प्रतिभा पलायन कसरी रोक्ने ?



सामान्य भाषामा प्रतिभा पलायन (ब्रेन ड्रेन) भनेको शिक्षित तथा प्रतिभाशाली व्यक्तिहरुको एक ठाउँबाट अर्को ठाउँमा रोजगारी, उच्चशिक्षा, राजनीतिक अस्थिरता, स्वास्थ्य तथा अन्य विविध कारणले गर्दा हुने पलायनलाई भनिन्छ । नेपालजस्तो विकासोन्मुख देशमा प्रतिभा पलायन नौलो होइन । हाम्रै आसपासका दाजुभाइ, दिदीबहिनी र आफन्तहरु अमेरिकादेखि खाडी मुलुकमा आफ्नो प्रतिभा÷श्रम बेचेर घर–परिवार चलाइरहेको जगजाहेर नै छ । नेपालमा शिक्षित र प्रतिभाशाली युवाहरु मात्र नभएर मध्यम र निम्नस्तरका श्रमिकहरु पनि रोजगारी र जीविकोपार्जनका लागि पलायन भएका छन् । जस्तै– रेसुंगा इकोसेल ब्लक उद्योगमा ३ दक्ष र ६ अदक्ष गरी ९ जना कामदारहरु थिए ।

२ वर्षदेखि काम गरिरहेका ३ जना कामदारहरु एकाएक विदेश जाने भनी काम छोडेर गए । नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा बढी नै तलब कमाइरहेका तिनीहरुलाई मैले प्रश्न गरेँ– किन यस्तो गरेको ? उनीहरुको जवाफ मिश्रित थियो । एकजनालाई पहिलाको ऋणले गर्दा घर धान्न मुस्किल भएको, अर्कोलाई दिएको तलब कम भएको र तेस्रोलाई आफ्ना वरिपरिका छिमेकीहरु विदेश गई मनग्य आम्दानी गरिरहेको, त्यसैले जान खोजेको भनी जवाफ आयो । हालचाल पनि मसँगै केही वर्षदेखि काम गरिरहेको एकजना लेखापाल जापान जाने भनी काम छोडेर हिँड्ने तरखरमा छन् । तिनको जवाफ पनि यो देशमा केही नहुने र साथीहरु विदेश गएर धेरै प्रगति गरेकोले आफू कतै पछाडि पर्ने हो कि भन्ने डर थियो । यसरी बढ्दो पलायनले हाम्रो स्थानीय अर्थतन्त्र, धर्म–संस्कृति र जनसांख्यिकीय बनावट नै बिगारेको छ । यस किसिमको पलायनले हाम्रा गाउँघर रित्तिएका छन् । हाम्रै गाउँमा मलामी जान पुरुषको अभावले गर्दा रेसुंगा इकोसेल ब्लक उद्योग यही साल दुईपटक बन्द गर्नुप¥यो । यसरी पलायन बढ्नाले गाउँको अर्थतन्त्र धराशायी हुँदै जाने र गाउँघरहरु वृद्धाश्रममा परिणत हुने खतरा झन्–झन् बढ्दो छ ।
बढ्दो प्रतिभा पलायन नियन्त्रण गर्नका लागि सरकार र समाजले ठूलो भूमिका खेल्नुपर्ने देखिन्छ । यस लेखमार्फत हामी सबै मिलेर के गर्न सकिन्छ भन्ने केही बुँदाहरुमा प्रकाश पार्ने कोशिश गर्नेछु ।

नेपालको प्रतिभा पलायन हुनुमा उचित श्रम सम्मान नहुनु एक प्रमुख कारण हो । नेपालमा श्रम सम्मानमा जातीय र वर्गीय असमानता देखिन्छ । मेरो विचारमा बेलायत भ्रमणपछि जंगबहादुर राणाद्वारा ल्याइएको नेपालको पहिलो मुलुकी ऐन १९१० ले नेपालमा श्रमलाई अवहेलना गर्ने बाटो खोलेको हो । विभिन्न किसिमको काम गर्ने विभिन्न जातजातिलाई जात र कामको आधारमा छुट्याएर उपल्लो र तल्लो जात बनाएर नेपाली समाजलाई वर्गीकरण गरी ‘फुटाऊ र राज गर’ भन्ने सिद्धान्त प्रयोग गरियो । यसको फलस्वरुप अझै पनि नेपालमा छुवाछूतजस्तो सामाजिक विकृति चलनमा छ ।

