आफन्तलाई खबर नगर्दा ‘बाटो र जंगलमा’ बच्चा जन्माउन बाध्य 

 सुत्केरीको पहुँचमा छैनन् बर्थिङ्गसेन्टर 

0
Shares

बाजुरा। 

बाजुराको बुढिनन्दा नगरपालिका वडा नं ४ कुरुकी पानसरा रोकायाले  मंगलवार विहान बाटामै बच्चा जन्माएकी छन् ।  ३१ बर्षीया रोकायाले  तेस्रो सन्तानका रुपमा छोरीलाई बाटोमै जन्म दिएकी हुन् । मंगलवार विहान सुत्केरी व्यथा लागेर आधारभूत स्वास्थ्य केन्द्र कुरु जाँदै गरेकी पानसराले बाटोमै बच्चा जन्माएको स्वास्थ्य केन्द्र कुरु प्रमुख धर्मा चदाराले बताइन् ।

आफू स्वास्थ्य चौकी जाँदै गर्दा बाटो नजिकैको खेतमा छटपटाइरहेको अवस्थामा फेला पारेपछि उहाँलाई सहयोग गरेका हौ । अत्याधिक रक्तस्राव भइरहेको अवस्थामा पानसरालाई फेला पारेपछि आफूले स्वास्थ्य संस्था लिने प्रयास गरेका थियौं तर, बच्चा जन्मिने बेला भैसकेको हुँदा त्यही बाटोमै बच्चा जन्मिन पुगेको उनको भनाई छ ।

पानसरालाई अत्याधिक रक्तश्राव भइरहेको थियो,उहाँको पेटमा बच्चा पनि ४ केजीको रहेछ, बच्चा जन्माइसके पनि श्वास नै फेरिरहेको थिएन, साल बेरेर बच्चा निस्सासिएको थियो, मलाई त डर लागेको थियो तर मैले आमा र बच्चा दुवैलाई बचाउन सफल भए उनले भनिन् । पानसरासँग फेर्नलाई कुनै कपडा थिएन, साथमा रहेको सानो छोरा रोइरहेको थियो।  आफूसँग पनि केही थिएन तर अरुसँग मागेर काम चलाए उनले भनिन्  ।

यो भन्दा पहिलाका दुईवटा सन्तान एक छोरा र एक छोरीलाई पनि काम गर्न गएको बेला बाटो र जंगलमा जन्म दिएकी उनले अहिले पनि तेस्रो सन्तान बाटोमै जन्माएको चदाराले बताइन् । मंगलवार बिहानै सुत्केरी व्यथा लागेर एक्लै स्वास्थ्य संस्था जाने क्रममा बाटोमै छोरी जन्माएको उनको भनाइ छ । चदाराले बाटोबाट उद्धार गरेर स्वास्थ्य चौकी लगेको बताइन्  ।उनीसँग अरु कोही आफन्त नरहेको एक्लै स्वास्थ्य चौकी आउँदै गर्दा बाटोमा बच्चा जन्माएको भनाई छ ।

 बुढिनन्दा वडा नं ४  सिमकुरुबाट कुरुस्थित  बर्थिङ्गसेन्टर जानेक्रममा बाटोमै बच्चा पान्सराले  जन्माईन्। आठ पटक गर्भाजांच गर्दा  गर्भ अवस्थाका सबै प्रक्रिया पूरा गरेकी छिन्। मंगलवार  विहान चार बजे बेथा लागे उनले श्रीमान्लाई भनिन् । उनका पति बिहानै मेलापात गए ।   उनको घरमा आफन्तजनलाई सम्पर्क नगर्दा छ वर्षे बालक घरमा  उनी छोडेर एक्लै हिडिन् । उनीसंग स्वास्थ्यकर्मीको फोन नम्मर पनि थियो । तर, मिस नम्मर रैछ अन्ततः स्वास्थ्यकर्मी कुदेर जांदा बाटोमै बच्चा जन्माउनुपर्ने अवस्था आयो। स्वाथ्य सुरक्षा भन्दा पनि बाजुराका अधिकांस महिला सुत्केरी भत पाउनेआसमा मात्र स्वास्थ्य संस्थामा आउने गरेको   बुढिनन्दा स्वास्थ्य शाखा प्रमुख ओम शाहीको भनाई छ ।

