शौचालय निर्माण कार्यपनि भइरहेको छ । गुरुकुल निर्माण भइरहेको गोरखनाथ डाँडामा चन्दा सङ्कलन गरेरैे ९ फिट अग्लो पञ्च धातुबाट निर्मित गणेशको मूर्ति  पनि स्थापना गरिएको छ ।