भुमि व्यवस्थापन प्रशिक्षण केन्द्रले भोलिदेखि तिमालमा तीन महिने सर्भे क्याम्प सञ्चालन

क्याम्पमा समान्य र परम्परागत प्रविधिदेखि स्याटलाइट, ड्रोन जस्ता अध्याधुनिक उपकरणको प्रयोग हुने ।

196
Shares

काठमाडौं ।

भुमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेलले भोली शुक्रवार देखि जिल्लाको तिमाल गाउपालिका लुम्सालवेशीमा तीन महिने सर्भे क्याम्प सञ्चालन गर्ने भएको छ । यो क्याम्पमा सर्भे र नक्साङ्कन गर्ने सबै प्रविधिको प्रयोग गरि प्रशिक्षार्थिहरुलाई प्रयोगात्मक प्रशिक्षण दिइने छ ।

भुमि व्यवस्थापन प्रशिक्षण केन्द्रका निर्देशक रामकुमार सापकोटाले जानकारी दिए अनुसार तीनमहिने सर्भे क्याम्पमा केन्द्रवाट लामो अवधिको तालिम लिइरहेका सिनियर र जुनियर ७२ जना प्रशिक्षार्थि सहभागि हुनेछन भने प्रशिक्षकको रुपमा २० जना सहभागि हुने छन् ।

क्याम्पमा प्लेनटेवल जस्ता परम्परागत यन्त्र उपकरण देखि स्याटलाइट, ड्रोन, जिपिएस जस्ता अत्याधुनिक यन्त्र तथा उपकरणबाट सर्भे र नक्साङ्कन गर्न सिकाइने छ । ‘कुनैपनि विकास निर्माणको लागि गरिने पहिलो कार्य नै नाप, नक्सा, सर्भे हो’ केन्द्रका निर्देशक सापकोटा भन्छन्– यो तीन महिनाको अवधिमा प्रशिक्षार्थिहरुले सर्भे गर्ने आधारभुत कुरा देखि उच्चस्तरको प्रविधि प्रयोगमा समेत प्रयोगात्मक रुपमा सवल हुनेछन ।

भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत विभाग स्तरीय कार्यालयको रुपमा रहेको भुमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेल अन्तर्राष्ट्रिय स्तरको संस्था हो । नाप, नक्सा र भुमि व्यवस्थापन सम्बन्धि देशलाई आवश्यक पर्ने करिब ९० प्रतिशत जनशक्त यहि बाट उत्पादन भएका छन् । निर्देशक सापकोटाले जानकारी दिए अनुसार व्यक्तिको जग्गाको सामान्य नाप नक्सा गर्ने कित्ताकाट गर्ने मात्र नभै भुमिको हरेक किसिमले पुरै व्यवस्थापन सम्मको कार्य गर्न सक्षम जनशक्ति उत्पादनमा प्रशिक्षण केन्द्रको योगदान रहेको छ ।

पहिले नापी तालिम केन्द्रको रुपमा रहेका भुमि प्रशिक्षण केन्द्रले काठमाडौं विश्वविद्यालय संगको सहकार्यमा सन २००९ देखि जियोमाट्रिक इन्जिनियर समेत उत्पादन गर्दै आएको छ । यो कोर्षको लागि सरकारले ४ जनालाई पुरा र २१ जनालाई ३५ प्रतिशत छात्रवृति दिएको छ । यहाबाट अहिले सरदर ४० जना जियोमाट्रिक ईन्जिनियर उत्पादन भैरहेका छन् ।

केन्द्रका निर्देशक रामकुमार सापकोटाले जानकारी दिए अनुसार देशभरीको कित्ता नापी, भुमि लगत लिन दक्ष जनशक्ति उत्पादन गर्न २०२५ सालमा स्थापना भएको यो केन्द्र अहिले सम्म आइपुग्दा विश्वका जुनसुकै देशमा समग्र भुमि व्यवस्थापन सम्बन्धि कार्य गर्ने प्राविधिक उत्पादन हुने केन्द्रको रुपमा विकसित भएको छ ।