कहिलेकाहीँ मन तरङ्गित हुन्छ । म पत्रकार नहुँदो हुँ त के हुन्थे होला ? यो लेखन सीप कसरी आयो ? पत्रकार नै चाहिँ कसरी भए होला ?
भल्चौरी हान्दै र लुकामारीमा रमाउँदै गर्दा माध्यामिक शिक्षा उत्तीर्ण गरेको पत्तै भएन । खै म बुद्धु हुँ कि, बुद्धिमान एसएलसीको तयारी त स्व. प्रकाश कोविदको ‘अर्को जन्म’ र ‘देवता’ उपन्यास पढेर पो गरे । अल्लाहे त्यो उमेरमा साथी सङ्गीहरू युधिर थापाको ‘निलो चोली’ र ‘लुकेको समाज’मा रमाइरहँदा कसो कसो म भने ‘अर्को जन्म’ र ‘देवता’को गहिरो मोहमा फसेछु ।
प्रेमको अनुपम कहानी छन् दुवै उपन्यासमा । उपन्याससँगको आत्मीयता कतिसम्म भने दार्जिलिङको टिस्टा रङ्गीन हैन सुनकोसी र तामाकोसीको दोभानमा एक जोडी प्रेमिल सपना पानीका छालहरू संग बत्तिएर कता हो कता । आफू कैले नपुगेको र नदेखेको बागडोरा, घुम, चौरसता, मिरिकहरूको सामिप्यता चौपट्टै ।
साहित्य र पत्रकारिताको सम्बन्ध बारे धेरै कोणबाट चर्चा हुने गर्छ । यी दुईको सम्बन्धमा कसैको धारणा ‘खोलाका दुई किनार’ हो भन्ने पाइन्छ अनि कसैको धारणा नङ र मासुसम्म पुगेको छ । मेरो अनुभव पत्रकारिता र साहित्यको सम्बन्ध नङ र मासुकै हो । २०४३-२०४४ सालताका स्कुले समयमा स्व. प्रकाश कोविदको ‘अर्को जन्म’ र ‘देवता’ नपढेको भए म कसरी पत्रकार बन्थेँ होला र ? त्यतिबेला पत्रकारितासँग मेरो टाढाटाढा सम्मको पनि कतै साइनो थिएन ।
यहाँ एउटा रोचक प्रसंग पनि जोडौँ। २०४२ सालमा स्थापना भएको नेपालको पहिलो मिडिया हाउस कामना न्युज पब्लिकेशन्स् (कामना प्रकाशन समूह) ले सिने मासिक कामना र विविध खुराक भएको साधना प्रकाशन गर्दथ्यो । स्कुल पढ्दै गर्दा म कामना मासिक मार्फत विभिन्न कलाकारहरूलाई प्रश्न सोध्ने गर्थें । अनि साधना मासिकमा साहित्यिक खुराक पठाउने गर्थें । अहिले यही न्युज पब्लिकेसनको नेपाल समाचारपत्र दैनिकमा काम गर्दैछु ।
साहित्यसँग जोडिएको कामना न्युज पब्लिकेसनसँगको सम्बन्धले मलाई पत्रकार बनायो र पत्रकार भएर झन निकट ढङ्गले कामना न्युज पब्लिकेसनसँग जोडिन पाए । यतिबेला म कामना न्युज पब्लिकेसनको संस्थापक स्व. पुष्करलाल श्रेष्ठ दाइलाई सम्झिरहेको छु । उहाँको प्रेरणा, सहयोग, साथ र सदासयताले पनि म पत्रकार बन्न सकेको हो भन्छु । ‘मधुमालती’को कथाले पनि मलाई लेखनमा प्रेरित गरेको हो । सुआत्मीय प्रेमको अनमोल कथा रहेको ‘मधुमालती’मा मालतीले भोगेको पीडा र मधुले आफ्नो प्रेमिका मालतीलाई पुष्पक विमानमा उडाएर लगेको परिवेशले म कति द्रवित बने । साँच्चै भन्छु ‘मधुमालती‘को कथा पढेको धेरै रात म अनिदो रहेको छु ।
उपन्यासका कथावस्तु ले मलाई शब्दहरूसँग हराउने आदत बन्यो, शब्दहरुसँग खेल्ने रहर पलायो । विस्तार विस्तार शब्दहरूलाई जोडजाम गर्दै कविता, मुक्तक, ब्यङ्गे र लघुकथासम्म पु¥यायो । अनि २०४७ सालतिर आइपुग्दा शब्दलाई तानतुन गरेर गाउँ सहरका समस्या र सभ्यताहरूलाई समाचार बनाउन सिके । त्यसपछि के थियो र गाउँ टोलका साथी संगीहरूले पत्रकार भन्न थालिहाले । मलाई याद भएसम्म मेरो बालसखाहरू राजेन्द्र, भोजराज न्यौपाने, शम्भु गौतम, विष्णु सुवेदीहरू पनि साहित्य पढेरै पत्रकार बनेका हुन् ।
