सिंहदरबार बेखबर !

वीरगञ्जबाटै भित्रिन्छ अवैध मालसामान


–कसरी आयो १८ हजार लिटर रूसी मदिरा ?
–केही व्यापारी र बिचौलियाद्वारा कर्मचारीसँग सेटिङको प्रयास
–छानबिन गर्न भन्सारलाई अख्तियारको ताकेता
काठमाडौं  ।

वीरगञ्जस्थित सुक्खा बन्दरगाहबाट ठुलो परिमाणमा अवैध रूपमा मदिरा, सुपारी, छोकडा, मरिच भित्रिरहँदा समेत त्यस्ता अवैध कार्यलाई रोक्ने मुख्य जिम्मेवारीमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थ मन्त्रालयजस्ता निकायहरू बेखबरजस्तै देखिएका छन् । विगत केही महिनादेखि वीरगञ्जस्थित सुक्खा बन्दारगाह हुँदै सुपारी, मदिरा, छोकडा, मरिचजस्ता मालसामानहरू अवैध रूपमा तेस्रो मुलुकबाट नेपाल भित्रने र सेटिङमा तस्करी हुने क्रम बढिरहेको छ । स्रोतका अनुसार अहिले पनि त्यहाँ तस्करी गरेर ल्याइएको सुपारी ३० देखि ४० ट्रकसम्म रहेको बताइन्छ । यसै गरी प्रतीतपत्र (एलसी) नै नखोली अवैध रूपमा ल्याइएको झण्डै १८ हजार लिटर रूसी मदिरासमेत सेटिङ गरेर तस्करी गर्ने प्रयास भइरहेको स्रोतको दाबी छ ।

यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले आवश्यक छानबिन गर्न भन्सार विभागलाई निर्देशन दिएको छ । अख्तियारको निर्देशनपछि मात्रै भन्सार विभागले वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा राखिएका अवैध मालसामानहरूका बारेमा छानबिन थालेको जनाएको छ । अख्तियारका एक अधिकारीका अनुसार भन्सार विभागको नेतृत्वलाई बारम्बार निर्देशन दिएपछि मात्रै वीरगञ्ज भन्सारमा ल्याएका तस्करीका मालसामानका बारेमा छानबिन थालिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरूका अनुसार विरगञ्जलगायत विभिन्न भन्सार नाकाबाट तस्करीका सामानहरू आउने क्रम बढ्दासमेत उच्च राजनीतिक तथा प्रशासनिक तहमा त्यसलाई रोक्ने विषयमा कुनै छलफल र वास्ता हुने गरेको छैन । त्यसै गरी अर्थ मन्त्रालयले समेत यस विषयमा कुनै चासो दिएको देखिँदैन । प्रधानमन्त्री कार्यालय तथा अर्थ मन्त्रालयलमा दैनिकजसो विभिन्न विषयमा कैयौं बैठकहरू हुने भए पनि मुलुकमा हुने तस्करी, राजस्व छली र त्यसलाई रोक्ने प्रभावकारी उपायको बारेमा कुनै छलफल नै नहुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले बताए ।

ती अधिकारीले नेपाल समाचारपत्रसँग भने – ‘तस्करी रोक्ने र राजस्व छली रोकेर राजस्व वृद्धि गर्ने विषय राजनीतिक र प्रशासनिक नेतृत्वको प्राथमिकतामा पर्दैन । त्यसैले त्यस्तो विषयमा गम्भीरतापूर्वक छलफल हुने गरेको छैन ।’ प्रत्येक महिना मुख्य सचिव डा. वैकुण्ठ अर्यालको अध्यक्षतामा बस्ने सचिव बैठकले पनि तस्करी रोक्ने र राजस्व छलीका विषयलाई खासै प्राथमिकता दिन सकेको देखिँदैन ।

अर्थ मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले भने अवैध सामानको तस्करी रोक्न आवश्यक उपायहरू अवलम्बन गरिएको दाबी गर्नुभयो । उहाँले वीरगञ्ज सुक्खा बन्दरगाहमा थुप्रिएर रहेका पुराना मालसामानहरू ‘क्लियर’ गर्न आवश्यक निर्देशन दिइएको बताउनुभयो । घिमिरेले विभिन्न समयमा हुने तस्करी रोक्न समेत भन्सार विभागलाई बारम्बार निर्देशन दिने गरिएको दाबी गर्दै सोअनुसार भन्सार विभागले आवश्यक टोली परिचालन गरेको बताउनुभयो ।

भन्सार विभाग आफैंले पनि वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा अवैध मालसामान आएको विषयलाई स्वीकार गरेको छ । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले ड्राइपोर्टमा भित्रिएका अवैध मालसामान बारेमा छानबिन गर्न आवश्यक टोली बनाइएको र छानबिन शुरू गरिएको जानकारी दिनुभयो । उहाँले अवैध रूपमा सुपारी, मदिरा भित्रिएको भन्ने सूचना विभागमा पनि आएको र त्यस्ता अवैध मालसामान बरामद गरिने दाबी गर्नुभयो । स्रोतका अनुसार वीरगञ्ज भन्सारस्थित सुक्खा बन्दरगाहमा ल्याइएका अवैध सुपारी, मदिरा, छोकडा, मरिचलगायतका वस्तुहरू केही व्यापारी र बिचौलियाले कर्मचारीसँग नै सेटिङ गरी तस्करी गर्ने प्रयास गरिरहेको बताइन्छ । तस्करी हुने सम्भावना बढेसँगै यस विषयमा अख्तियारले समेत आवश्यक निगरानी गरिरहेको अख्तियार स्रोतले जानकारी दिएको छ ।