दोलखाको विद्यालयहरुलाई जेम्स ग्रुपको सहयोग



दोलखा। 

जेम्स ग्रुप सर्भिस एजुकेशन कन्सल्टेन्सी काठमाडौँले दोलखाको भीमेश्वर नगरपालिकामा रहेका विभिन्न पाँच वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला, पोशाक लगायत शैक्षिक सामग्रीहरु वितरण गरेको छ ।

भीमेश्वर नगरपालिका वडा नम्बर ६ र ७ मा रहेका पाँच वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि जेम्स ग्रुप सर्भिस एजुकेशन कन्सल्टेन्सी काठमाडौँका प्रोप्राइटर कलराज थापा, बिबुध लँुईटेल, सुबोध रेग्मी र लक्ष्मी जोशीले जाडो मौसममा प्रयोग गरिने ट्रयाकशुट, स्वयटर, पञ्जा, मोजा, टोपी, स्टेशनरी, स्कूल ब्याग र खाजा सेट समेत सात लाख बराबरको सामग्री प्रदान गरेको स्थानीय बाल अधिकारकर्मी एवं सामाजिक अभियन्ता राजन बस्नेतले बताए ।

जेम्स ग्रुप सर्भिस एजुकेशन कन्सल्टेन्सी काठमाडौँले उक्त सामग्रीहरु भीमेश्वर नगरपालिका वडा नम्बर– ७ को हरिकीर्तन आधारभूत विद्यालय, कुप्रिडाँडा आधारभूत विद्यालय र वीरेन्द्र आधारभूत विद्यालय तथा वडा नम्बर– ६ को महाङ्काल आधारभूत विद्यालय र अल्पाइन पब्लिक स्कुलका सम्पूर्ण विद्यार्थीहरुलाई उपलब्ध गराएको बस्नेतले बताए ।

जेम्स ग्रुप सर्भिस एजुकेशन कन्सल्टेन्सी काठमाडौँका प्रोप्राइटर एवं नेपाली कांग्रेस दोलखाका पूर्व कोषाध्यक्ष कुलराज थापाले आफु भीमेश्वर नगरपालिका वडा नम्बर– ७ कुप्रिको स्थानीय समेत भएकोले दोलखाको ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई अध्ययनमा थोरै भएपनि सहयोग पुगोस भन्ने उदेश्यले कन्सल्टेन्सी मार्फत सकेको सहयोग गरेको बताए । प्रोप्राइटर थापाले दोलखाका विभिन्न विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको लागि आगामी दिनमा कन्सलटेन्सीको तर्फबाट छात्रवृत्ति उपलब्ध गराउने र देश– विदेशमा अध्यनको लागि समन्वय गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

केही समय अघि पनि जेम्स ग्रुप सर्भिस एजुकेशन कन्सल्टेन्सी काठमाडौँले भीमेश्वर नगरपालिकामा रहेका दुई वटा सामुदायिक विद्यालयलाई १० थान कम्प्युटर उपलब्ध गराएको जनाएको छ ।

त्यसैगरी जेम्स ग्रुप सर्भिस एजुकेशन कन्सल्टेन्सी काठमाडौँका प्रोप्राइटर कुलराज थापाले भीमेश्वर नगरपालिका वडा नम्बर– ६ मा रहेको आमाको माया छात्रावासका विद्यार्थी र वडा नम्बर– ५ मा रहेको गौरीशङ्कर बालगृहका विद्यार्थीहरुको लागि समेत स्कूल ब्याग, शैक्षिक सामग्री र खाजासेट उपलब्ध गराएको सामाजिक अभियन्ता राजन बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्