मनाङमा भारी हिमपात, जनजीवन कष्टकर



देशैभर मौसम प्रतिकूल बनेसँगै विकट जिल्ला मनाङमा भारी हिमपात भएको छ । यस समयलाई मनाङमा हिमपात हुने अनुकूल समय मानिन्छ । कात्तिक अन्तिम सातादेखि मङ्सिरको पहिलो साताबाट यहाँ हिमपात हुने समय हो । गतवर्ष हिमपात हुने समयमा पनि हिमपात हुन सकेको थिएन । यसवर्ष समयमा नै हिमपात हुँदा कृषकमा खुसी छाएको छ ।

चिसोले जनजीवन कष्टकर बने पनि समयमा हिमपात हुँदा खेतीपातीका लागि टेवा पुग्नेछ । हिमपात भएपछि स्थानीयमा खेतीपातीका लागि पानी सिञ्चित हुने भएकाले उनीहरु खुसी भएका हुन् । यस समयमा परेको हिउँ फागुन, चैत्रसम्म रहने भएकाले सिंचाईका लागि पानी बोटबिरुवाको जरासम्म पुग्ने हुन्छ । हिमपात भएपछि यहाँ आवतजावत र दैनिक कामकाज गर्न सकस भएको छ ।

प्रमुख जिल्ला अधिकारी सुवास कुमार लामिछानले हिमपातका कारण जनजीवन कष्टकर भएको बताउनुभयो । उहाँले हिमपात जारी रहेकाले पर्यटक, स्थानीयवासी, कर्मचारी, कामदारलाई सचेत रहन आग्रह गर्नुभएको छ । सदरमुकाम चामेसम्म भारी हिमपात भइरहेको छ भने नासों गाउँपालिकाको डाँडाकाँडामा हिमपात भएको छ । हिमपात भएपछि यहाँका स्थानीय, पर्यटकलगायत सबै घरभित्र बस्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्