धुलिखेलले गर्‍यो  ६९ जना स्वयंसेविकालाई सम्मान 



काभ्रे।

२० औं  महिला सामुदायिक स्वास्थ्य स्वंय सेविका दिवस धुलिखेल नगरपालिकाले विविध कार्यक्रमका साथ मनाएको छ । सोही अवसरमा नगरपालिकाका १२ वटा वडाहरुमा कार्यरत महिला स्ववंसेविकाहरुलाई सम्मान गरेको छ ।

६९ जना महिला स्वयं सेविकाहरु नगरपालिकामा कार्यरत छन् । नगरपालिकाले उनीहरुलाई सम्मान गर्दै स्थानीय स्तरमा स्वास्थ्य क्षेत्रमा भएका अभ्यास, प्रयास र धुलिखेल नगरपालिकालाई स्वस्थ नगर बनाउने अभियानमा उनीहरुले खेलेको भूमिकाका बारेमा चर्चा गरेको थियो । नगरपालिकाले हरेक नागरिकहरुको प्रोफाईल तयार गर्दै स्वस्थ नागरिक र स्वस्थ नगर बनाउने अभियान सुरु गरेको आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखा प्रमुख सन्दीप केसीले बताए ।

महिला स्वास्थ्य स्वयंसेविका मार्फत विभिन्न सचेतना मूलक कार्यक्रमहरु, राष्ट्रिय, अन्तर्राष्ट्रिय अभियानहरु र स्थानीय तहले जारी गरेका अभियानहरुलाई सफल भएको सहभागीहरूले बताए । लैङ्गिक हिंसा विरुद्धको अभियानका क्रममा महिला स्वास्थ्य स्वंयसेविकाहरुले गरेको भूमिकाको चर्चा गर्दै आगामी दिनमा हुन सक्ने हिंसा न्यूनीकरण गर्न, मातृ तथा बाल मृत्युदरलाई शून्य बनाईराख्न उनीहरूको सक्रियता आवश्यक रहेको बताइएको थियो ।

कार्यक्रममा धुलिखेल नगरपालिका उपप्रमुख नीराजन जंगम, सामाजिक विकास समिति संयोजक गणेश आचार्य, स्वास्थ्य कार्यालय काभ्रेका प्रुमख अनिता दाहाल, धुलिखेल नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु पुज काफ्ले, सन्दीप केसी, सरोज थापा तथा जनप्रतिनिधिहरु, स्वास्थ्य शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रम स्वास्थ्य शाखाका कृष्ण आलेले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्