हाम्रो समाजमा ठूलो र सानो काम भनी अप्रत्यक्ष वर्गीकरण गरिएको छ । जस्तै कि हाम्रै अभिभावकहरु, शिक्षकहरु र समाजले पनि बालबालिकाहरुलाई धेरै पढेर ठूलो मानिस बन्नु नत्र किसान, भरिया या यस्तै निम्नस्तरको कामदार बनिन्छ भनी आशिश दिएको पाइन्छ । यसरी हाम्रो समाजमा श्रमलाई अवहेलना गर्ने परिवेशले गर्दा प्रतिभा पलायन बढेको छ ।

छोराछोरी बराबरी भनेजस्तो श्रम पनि बराबर हो भन्ने सन्देश हामीले दिन सक्नुपर्छ । समाजमा रहेका विभिन्न किसिमका श्रमिकलाई उचित सम्मान दिनाले गाउँमै भएका प्रतिभा गाउँमै राख्न सकिन्छ । नेपाली शिक्षा प्रणाली व्यावहारिक नहुनुले पनि केही हदसम्म प्रतिभा पलायनमा सघाएको छ । एउटा माछा, एउटा बाँदर र एउटा हात्तीलाई को छिटो रुख चढ्छ भन्दा बाँदर नै पहिलो हुन्छ । हो यस्तै बनेको छ हाम्रो शिक्षा प्रणाली । विद्यार्थीहरुको प्रतिभा, सम्भाव्यता र चाहना नबुझी हाम्रो समाज विद्यार्थीहरुलाई प्रथम बनाउने होडबाजीमा लागेको जस्तो भान हुन्छ ।
वर्षभरि लिएको ज्ञान ३ घण्टामा कागजमा उतार्न लगाउनु कतिको जायज हो ? यसको बारेमा सोच्ने बेला आएको छ । हाम्रो शिक्षा प्रणाली समयअनुसार अपडेट र व्यावहारिक नभएको जनगुनासो आइरहेको छ । शिक्षा सर्वसुलभ र समान बनाउन सरकारको ध्यान जान जरुरी छ । हाम्रो शिक्षा प्रणाली स्थानीय परिवेश अनुसार स्रोत–साधनको पहिचान, स्थानीय उत्पादनको ज्ञान तथा विभिन्न किसिमका तालिमहरु प्रदान गर्ने गरी परिवर्तन गर्न जरुरी छ । जापानमा जस्तै नेपाली विद्यार्थीलाई निम्न तहदेखि नै व्यावहारिक र गुणात्मक शिक्षा प्रदान गर्ने प्रणाली विकास गर्न जरुरी छ । आफ्नो काम आफैँ गर्ने, श्रमको सम्मान सिकाउने र उच्च शिक्षा हासिल गर्दा इन्टर्नसिप, भोकेस्नल तालिमजस्ता कार्यक्रम पनि शिक्षा प्रणालीमा ल्याउन जरुरी छ ।

विद्यार्थीका लागि पेसागत परामर्श, मनोवैज्ञानिक परामर्श तथा खेलकुदका माध्यमबाट हुने शारीरिक तथा मानसिक विकासमा जोड दिन जरुरी छ । यसै गरी परीक्षा प्रणालीमा काठमाडौँ विश्वविद्यालयमा जस्तै भारित औसत प्रणाली अपनाउन जरुरी देखिन्छ । राम्रो शिक्षा प्रणालीले राम्रा प्रशिक्षक र शिक्षकहरुको उत्पादन तथा सभ्य समाजको निर्माण गर्न मद्दत गर्छ । यसरी हामीले प्रतिभा पलायन नियन्त्रण गर्न सकिन्छ ।

प्रतिभा पलायन रोक्न स्थानीय र केन्द्र सरकारको भूमिका अत्यन्त जरुरी छ । सबैलाई समान शिक्षा, अवसर र रोजगारी सृजना गर्नुपर्ने स्थानीय र केन्द्रीय सरकारको दायित्व हो । तर नातावाद, कृपावाद र पहुँचकै भरमा सरकारी संयन्त्रलाई प्रभावमा पारी सरकारी स्रोत–साधन सीमित व्यापारी, पार्टीका कार्यकर्ता र राजनीतिज्ञहरुको हातमा पुगेको छ । सरकारको अनुदानका नीतिहरु पनि बालुवामा पानी खन्याएसरि नै भएका छन् ।