कुरुबाट कोल्टी स्थित  पि एच सीमा आइपुग्न स्वस्थ मान्छेलाई चार घण्टा लाग्छ बिरामीलाई दिन भर लाग्छ। कच्ची बाटो निर्माण गरिएको भएपनि गत वर्षमा भत्किएको छ। हामी बाटो मर्मतको क्रममा छौं । बुढिगनन्दा नगरपािलकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष साहले बताए।  मासिक  ४ लाख रुपैंया दिएर कोल्टी पिएच सीमा एम डि जिपि  डाक्टर छन् ।  सिएस गराउनकै लागि मासिक  एकलाख रुपैंया दिएर  महिला स्वास्थ्य कर्मीको व्यवस्था गरेका छौ । गत वर्ष देखि  हाल सम्म ३२ वटा सुत्केरीको सिएस गरेका छौं। तरपनि सुत्केरीहरुलाई स्वास्थ्य संस्थामा बच्च जन्माउनुपर्छ भन्ने विस्वास छैन। सिएस गर्नुपर्छ भने धार्मिक तथा प्रम्परागत रुढिवादीका कारण सिएस गराउन मान्दैनन् प्रमुख साहको भनाई छ।

बाजुरामा पानसरा मात्र नभई धेरै आमाले बाटोमा बच्चा जन्माउने गरेका छन् । केही महिना पहिला काँडा निवासी ३२ वर्षिय उज्जली सुनारले बाटोमै छोरी जन्माएकी थिइन्  ।  बाजुराको गौमुल गाउँपालिका ३ माँझपालि बस्ने २१ बर्षिय भाँग्य चदारा, हिमाली गाउँपालिका १ को बामु बस्ने नानी रोकायाले बाटोमै बच्चा जन्माए । सुत्केरी व्यथा लागेपछी ३ घण्टा टाढा रहेको बामु आधारभूत स्वास्थ्य सेवा केन्द्रमा लग्दै गर्दा बाटामै बच्चा जन्माइन्  । स्वास्थ्य संस्था टाढा भएकाले लादै  गर्दा उनले बाटोमा बच्चा जन्माउनु परेको हो । त्यस्तै हिमाली गाउँपालिका २ नातिखोला बस्ने २३ बर्षिय पार्वती बुढाले स्वास्थ्य चौकी आउने बेला बाटोमै बच्चा जन्माइन्  ।

वडा नम्बर १ मा रहेको बिच्छयाँ स्वास्थ्य चौकीमा सुत्केरी सेवा लिन जाने बेला बिच बाटोमै पार्वतीले छोराको जन्म दिएकी थिइन्  । स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटकी ३५ बर्षिय कार्तिका बिकले केही समय पहिला बाटोमा बच्चा जन्माएकी थिइन्  । सुत्केरी व्यथा लाग्ने बित्तिकै आफन्तले स्वास्थ्य केन्द्रमा लिँदै गर्दा ताहाडा खोला नजिकै बाटोमा छोरा जन्माएको हो ।

यी त केही उदाहरण हुन्, बाजुराको दुर्गम गाउँका आमाहरुको बाटोमा र घरमा बच्चा जन्माउने संख्या निकै रहेको स्वास्थ्यकर्मी बताउँछन् । बाजुरामा ४ बर्ष यता १२ जना सुत्केरीको  पनि मृत्यु भइसकेको छ ।

यसरी बाटोमै बच्चा जन्माउनुले गर्भवती भएपछि नियमित गर्भजाँचको कमि र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुगाउदाको परिणाम रहेको स्वास्थ्यकर्मी बताउँछन् । अर्को सुत्केरी भएको बेला आराम गर्नुपर्ने, पोषिलो खानेकुरा खानु पर्ने हुन्छ । आराम र पोषिलो खानेकुरा नखाने र कडा परिश्रम गर्नु पर्दाले सुत्केरी महिलाले ज्यान गुमाउने गरेको पनि भनाइ छ ।