म यहाँनेर पत्रकारिता र साहित्यको साइनो खोज्दै छु । नेपालका नाम चलेका धेरै पत्रकारहरूले साहित्यिक, गैर साहित्यिक पुस्तक प्रकाशन गर्नुभएको छ । प्रशस्तै साहित्यिक कोलमहरू, राजनीतिक लेखहरू प्रकाशन गर्नुभएको छ । दिनेश सत्याल, किशोर श्रेष्ठ, नारायण वाग्ले, सुधीर शर्मा, मोहन मैनाली, अखण्ड भण्डारी, धमेन्द्र झा, शिव गाउँले, शरदचन्द्र वस्तीलगायत धेरै पत्रकार हुनुहुन्छ जसले समाचार मात्र हैन साहित्यिक, गैर साहित्यिक पुस्तक, लेख रचनाहरू प्रकाशन गर्नुभएको छ । नारायण वाग्ले दाइ त अहिले पनि पुस्तक लेखनमै व्यस्त हुनुहुन्छ ।
दोलखाको भीमेश्वर नगरपालिकाले नारायण वाग्लेलगायत साहित्य लेखनमा समेत सक्रिय पत्रकारहरू लाई बोलाएर कार्यक्रम गर्ने योजना बनाएको कुरा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का र इन्जिनियर सुरेश राउतले सुनाउनु भयो । उहाँहरूको योजना अनुसारनै नारायण वाग्लेदाइ लाई राजेन्द्र मानन्धर र मैले फोन ग¥यौँ, उहाँले आफू पुस्तक लेखनमा व्यस्त भएकोले राजधानी बाहिर निस्कन नपाउने बाध्यता सुनाउनुभयो । अरु धेरै पत्रकारहरू पनि अहिले बाइलाइन समाचार लेख्ने मात्र हैन साहित्यिक तथा गैर साहित्यिक पुस्तक लेखनमा समेत व्यस्त हुनुहुन्छ ।
माथिका यी नामहरूसँग समाचार जोडिएर आउँदा पाठकले जति विश्वसनीय ठान्छन् त्यति नै पठनीय पनि मान्छन् । किनभने उहाँहरूले समाचार हैन हाम्रो परिवेशको सत्यता खोज्नुहुन्छ । गरिबीको, पीडाको, उत्पीडनको, आवश्यकताको, कामको सत्य कथा आफ्नो समाचारमा उधिन्नुहुन्छ । ती विषयवस्तु हरुलाई परिवेश र परिस्थितिअनुसार शब्दमा खेलाउदै पठनीय बनाउनुहुन्छ । किनभने उहाँहरूमा साहित्यिक चेत छ । त्यसैले, म्याथ्यु अर्नोलले भन्नु भएको हो ‘पत्रकारिता हतारको साहित्य’ भनेर । अहिले हाम्रा धेरै पत्रकारहरू हतारमा समाचार कोर्नुहुन्छ र फुर्सदमा साहित्य लेख्नुहुन्छ ।
कति मिल्दो छ साहित्य र पत्रकारिता । समाज र परिवेशको सत्यता समाचारमा लेखिन्छ तत्कालै । अनि त्यही सत्यतालाई कथा वस्तुमा विस्तृतीकरण गर्दै साहित्य लेखिन्छ । हामी साहित्यलाई काल्पनिक ठहराउँछौ तर साहित्य काल्पनिक हुँदै हैन । समाजमा हुँदै नभएको विषय कसरी साहित्यमा लेखिन्छ र ? स्व. प्रकाश कोविदको उपन्यासमा उल्लेख गरिएका चौरास्ता, घुम, बागडोरा, मिरिक, टिस्टा रङ्गीन काल्पनिक नाम हुन र ? ‘देवता’ र ‘अर्को जन्म‘का कहानी समाजको वास्तविकता भन्दा पृथक छन् र ? अ हँ पटक्कै छैनन् । चन्द्रप्रकाश बँनियाँको ‘महारानी’ होस कि, सगुना शाहको ‘कान्छा महारानी’ यी सबै त नेपाली परिवेशका सत्य घट्ना नै हुन् नि ।
म त भन्छु हरेक पत्रकारले साहित्य लेख्नै पर्छ । पृथक ठाउँ, परिवेश र परिघट्नाहरूसँग सधै सामिप्यता रहने पत्रकारहरूसँग जति लेख्ने विषय अरु कोसँग होला र ? ती विषयहरू समाचारको हेडलाईनमै सीमित गर्नु भनेको हाम्रो सामिप्यताहरूलाई अन्याय गर्नु हो । हाम्रा स्थलगत अनुभव र अनुभूतिहरूलाई शब्दमा उधिन्ने र विस्तृतीकरण गर्ने बानीले हामीलाई जिम्मेवार पत्रकार बनाउँछ, एउटा परिघटनाको विवरण तयार हुन्छ र त्यो भविष्यमा उत्कृष्ट इतिहास बन्नेछ ।
बाल मष्तिस्कमा भरिएको साहित्यको रसले मलाई पत्रकार बनायो । कति पत्रकारहरू अहिले साहित्यकार बन्नुभएको छ । अनि कसरी साहित्य र पत्रकारिताको सम्बन्ध ‘खोलाको दुई किनार’ मा सीमित रहन सक्छ ? यो सम्बन्धत ‘नङ र मास’ कै हो नि । मेरो उत्सुकता, म पत्रकार नभएको भए के हुन्थेँ होला ? अहिले सम्झँदै छु निवारको छोरा पत्रकार नभएको भए कि व्यापारी हुन्थे होला कि, जागिरे धन्य छु ‘मधुमालती’ को कथाप्रति, स्वर्गीय प्रकाश कोविद र उहाँको लेखनी ‘अर्को जन्म’ र ‘देवता’ प्रति, मलाई पत्रकार बनाउने मेरो सारथीहरू…।
प्रतिक्रिया