स्थानीय सरकारदेखि केन्द्र सरकारका नीति वितरणमुखी मात्र देखिन्छ । जस्तै कि हाम्रै अधिकांश स्थानीय तहहरु चालक प्रशिक्षण, कौसी खेती तथा अरु अनुत्पादन क्षेत्रमा बजेट खर्च गर्ने गरेको पाइन्छ । धेरैले यो कुराको विरोध गर्नुहोला तर अहिलेसम्म कौसी खेतीदेखि चालक प्रशिक्षणजस्ता कार्यक्रमले कतिको रोजगारी सृजना गरेको छ त ? यसका नमुना औँलामा गन्न सक्ने अवस्थामा छन् । कृषिमा पनि धेरै अनियमितता भएको हामीले सुनिरहेका नै छौँ । लगानीको कमीले गर्दा अनुदान चाहिएका असली किसान, उद्यमी तथा व्यवसायीहरुलाई पछाडि परेका छन् र पलायन हुन बाध्य भएका छन् । त्यसको अतिरिक्त भ्रष्टाचार र राजनीतिक अस्थिरताले आगोमा घिउ थप्ने काम गरिरहेको छ ।

यस्ता समस्या समाधान गर्नका लागि स्थानीय स्तरमै अनेकौँ योजना तथा नीतिहरु ल्याउन सकिन्छ । आफ्नो स्रोत–साधनको प्रयोग गरी स्थानीय स्तरमा उद्योग, व्यवसाय र रोजगारदाताहरुलाई उचित अनुदानको व्यवस्था गर्न सकिन्छ । सरकारी संयन्त्र प्रयोग गरी चाहिने सीपमूलक तालिमदेखि बजारीकरणसम्म सक्दो सहयोग गर्न सकिन्छ । स्थानीय युवाका लागि परामर्श केन्द्र, खेलकुद केन्द्र, अनुसन्धान केन्द्र, इन्क्युवेसन कार्यक्रम तथा विभिन्न सीपमूलक तालिम गराउने केन्द्रहरु स्थापना गर्न सकिन्छ । यसरी स्थानीय प्रतिभाहरुको पहिचान गरी त्यसको संरक्षण गर्ने हो भने प्रतिभा पलायन धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । पार्टीहरुले पनि युवाहरुलाई राजनीतिक महत्वाकांक्षाको पूरा गर्ने माध्यम मात्र सोचेर हुँदैन । अहिलेको राजनीतिक दलहरु पनि संयमित भई प्रतिभा पलायनको गम्भीरतालाई बुझ्न जरुरी छ ।

अन्त्यमा हाम्रो नेपाली समाजमा चलिरहेको ‘नेपालमा केही हुँदैन’, ‘यहाँ गरेर पनि केही हुँदैन, किन गर्न प¥यो र ?’ जस्ता नकारात्मक भाष्यलाई चुनौती दिँदै यसको विरुद्धमा सिंगो समाज नै लाग्न पर्ने देखिन्छ । केही दिनअगाडि एकजना दाइ जो यही होटेल व्यवसायमा कुक हुनुहुन्छ, उहाँ भेट हुनुभयो । मासिक १७ हजार तलब कमाइ भएको र १ सय मुरी धान उत्पादन हुने पुख्र्यौली खेत हुँदाहुँदै पनि सबै खेत बाँझो छोडी ओमन जाने तरखरमा हुनुहुन्थ्यो । उहाँको एउटै कुरा थियो, खेती गर्न दुःख छ, तलबले पुगेन, त्यसैले जान लागेको भन्नुभयो । मैले प्रश्न गरेँ, बाबुबाजेदेखि हुने तर अहिले आएर नहुने किन ? हो, अब समाजको श्रमप्रतिको व्यवहार परिवर्तन गर्ने समय आएको छ ।

हामी आफैँ पनि स्थानीय उत्पादनमा जोड दिँदै, यसको बजारीकरणमा आफ्नो स्तरबाट सक्दो सहयोग गर्नुपर्छ । पाइला टेक्दै गरेका अनेकौँ स्थानीय उत्पादन तथा सेवाहरु विदेशी उत्पादनको गुणस्तर त नहोला तर उत्पादित स्थानीय सामग्री खपत भए समयअनुसार गुणस्तर बढ्ने तथा भविष्यमा विदेशी सामानसँग प्रतिस्पर्धा गर्न सक्ने हुन्छन् । यसको ज्वलन्त उदाहरण वाइवाई चाउचाउलाई लिन सकिन्छ । प्रतिभा पलायन रोक्नु सरकारको मात्र नभई सिंगो नेपाली समाजको पनि दायित्व हो । विदेश जान लाग्ने लगानी यही माटोमा लगाएर रोजगारी सृजना गर्न सकिन्छ । गरे यहीँ माटोमा सुन फलाउन सकिन्छ ।
(लेखक श्रेष्ठ युवा उद्यमी तथा व्यवसायी हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्