सप्ताहको चौथो दिन १८ लाख संकलन

पनौतीको गुरुकुल निर्माणार्थ संकलित सबै रकम सहकारीमा

बैकका कर्मचारीले सेवा दिन नसक्ने बताएपछि सहकारीमा राखेको सचिवालयको भनाई



काभ्रे, पनौती । 

शचीतीर्थ त्रिवेणी गुरुकुलको भौतिक संरचना निर्माणार्थ आयोजित श्रीमती भागवत सप्ताह ज्ञान महायज्ञ बाट संकलन भएको सबै रकम सहकारीमा जम्मा गरिएको बताइएको छ । महायज्ञको चौथोदिन मंगलबार १८ लाख रुपैयाँ संकलन भएको बताउँदै आयोजक समितिका सचिवालय प्रमुख रामकुमार बस्नेतले पहिलो दिन देखि नै सङ्कलित सबै रकम सहकारीमा जम्मा गरेको जानकारी दिएका छन् ।

गुरुकुल निर्माणार्थ महायज्ञको पहिलो र दोस्रो दिन ३० लाख रुपैयाँ संकलन भएको तथा तेस्रो दिन ७ लाख रुपैयाँ संकलन भएको बताउँदै सचिवालय प्रमुख बस्नेतले सबै रकम पनौतीमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरिएको बताएका हुन् । पछिल्लो समय सामुदायिक सहकारीका संचालकहरुले तलब भत्तामा गरेको खर्चको आलोचना हुँदै आएको छ ।

‘सप्ताहमा बिहान सबेरै देखि राती अबेर सम्म भत्तजनहरु चन्दा दान गर्न आइरहेका हुन्छन्, सङ्कलित रकम लिन सप्ताहस्थल इन्द्रेणी मन्दिर  परिसरमै सहकारीका कर्मचारी आउछन’ सचिवालय प्रमुख बस्नेत भन्छन्– बैकमा रकम जम्मा गर्न खोज्दा बैकका कर्मचारीले सप्ताह स्थलमा आएर सेवा दिन नसक्ने बताए । शचीतीर्थ त्रिवेणी गुरुकुलको संस्थागत खाता नेपाल बैक पनौती शाखामा रहेको बस्नेतको भनाई थियो ।

हाल विभिन्न कारणले देशभरका अधिकांश सहकारी संस्थाहरु समस्याग्रस्त भइरहेको सन्दर्भमा दैनिक लाखौँ रकमको कारोबार बैक मार्फत नगरी सहकारी मार्फत किन गरेको भन्ने प्रश्नमा सचिवालय प्रमुख बस्नेत भन्छन्– हामी सप्ताह सकिएपछि सहकारीबाट झिकेर बैकमा  राख्छौँ । गुरुकुल निर्माणार्थ आयोजित सप्ताहाको चौथो दिन पनौती ५ निवासि स्व. गोपाल बहादुर थापाको स्मृतिमा ओम कुमारी थापा परिवारबाट ५ लाख ५५ हजार प्रदान गरिएको थियो भने पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको पत्नी चम्पा भण्डारीबाट  १ लाख ११ हजार प्राप्त भएको गुरुकुल सचिवालयले जनाएको छ ।

मंगलबार पत्रकार महासंघ काभ्रे शाखाका पूर्व सभापति तथा पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापाले १ लाख ११ हजार, पण्डित कृष्ण प्रसाद भट्टराइले १ लाख १ हजार,  कृष्ण थापा र सरिता थापाले १ लाख १ हजार, जय बहादुर बस्नेत र नानीमैया बस्नेत बाट ५१ हजार, ई. सुमन थापाबाट ५१ हजार प्राप्त भएको सचिवालयले जनाएको छ ।

शचीतीर्थ त्रिवेणी गुरुकुलमा देशका विभिन्न भागबाट आएका  २८ जना बटुकले शिक्षा दिक्षा लिइरहेका छन् । यो गुरुकुल विगत दुईवर्ष देखि त्रिवेणी घाटको सत्तलमा सञ्चालन भइरहेको छ । आफ्नै भवनमा सुविधा सम्पन्न भवन निर्माण गरी अझ व्यवस्थित तरिकाले गुरुकुल सञ्चालन गर्न पनौती ६ स्थित गोरखनाथ डाँडामा भवन निर्माण भइरहेको छ । गुरुकुलको सिद्धान्त अनुसार पाठशाला, धर्मशाला, गौशाला लगायत आठशाला नै बनाउने उद्देश्यले गोरखनाथमा भवन निर्माण सुरु गरिएको बताइएको छ ।

पनौती ६ गोरखनाथ डाँडामा निर्माणाधीन गुरुकुलको पहिलो भवन अन्तिम चरणमा पुगेको छ । लम्बाई ८० फिट र चौडाइ २० फिटको दुईतले भवनलाई सुर्की चुना लगायत कलात्मक तरिकाले रंगरोगण गरिदैछ , साथै शौचालय निर्माण कार्यपनि भइरहेको छ । गुरुकुल निर्माण भइरहेको गोरखनाथ डाँडामा चन्दा संकलन गरेरै गणेशको मूर्ति  पनि स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्