एनसेलद्वारा कानुन र अर्थ व्यवस्थाको धज्जी 

संसद्ले सरकारको धारणा खोज्यो, प्रधानमन्त्रीले जवाफ दिनुपर्ने

0
Shares

काठमाडौं ।

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत सेयर कारोबारका भएको घोटालाप्रति संसदीय समितिहरू तातिएका छन् । बुधबार प्रतिनिधि सभाका सार्वजनिक लेखा समिति र अर्थ समितिको बैठकमा एनसेलको सेयर कारोबारबारे चासो राख्दै तातिएका हुन् ।

सार्वजनिक सञ्चार माध्यममा एनसेलको सेयर कारोबारमा ठूलो चलखेल भएको र राज्यलाई अर्बौं रुपियाँ नोक्सानी भएका समाचार सार्वजनिक भएपछि संसदीय समितिहरूले चासो राख्दै बुधबार दुई समितिको छुट्टाछुट्टै बैठक आह्वान गरिएको थियो । बैठकमा एनसेलको सेयर कारोबारमा देशको प्रचलित नियम कानुनको धज्जी उडाउनुका साथै ठूलो परिमाणमा राजस्व छली र नेपालमा लगानीको वातावरण नभएको जस्ता गम्भीर आरोप लगाइएको भन्दै सांसदहरूले आपत्ति जनाएका थिए ।

त्यस्तै, एनसेलको सेयर कारोबार प्रक्रियालाई यथास्थितिमा राख्न निर्देशन दिँदै यसबारेमा सरकारको थप धारणा बुझ्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले प्रधानमन्त्रीलाई बोलाउने निर्णयसमेत गरेको छ । समितिले यस प्रकरणको विस्तृत अनुसन्धान नहुँदासम्म सेयर खरिद बिक्रीसम्बन्धी कारोबारलाई यथास्थितिमा राख्न निर्देशन दिएको हो ।

लेखा समितिले एनसेलको खरिद बिक्रीबारे ३० दिनभित्र छानबिन पूरा गर्ने गरी तत्काल छानबिन शुरू गर्न सरकारलाई निर्देशनसमेत दिएको छ । एनसेलको कारोबारमा भ्रष्टाचार र अनियमिताको भएको विषय उठेकाले प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्ने तथा एनसेल खरिद–बिक्रीका प्रक्रियालाई तत्काल रोक्न सरकारलाई निर्देशन दिने निर्णय भएको लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सञ्चारकर्मीसँग कुरा गर्दै जानकारी दिनुभयो ।
एनसेलको लगानीकर्ता आजियाटाले नेपालमा लगानीको वातावरण नभएको आरोपमाथि पनि सरकारले आधिकारिक धारणा सार्वजनिक गर्न पनि लेखा समितिले सरकारलाई निर्देशन दिएको छ ।

उता, संसद्को अर्थ समितिले यस प्रकरणबारे बुझ्न एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई छलफलका लागि बोलाउने निर्णय गरेको छ । संसद्हरूले आजियाटाकै सीईओलाई बोलाउनुपर्ने राय दिए पनि कानुनी अड्चनका कारण अहिलेलाई एनसेलका सीईओलाई बोलाउने निर्णय गरिएको हो ।

यसअघि संसदीय समितिलाई नियमक निकाय नेपाल दूरसञ्चार प्राधिकरण, आन्तरिक राजस्व विभाग, कम्पनी रजिस्टर्ड कार्यालयले एनसेलको सेयर कारोबारबारे आफूहरूलाई जानकारी नभएको बताएका थिए । उता, नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई सेयर कारोबार सोधेको प्रश्नमा एनसेलको सेयरधनी रेनोल्ड होल्डिङ लिमिटेडको शतप्रतिशत सेयर खरिद–बिक्री गर्ने सम्बन्धमा आजियाटा यूके र स्पेक्ट्रलाइट यूकेबीचको सेयर खरिदबिक्री सम्झौताका कागजात संकलनका क्रममा रहेको र कागजात संकलनपछि प्राधिकरणसमक्ष सेयर खरिद बिक्री स्वीकृतिका लागि निवेदन पेस गरिने जवाफ पठाएको छ ।
एनसेलमा मलेसियन कम्पनी आजियाटाको स्वामित्वमा रहेको ८० प्रतिशत सेयर बेलायतमा दर्ता गरिएको स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गर्न सम्झौता हुँदा नेपालको विद्यमान कानुनको बर्खिलाप तथा नेपाल सरकारलाई अर्बौं रुपियाँ राजस्व नोक्सान हुने गरी षड्यन्त्र भएको छ ।

दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (८) बमोजिम ५ प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ । त्यस्तै, नेपाल दूरसञ्चार प्राधिकरण विनियमावली, २०७६ को विनियम ४ (क) बमोजिम सेयरधनीको सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था छ । तर, आजियाटाले स्पेक्ट्रलाइट कम्पनी यूके लिमिटेडलाई सेयर बिक्री गर्ने सम्झौता गर्दा कुनै अनुमति लिएको छैन ।

