एमालेको संकल्पयात्राको टोली आज पोखरा आउँदै, अध्यक्ष ओलीले हेम्जामा सम्बोधन गर्ने

0
Shares

पोखरा ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले मंसिर १४ गतेदेखि मध्यपहाडी लोकमार्गमा सुरु गरेको ‘बैतडी झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्पयात्रा’को टोली आज पोखरा आइपुग्दै छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा कास्कीमा आज बिहीबार र भोलि शुक्रवार तय भएका कार्यक्रमलाई भव्य बनाउन सम्पूर्ण तयारी पुरा भएको एमाले कास्कीले जनाएको छ ।

संकल्पयात्रा अन्तर्गत कास्कीमा हुने कार्यक्रमलाई भव्य बनाउन सबै तयारी पुरा भएको एमाले कास्की उपसचिव एवं प्रचार विभाग प्रमुख दर्शन लामाले जनाए । कास्कीको कार्यक्रमलाई व्यवस्थित बनाउन यहाँ रहेका नेतालाई कार्यक्षेत्र बाँडफाँड समेत गरिएको कारण भव्य हुने उनले खुलाए ।

टोली बिहीबार दिउँसो ३ बजे कास्कीको नयाँ पुल आइपुग्नेछ । त्यहाँ कास्की एमालेले टोलीलाई स्वागत र भेटघाट गर्नेछ । दिउँसो साढे ३ बजे अन्नपूर्ण गाउँपालिका नौडाँडामा समेत टोलीलाई स्वागत र भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यसपछि अध्यक्ष ओलीले साढे ४ बजे हेम्जाको मिलनचोकमा हुने कार्यक्रमलाई छोटो सम्बोधन समेत गर्नेछन् ।

बिहीबार पोखरामा बस्ने ओलीले यहाँ रहँदा विभिन्न क्षेत्रका व्यक्तिसँग भेटघाट र छलफल गर्ने कार्यक्रम समेत बनेको बताइएको छ । सो क्रममा कास्कीका विविध पक्ष सहित मध्यपहाडी लोकमार्ग अन्तरगत यहाँ देखिएको विवादको बारेमा समेत बुझ्ने बताइएको छ ।

मंसिर २२ गते शुक्रवार बिहान साढे सात बजे जिरोकिमीबाट ओली सहितको संकल्पयात्राको टोली अगाडि बढ्नेछ । सो टोलाीलाई पोखराको अम्मरसिंहचोकमा स्वागत र भेटघाट गरिनेछ भने बिहान ९ बजे तालचोक पुगेर पुनः ओलीले छोटो सम्बोधन गर्नेछन् । रुपा गाउँपालिकाले तालबेसीमा स्वागत गरेपश्चात् टोलीलाई रुपाको पिपलेबजारबाट बिदाइ गरिनेछ। त्यसपछि टोली लमजुङ तर्फ लाग्नेछ ।

२६ वटा जिल्ला र २ सय १५ वटा बस्तिसम्म फैलिएको मध्यपहाडी लोकमार्ग ०६९–०७० सालमा राष्ट्रिय गौरवको आयोजना घोषणा भएको थियो । राजमार्ग अन्तरगत हालसम्म ७२ प्रतिशत भन्दा बढी काम सम्पन्न भैसकेको छ ।

संकल्पयात्रामा व्यापक जनसहभागिता र जनसमर्थन रहेको एमालेले जनएको छ ।