सक्रिय राजनीतिमा नआउँदै राम्रो पूर्वराजा

0
Shares

दशबर्से लामो युद्ध लडेर हजारौँको बलिदान गरी आएको गणतन्त्रले जनचाहनानुसारका काम करिब कुनै पनि गर्न नसकेको यस कालखण्डमा अबको विकल्प भनेको राजतन्त्र हुन सक्छ भन्ने अन्दाज हुन थालेको छ । यसै सेरोफेरोमा राजावादीहरू निकै सल्बलाउन र पूर्वराजालाई समेत निकै उकास्न थालेका छन् । उनीहरुको यो उकासाइले पूर्वराजाको मनमा पनि केही साहस अवश्य पलाएको हुनुपर्छ । त्यतिमात्र होइन पुनः राजतन्त्र नै स्थापना गर्न सकिन्छ कि भनेरसमेत पूर्वराजा आशावादी बनेका उनका विभिन्न हाउभाउ र क्रियाकलापबाट अनुमान लगाउन सकिन्छ ।

पूर्वराजाले भन्दै आएका छन्– नेपालको राजगद्दी हाम्रो अर्थात् शाहवंशीय राजाको विरासत भएकोले पुनः फिर्ता पाउनुपर्छ । तर गणतन्त्रवादीहरु भने उक्त कुरा पत्याउन तयार छैनन् । एकपटक हटिसकेको राजतन्त्र अब फर्केर पुनः आउने भनेको मरेर जलाएको लास अब फेरि फर्केर आउनुजस्तै हो वा पुनः राजतन्त्र फर्किनु भनेको असम्भव काम हो भन्ने उनीहरुको टिप्पणी रहेको छ । यसरी दुवै पक्षबाट हेर्दा पूर्वराजाले आफ्नो विरासत फर्काउन खोज्नु पनि स्वाभाविक विषय हो अनि गणतन्त्रवादीहरुले त्यसलाई रोक्न खोजेर गणतान्त्रिक शासन व्यवस्थालाई सुदृढ र जनपक्षीय शासन सञ्चालन गर्न खोज्नु उनीहरुको कर्तव्य हुने थियो ।

गणतन्त्रवादीहरुले यस व्यवस्थालाई संस्थागत गरेर देशको उन्नतिको बाटोतिर लैजान सकेका र जनअपेक्षित काम गर्न सकेका भए आज राजतन्त्रले टाउको उठाउने कुनै मौका पाउने थिएन । यदि गणतन्त्रवादीहरुले अबका दिनमा पनि आफ्ना कमी–कमजोरी सच्याएर देशको उन्नतिका खातिर मन, वचन र कर्मले लाग्दैनन् भने आज गणतन्त्रको कित्तामा रहेका नागरिकहरुले पनि बाध्य भएर राजतन्त्रको कित्तातिर सामेल हुन बाध्य बन्नुपर्नेछ । त्यसैले अबको राजनीतिक कर्ममा गणतन्त्रवादीहरु सुध्रेर अगाडि बढ्न नसकेका खण्डमा अबको विकल्प भनेको राजतन्त्र नै भन्ने कुरा बाध्य भएर आम जनताले भन्नुपर्ने हुन्छ ।

पूर्वराजाले अहिलेको समयमा सक्रिय राजनीतिमा आउनुको साटो नआउनु नै सही मूल्याङ्कन हुनेछ । यसका कारणहरुमा पूर्वराजाले सक्रिय राजनीतिमा आउन खोज्दा पनि उनीसँग देशको आमूल परिवर्तनको प्रभावकारी योजनाको कुनै विषय छैन । अबको शासन व्यवस्थामा पहिलेको तरिकाले सञ्चालन गर्न गाह्रो मात्र होइन कि असम्भव नै हुनेछ । पूर्वराजालाई दह्रोसँग साथ दिने मान्छे पनि हुनेछैनन् ।

