ब्लड बैंक अक्षयकोषको तीनलाख रकम हिनामिना 

0
Shares

उदयपुर ।

 नेपाल रेडक्रस सोसाइटी उदयपुर जिल्ला शाखा मातहत गठन भएको रेडक्रस त्रियुगा नगर शाखाले ब्लड बैंक र एम्बुलेन्स संचालन गर्ने भएसँगै ब्लड बैंक अक्षयकोषको रकम हिनामिना भएकोले कसरी हिना मिना भएको हो खोजी गर्ने भएको छ ।

रेडक्रस उदयपुरका सभापति मदनराज कटुवालको उपस्थितिमा र त्रियुगा नगरपालिका वडा नं १० का वडाध्यक्ष किरण पाण्डेको प्रमुख आतिथ्यमा भएको सो कार्यालय संचालन घोषणा कार्यक्रममा  प्रमुख अतिथि पाण्डेले मानवीय सेवाकालागि गरिने प्रत्येक कार्यमा सहयोगी भूमिका निर्वा गर्न वडा कार्यालय तयार भएको बताउँदै रेडक्रस जस्तो स्वच्छ मानवीय सेवाको क्षेत्रमा सबैको सहयोग अपरिहार्य भएको बताए ।

रेडक्रस उदयपुरका तत्कालीन सभापति विनोद बस्नेतको कार्यकालमा व्यापक अनियमितता भएको सवारी साधनको दुरुपयोग, आर्थिक हिनामिना, व्यवस्थापन अस्तव्यस्त, सटरभाडाको रकम दुरुपयोग, एम्बुलेन्स संचालनको रकम हिनामिना गरेको, ब्लड बैंकको अक्षयकोष हिनामिना, विधि र नियम कानून विपरित काम भएको भन्दै अषयकोषको रकमका बारेमा छानविन गर्न अख्तियार दुरुपयोग, जिल्ला प्रशासन कार्यालय उदयपुर लगायतका निकायमा निवेदन दिएको तर सुनुवाइ नभएको रेडक्रस जिल्ला सभापति मदनराज कटुवालले बताए ।

सो कार्यक्रममा रेडक्रसको नगर कार्यालय संचालनकालागि जिल्ला अस्पतालले निःशुल्क एक कोठा उपलब्ध गराउने भएको छ भने एम्बुलेन्स सेवा तथा ब्लड बैंक संचालनकालागि पनि आवश्यक सहयोग गर्ने अस्पतालका मे.सु डा.ज्ञानेन्द्र कुमार झाले बताए ।

नेपाल रेडक्रस सोसाइटी त्रियुगा नगर शाखाका सभापति अमृत हमालले वैदेशिक रोजगारमा रहेका उदयपुरका आप्रवासी नेपालीहरुको संगठनले रेडक्रस सोसाइटी उदयपुरमा ब्लड बैंक संचालन तथा मानवीय सहायतकालागि.३ लाख उपलब्ध गराएकोमा सो रकम तत्कालीन सभापति विनोद बस्नेतको नेतृत्वको समितिले अक्षयकोषमा नराखेको हुँदा खोजी गरिने बताएका छन् ।

आप्रवासी नेपालीहरुको संगठनले ५ लाख रुपियाँ अक्षय कोषमा जम्मा गर्ने भनेको र पहिलो चरणमा रु ३ लाख उपलब्ध गराएको थियो । तर उक्त रकम विनोद बस्नेतको नेतृत्वको समितिले आजसम्म पनि अक्षयकोष खातामा जम्मा नगरेको पाइएपछि रेडक्रस त्रियुगा नगर समितिले रकम खोजी गरी अक्षयकोषमा जम्मा गर्ने भएको हो ।

रेडक्रस त्रियुगा नगर शाखाले विरामीहरुकालागि रगत संकलन गर्न मंसिर २२ गते रक्तदान कार्यक्रम गर्न रेडक्रस नगर सचिव माया भण्डारीको संयोजकत्वमा समिति गठन गरेको छ ।