त्यस्तै, सन् २०१६ मा स्विडेनको टेलिया सोनेरा कम्पनीले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर मलेसियन कम्पनी आजियाटालाई १ अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर अर्थात् १ खर्ब ४४ अर्ब ७ करोड रुपियाँमा बिक्री गरेको थियो । तर, सन् २०२३ मा उक्त सेयरको मूल्य ९६ दशमलव ३४ प्रतिशतले घटाएर जम्मा ५ करोड डलर अर्थात् ६ अर्ब ६६ करोड रुपियाँमा बिक्री गर्ने सम्झौता भएको छ ।

छानबिन गरी कारबाही गर्नुपर्छ
अग्निप्रसाद सापकोटा
प्रवक्ता, नेकपा (माओवादी केन्द्र)
एनसेलको सेयर खरिद–बिक्री अस्वाभाविक, जालसाजी र रहस्यमय छ । गठबन्धन दल र सरकारले अध्ययन गर्नुपर्छ । भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै भन्नुभयो– ‘मुलुकलाई घाटा पार्ने खालको काम भएकाले यसलाई छानबिन गरेर कडाइका साथ कारबाही गर्नुपर्छ, यस विषयमा कुनै द्विविधामा छैन ।’

सरकारले नै एनसेल किन्नुपर्छ
योगेश भट्टराई
सचिव, नेकपा एमाले
एनसेलको ८० प्रतिशत सेयर ६ अर्बमा बिक्री भएको कुरा शंकास्पद छ । लेखा समितिको बैठकमा धारणा राख्दै भट्टराईले भन्नुभयो– ‘यदि कम्पनी टाट पल्टिएको हो भने बिक्री भएको भनिएको मूल्यमा ५० करोड थपेर सरकारले खरिद गर्नुपर्छ । अत्यन्तै कम मूल्य सेयर बिक्री गर्ने सम्झौता गरिएकाले त्यो सरकारले नै किनेर नेपाल टेलिकम मोडेलमा सञ्चालन गरौँ । हाम्रा कानुन प्रस्ट छैनन् भने कानुन प्रस्ट बनाऔँ ।’ एनसेलमा नेपालका बैंकले ४० अर्बभन्दा बढी लगानी गरेका छन् । सो कम्पनीले यसरी सेयर बेच्दै आफू घाटामा भएको, डुबेको घोषणा गरे नेपालका बैंक डुब्ने र बैंक डुब्दा नेपाली जनता डुब्छन् ।


एनसेल घटना दोहोरिन दिनुहुँदैन
ज्ञानेन्द्रबहादुर कार्की
केन्द्रीय सदस्य, नेपाली कांग्रेस

एनसेलको सेयर खरिद प्रकरण गम्भीर छ । अर्थ समिति बैठकमा बोल्दै कार्कीले भन्नुभयो– ‘आगामी दिनमा एनसेलको जस्तो घटना दोहोरिन दिने गरी समस्या समाधानका लागि सधैंका लागि अन्त्य गर्नुपर्छ । लगानीमैत्री वातावरण र सन्तुलित आर्थिक विकासबिना मुलुक समृद्धिको दिशामा जान सक्दैन ।’


नेपालको लगानी प्रभावित
डा. स्वर्णिम वाग्ले
उपसभापति, रास्वपा

नेपालमा लगानीको वातावरण नभएको भन्ने आजियाटाको भनाइले नेपालको लगानीमा प्रभाव पार्ने सक्छ । अर्थ समितिको बैठकमा बोल्दै वाग्ले भन्नुभयो– ‘सरकारले वैशाखमा लगानी सम्मेलनको तयारी गरिरहँदा आजियाटाले नेपालमा वातावरण छैन भनेर धारे हात लगाएर गयो, आजियाटाको सीईओसँग प्रस्टीकरण लिनुपर्छ । एनसेलबाट नेतादेखि पत्रकारसम्मले अनुचित लाभ लिएका छन् । नेपालको वैदेशिक लगानी हस्तान्तरण ऐन र दूरसञ्चार ऐन विदेशी बाझिएको छ ।’

कागजात संकलनका क्रममा छौं : एनसेल

एनसेलको सेयरधनी रेनोल्ड होल्डिङको शतप्रतिशत सेयर खरिद–बिक्री गर्न आजियाटा यूके र स्पेक्ट्रलाइट यूकेबीचको सेयर खरिद बिक्री सम्झौताका कागजातहरू संकलनका क्रममा छन् । कागजात संकलनपछि प्राधिकरणसमक्ष स्वीकृतिका लागि पेस गरिने छ ।

नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको सेयर खरिद बिक्री विनियमावली, २०७६ को विनियम ५ मा उल्लिखित कागजातहरू संकलन हुनासाथ दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (१) (ट) र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको सेयर खरिद बिक्री) विनियमावली, २०७६ को विनियम ४ (क) बमोजिम प्राधिकरणसमक्ष सेयर खरिद बिक्री स्वीकृतिका लागि निवेदन पेस गर्ने गरिने छ ।