पैसाले किनेर राखेको मान्छेले सही सल्लाह दिन सकेको हुँदैन । पहिलो कुरो हावाको भरमा राजगद्दी आरोहण गरेर मात्रै केही हुँदैन । अबका नेपाली जनता र आजभन्दा दुई दशकअगाडिका नेपाली जनताबीचका विविध कुरामा व्यापक मात्रमा परिवर्तन आइसकेको छ । अब पहिलेको जसरी मैले बुझेँ भनेर जनताका माझ लोकप्रिय बन्न सकिनेवाला छैन । अबको नेपालको शासन हाँक्ने भनेको एउटा दृष्टिकोण भएको र निर्लोभी मानसिकताको शासक चाहिएको छ । आम नेपाली जनताको उन्नतिका खातिर मरिमेटेर निःस्वार्थ भावले लागिपर्ने शासक मात्र अबका दिनको सफल शासक बन्नेछ ।

पूर्वराजामा ती गुणहरु छन् वा छैनन् भन्ने कुराले फरक नपार्ला, तथापि गुण र दृष्टिकोण भएरै पनि तदनुसारको वातावरण बनाउन सकिएन भने चाहेअनुसारका उपलब्धि हासिल हुन असम्भव हुन्छ । पूर्वराजालाई साँचो हृदयले सघाउने आफन्तजनको पनि अभाव नै रहेको छ । मुखले ठिक्क पारेर कामले दिक्क लाउने कार्यकर्ताहरुको विश्वास गरिहाल्न पनि सक्ने अवस्था रहँदैन । गणतन्त्रवादीहरुले मनैले चाहेर, देशको माया गर्दै एउटा सही बाटोमा हिँड्न सकेका भए उनीहरु अवश्य सफल बन्ने थिए । उनीहरु सफल बन्नु भनेको नेपाल देशको जनअपेक्षित उन्नति, प्रगति हुनु हो । तर विडम्बना, उनीहरु आफूले बल्ल भेटेको सिकार कहाँ छोड्न हुन्छ र ? भन्ने विचारमा लागेका हुनाले गणतन्त्रको यति लामो शासन व्यवस्थामा पनि जनअपेक्षित काम हुन नसकेका कारण आम जनताको हृदयमा त्यसको गहिरो छाप परेको छ ।

नेपाली जनताले झन्डै दुई दशकको समय गाणतान्त्रिक शासन व्यवस्था अनि त्यसले पारेका खराब असर र सही प्रभावका बारेमा तुलना एवं मूल्याङ्कन गरिरहेका छन् । राजतन्त्र स्थापना भयो नै भने गणतान्त्रिक व्यवस्थाका ती मूल्य र मान्यता कायम रहलान् कि नरहलान् ? भन्ने कुराले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यदि राजतन्त्र पुनः स्थापित भएको खण्डमा ती राम्रा वा सकारात्मक पक्षहरु प्नि ओझेलमा पर्लान् कि भन्ने भय सधैँ रहेको हुन्छ । नेपालको किसान वर्ग होस् कि मजदुर वर्ग जोसुकै होस्, गरी खाने वर्गका नागरिकका जीवनमा राजतन्त्र पुनः फिर्ता भए पनि, गणतन्त्र यथावत् रहे पनि खासै तात्विक असर नपार्ला । तथापि आम नेपाली जनताका दुई दशकअगाडिदेखि साँचिएका सपना पूरा गर्ने हिम्मत र प्रभावकारी कुनै योजना भए मात्र पूर्वराजाले सक्रिय राजनीतिमा आए हुन्छ, होइन भने सक्रिय राजनीतितिरको बाटोबाट हिँडेर गन्तव्यमा पुग्न धेरै कठिन मात्र होइन कि असम्भव नै हुनेछ ।

