चेपाङ बालबालिकाको बिचल्ली

0
Shares

धादिङ ।

अत्यन्त गरिब र बिहानबेलुकी छाकटार्न धौधौ पर्ने चेपाङ समुदायका बालबालिका अध्ययन गर्ने विद्यालय १५ वर्षदेखि टहरामा सीमित छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ ।
जनताको पहुँच नभएपछि गरिबहरूले मात्र अध्ययन गर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका वडानम्बर २ दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा अझै टहरामा पठनपाठन भइरहेको छ ।

भूकम्पपछि विद्यालयहरू निर्माण भए, पहुँच पुगेका ठाउँहरूमा विद्यार्थी नभए पनि विद्यालय बनिरहेका छन् । तर, चेपाङ बाहुल्य दुम्लिङको सहारा आवि भने भोकै विद्यालय आएकाहरूलाई पनि टहरोमै पढाउनुपरेको विद्यालयका प्रधानाध्यापक सावित्री मगरले बताउनुभयो । बेनिघाट रोराङ गाउँपालिकाले १४ करोड खर्च गरेर पालिका भवन बनायो । वडा कार्यालयहरूमा पक्की भवनहरू पनि बने । राजमार्ग आसपासका विद्यालयहरूलाई वर्षेनी लाखौं बजेट विनियोजन गरेर विद्यार्थी थोरै भए पनि बनाइयो तर अझै ग्रामीण क्षेत्रका विद्यालयहरूमा स्थानीय सरकारको ध्यान जान सकेको छैन ।

घरमा खानेकुरा नभएपछि भोकै विद्यालय आउने ईसीडीमा अध्ययन गर्ने आइसा चेपाङ र विक्रम चेपाङ अनि बाबुको मृत्युपछि आमाले छाडेका कक्षा १ का मिलन चेपाङ यही विद्यालयमा अध्ययन गर्छन् । अहिले सहारा आविको ईसीडीमा ५० र कक्षा १ मा २३ जना विद्यार्थी गरी ७३ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा १ सम्म पढाइ हुने सहारा आवि २०६५ सालमा स्थापना भएको हो ।

चेपाङ बालबालिका पढ्ने उक्त विद्यालय भवन निर्माण गर्न पटक–पटक माग गर्दा पनि बजेट नपरेको गुनासो शिक्षिका सावित्रा मगरको छ । ‘अब बनाउने हो भन्नुहुन्छ खै अहिलेसम्म बजेट परेको छैन’, उहाँले भन्नुभयो– ‘ईसीडी कक्षाका लागि कामचलाउ माटोको भवन छ तर १ कक्षाका लागि चाहिँ बाहिर छिनको छाप्रो बनाएर पढाउँदै आएका छौं ।’

राजमार्गबाट १८ किलोमिटर टाढा रहेको उक्त विद्यालय आधा बाटोसम्म यातायातको पहुँच छ भने १ घण्टा पैदल यात्रा गर्नुपर्छ । यो जाडोको समयमा विद्यार्थीको न्यानो पोसाक पनि छैन । विद्यालय खाजाका लागि विद्यालय आउने बालबालिका चिसोमा कठ्याङ्ग्रिँदै पढ्न बाध्य भए पनि स्थानीय सरकारको ध्यान नगएको चेपाङ अगुवा तिलक चेपाङले बताउनुभयो ।