पाण्डेको नेतृत्वमा अमेरिकामा मुक्तिनाथ मन्दिर



सनफ्रान्सिस्को, अमेरिका । 

अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सनफ्रान्सिस्कोको बे एरियामा मुक्तिनाथ मन्दिर सञ्चालनका लागि समाजसेवी अनिल पाण्डेको नेतृत्वमा कार्यसमिति गठन भएको छ ।

मुक्तिनाथ  कर्पोरेशनको आइतबार बसेको साधारण सभाले समाजसेवी पुरानो संस्था मदरल्याण्ड नेपालका अध्यक्ष पाण्डेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । अध्यक्ष चयन भएपछि पाण्डेले भने, ‘मन्दिर निर्माण तथा सञ्चालन यस क्षेत्रमा बसोबास गर्ने हजारौँ नेपालीको अभीष्ट थियो, यस पवित्र तथा पुण्य कार्यका लागि मलाई अध्यक्ष चयन गर्ने सबै महानुभावप्रति मेरो हार्दिक नमन छ ।’

सञ्चालक समितिको पहिलो बैठकपछि आइतबारै मन्दिरमा भजनकीर्तनका साथ पूजा शुरु गरिएको जानकारी दिंदै पाण्डेले ‘म सबैको इच्छा साकार बनाउने प्रतिबद्धता जनाउँछु’ भनेका छन्।

साधारण सभाले कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पशुपति कँडेल, उपाध्यक्षमा दिक्पाल केसी र महासचिवमा गोपाल आचार्यलाई चयन गरेको छ भने सहसचिवमा जनकराज ढुंगाना, कोषाध्यक्षमा सञ्जीव भट्ट, सहकोषध्यक्षमा गीता रेग्मी एवं बोर्ड अफ डाइरेक्टरमा तेजेन्द्र बराल र भरत अधिकारीलाई चयन गरेको छ ।

नव निर्वाचित कार्यसमितिले यज्ञलाल श्रेष्ठ, बालकृष्ण आचार्य, सुनिता गुरुङ र राजेश थापालाई सल्लाहकारमा चयन गरेको अध्यक्ष पाण्डेले बताए ।
अध्यक्ष पाण्डेले निकट भविष्यमा नेपालकी चर्चित पुराण बाचिका राधिका दासीबाट मुक्तिनाथ मन्दिरमा सप्ताह पुराण लगाउने कार्यक्रम रहेको र नियमित पूजा अर्चना गरिने जानकारी दिए ।

बे एरियामा मन्दिर निर्माण गर्ने अभियानको लागि स्थापना गरिएको मुक्तिनाथ कर्पोरेशनले रिचमण्डको ५८०१ म्याकब्राइटको ठेगानामा रहेको भवन खरिद गरेपछि बे एरियामा मन्दिर बनाउने नेपालीहरुको पुरानो सपना साकार भएको हो ।

सो भवन मुक्तिनाथ कर्पोरेशनले १२ लाख अमेरिकी डलरमा खरिद गरेको थियो।

प्रतिक्रिया दिनुहोस्