पनौतीमा गुरुकुल निर्माणार्थ सप्ताहको तेस्रो दिन सात लाख संकलन



काभ्रे, पनौती ।

शचीतीर्थ त्रिवेणी गुरुकुलको भौतिक संरचना निर्माणर्थ आयोजित श्रीमत् भागवत सप्ताह ज्ञान महायज्ञको तेस्रो दिन सोमबार सात लाख रुपैयाँ संकलन भएको आयोजक समितिका सचिवालय प्रमुख रामकुमार बस्नेतले जानकारी दिएका छन् । पहिलो र दोस्रो दिन ३० लाख रुपैयाँ संकलन भएको बताईएको छ ।

यो गुरुकुलमा देशका विभिन्न भागबाट आएका २८ जना बटुकले शिक्षा दिक्षाा लिइरहेका छन् । यो गुरुकुल विगत दुई वर्षदेखि त्रिवेणी घाटको सत्तलमा सञ्चालन भैरहेको छ । आफ्नै भवनमा सुविधा सम्पन्न भवन निर्माण गरी अझ व्यवस्थित तरिकाले गुरुकुल सञ्चालन गर्न पनौती ६ स्थित गोरखनाथ डाडामा भवन निर्माण भैरहेको छ ।

गुरुकुलको सिद्धान्त अनुसार पाठशाला, धर्मशाला, गौशाला लगाएत आठशाला नै बनाउने उदेश्यले गोरखनाथमा भवन निर्माण शुरु गरिएको हो ।

गुरुकुलका सचिवालय प्रमुख रामकुमार बस्नेतले जानकारी दिए अनुसार सप्ताहको तेस्रो दिन पनौती ९ का जनप्रतिनिधिसमेत रहेका कुमार भण्डारी तथा श्रीमति अञ्जना भण्डारीले १ लाख ५० हजार रुपैयाँ, पनौती २ कुशादेवी निवासि दिपक लामिछानेले १ लाख ११ हजार रुपैयाँ, हाल अमेरिका निवासि पनौती ८ मल्पीका दिपक मग्रान्तीले १ लाख ११ हजार तथा पनौती ६ निवासि हरिशरण कार्कीले स्वर्गिय पिता गेहेन्द्र वहादुर कार्कीको सम्झनामा १ लाख ११ हजार रुपैयाँ दान गर्नु गरेका छन्।

गुरुकुल निर्माणको लागि काभ्रे सेवा समाजका अध्यक्ष प्रल्हाद केसिले ५१ हजार, महासचिव राघव सिं थापाले ५५ हजार सुदिप वञ्जाराले ५१ हजार केशव बस्नेतले ५१ हजार रुपैयाँ, हाल वैदेशिक रोजगारीमा रहेका पनौती ६ का प्रल्हाद कार्कीले ५५ हजार दान गर्नु भएको सचिवालय प्रमुख बस्नेतले जानकारी दिएका छन्।

गोरखनाथमा निर्माणधिन गुरुकुलको पहिलो भवन अन्तिम चरणमा पुगेको छ । लम्बाई ८० फिट र चौडाई २० फिटको दुईतले भवनलाई सुर्की चुना लगाएत कलात्मक तरिकाले रंगरोगण गरिदैछ , साथै शौचालय निर्माण कार्यपनि भैरहेको छ । गुरुकुल निर्माण भैरहेको गोरखनाथ डाडामा चन्दा संकलन गरेर गणेशको मुर्ति पनि स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्