विगतमा आम नेपाली जनताबाट त्यति धेरै मायाममताका साथ जोगाइएका र सम्मानितसमेत भएका हाम्रा नेताहरुलाई आजका जनताले ठाउँ–ठाउँबाट लखेटिरहेका छन् । आम जनताको यो लखेटाइबाट पनि आजित नभएका नेतागण अझै पनि पापकर्मकै योजनामा लागेका छन् । अन्त्यमा यिनीहरुको अवसान आम जनताले गराउनुपर्ने दिन आउँछ कि भनेर अपेक्षा गरिएको छ । यिनीहरु अहिले आम जनताबाट यति धेरै तिरस्कृत हुन पुगेका छन् कि बयान गरेर साध्य छैन । यदि अहिलेको अवस्थामा कुनै काकताली परेर पूर्वराजा सत्तामा आउने वा अरु कसैलाई राजा बनाएर आफूले उत्तराधिकारी बनी शासन चलाउने प्रयास गरेर अहिलेका नेताजस्तै सर्वत्र असफल भएर आम जनताबाट तिरस्कृत हुनुपरेका खण्डमा आजको भन्दा चौगुना बढी मान्छेबाट तिरस्कृत हुनुको विकल्प रहने छैन ।

पूर्वराजा राजनीतिमा सक्रिय भएरै आए पनि र आम चुनावको मैदानमा भिड्न खोजेर हारेको खण्डमा पूर्वराजाको अहिलेको तुलनामा तीन गुना बढी तिरस्कृत हुनुपर्ने दिन आउनेछ । राज्यसत्तामा आएपछि आफ्ना कार्यकर्तालाई जसरी भए पनि खुशी बनाउनुपर्ने बाध्यता पूर्वराजाको मात्र होइन अहिलेको नेताको पनि बाध्यताकै विषय बनेको थियो । आफ्ना कार्यकर्ता सन्तुष्ट पार्नको लागि आफ्नो व्यक्तिगत ढुकुटीबाट भन्दा देशको ढुकुटीबाट सम्पत्ति बाँडेर क्रमशः देश खोक्रो बनाउँदै लैजाने रणनीति अपनाउन बाध्य हुनुपर्नेछ । यसो गर्दा पुनः देशको विकासमा गम्भीर असर पर्ने हुनाले पुनः देशको आर्थिक अवस्था खस्कँदै जाने क्रम अगाडि बढिरहेको हुन्छ ।

त्यति मात्र होइन कि आर्थिक अवस्था कमजोर भएसँगै समग्र देश नै टाट पल्टने अवस्थामा पुग्न थाल्दछ । पूर्वराजाका वा भनौँ नेताका कार्यकर्ता जोसुकै पनि केही थोरैलाई छोडेर सबैजसो आवसरवादी बन्न पुग्दछन् । यस्ता अवसरवादी कार्यकर्ताका भरमा चलेको शासन पनि सफल बन्दैन । शासक नै सफल बन्दैन भने उसले कसरी सफल र सुशासन दिन सक्ला त ? भन्ने कुरा पनि यस विषयको परिधिक्षेत्र हो ।

यसरी पूर्वराजा असफल भएको दिन के हुने हो भन्ने कुरो कसैले अन्दाज गर्न सकिने कुरो होइन । यदि यी विषयवस्तुको सम्बोधन नगरेरै सत्तामा जान खोज्ने र असफल बन्दै जाने लक्षण देखिएको खण्डमा जनआक्रोशको सिकार बनेर, डराउँदै बस्नुपर्ने दिन अवश्य आउनेछ । संसारमा हेर्ने हो भने पहिले करोड जनको आस्थाको केन्द्रसमेत रहेको राजसंस्था पछि गएर आफ्नो कर्तव्यमा चुक्न जानाले गर्दा ठूलो मूल्य चुकाउनुपर्ने अवस्थाबाट गुज्रन थाल्दछ ।

यो अवस्थामा आम जनताले राजालाई कुनै हालतमा पनि छोड्ने छैनन् । त्यसकारण त्यो खराब दिनको विचार गर्दै कि त आम जनतालाई अहिलेको राजनीतिक, आर्थिक परिवेशबाट नितान्त भिन्न र उन्नशील बाटोमा हिँडाउन सक्छु भन्ने मानसिक क्षमता र तरिका रहेको छ भने मात्रै, नत्र सत्ताको लोभ गरेर आफ्नै नाम कमाइको होस् कि धन कमाइको अभिप्सा पूरा गर्नको लागि सक्रिय राजनीतिमा आउनु हाललाई वाञ्छनीय हुने देखिँदैन । आज पाउमा निहुँरन आउनेहरु पनि उनीहरुले सोचेअनुसारको भाग पाएनन् भने स्वच्छ मनले सघाउने कुरामा दोधारमा परेर रहन्छन् ।

पूर्वराजा यदि आउने र पुनः सक्रिय राजतन्त्रका शासक बन्ने हो भने सबै राजनीतिक दल र त्यसमा पनि तीन ठूला राजनीतिक दलको पूर्ण समर्थन र सहयोग अनिवार्य चाहिनेछ । उनीहरुसँग शत्रुता मोलेर सत्तामा आएको खण्डमा निकै ठूलो विद्रोह हुन सक्ने पनि सम्भावना अन्दाज गर्न सकिन्छ । यतिका वर्ष विभिन्न राजनीतिक दलका नेता र कार्यकर्ताले धेरै खाएर पनि पचाउन सके भने अब देशको ढुकुटीमा हालीमुहाली गर्ने मेरो पालो भन्ने भावनाले सक्रिय राजनीतिमा आउन चाहेका खण्डमा त्योभन्दा ठूलो भूल केही हुनेछैन ।

अबको राजनीतिमा पूर्वराजाको आगमन अनि सुशासन पनि भनेर भन्ने वाक्यांशले भनेजस्तै भैदिए त सत्तामा आए पनि खासै केही हुने थिएन । अबको राजनीतिमा वर्तमानमा सत्ताको कुर्सीमा बस्नेहरुले नै आफूलाई सुधारेर, ऐनामा राम्ररी अनुहार हेरेर मात्र आउनुपर्ने हुन्छ र सुधारको बाटोमा हिँड्न र हिँडाउनसमेत सक्षम हुनुपर्ने हुन्छ ।

यदि त्यसो गर्न सकेनन् भने पनि राजतन्त्र इतरको अर्को राजनीतिक दलको जन्म भएर पुनः राजनीतिलाई सही मार्गमा दौडाउन सकेर मात्र विश्राम लिनुपर्ने हुन्छ । अबका दिनमा एक नेताले अर्को नेताको गाँड कोराकोरको राजनीतिलाई तिलञ्जलि दिएर सद्भाव, सहयोग, सहकार्यको राजनीति अगाडि बढाउन सक्नुपर्ने हुन्छ । नत्र नेपाल नामको देश असफल देशको सूचीमा सूचीकृत भएर जान केही बेर लाग्नेछैन ।

सबैलाई चेतना यो होस् कि देशको अस्तित्व सङ्कटमा पारेर कोही पनि सुरक्षित रहन सक्ने सम्भावना निकै कम हुन्छ । हाम्रा नेतागणलाई पनि त्यस्तो दिनले छुन नपाओस् । आज हामी जनताले जति तिरस्कार गरे पनि दशबर्से युद्धकालमा हामी आम नेपालीले माया गरेर उनीहरुलाई सम्भावित विभिन्न दुर्घटनाहरुबाट जोगाएका थियौँ । त्यस गुनको बदला नेताले तिरेरै छोड्नुपर्ने बाध्यता हुनेछ । तर राजतन्त्र सक्रिय वा निष्क्रिय जस्तो भए पनि अबका दिनमा स्थापित हुनु वाञ्छनीय हुनेछैन ।