धु्रवजी नमस्कार । मैले एउटा जरुरी कुरा भन्नका लागि तपाईँलाई फोन गरेको । हाम्रो रेडियोले नेपालमा सम्वाददाता राख्ने निर्णय गर्यो । मैले तपाईँलाई पहिलो नम्बरमा छानेकी छु । सकेसम्म छिटो निर्णय दिनुहोला । चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई) नेपाली विभागकी प्रमुख कुशुम दिदीको फोन वेइजिङबाट आएपछि मेरो खुशीको सीमा रहेन । मैले कामको प्रकृति र सेवा सुविधाको कुरा सोध्न नपाउँदै दिदीले एउटा कडा शर्त राख्नुभयो, धु्रवजी तपाईँले नेपाल समाचारपत्र दैनिक पत्रिकाको जागिर चाहिँ छोड्न पाउनुहुन्न ।
पहिलो कर्मथलोको रुपमा कामना प्रकाशन गृहमा कलम चलाउन थालेको करिब दुई वर्षकै अवधिमा मैले पाएको यो ठूलो अवसर थियो । भाषा संख्या र प्रसारण समयावधिका हिसाबले सीआरआई विश्वको सबैभन्दा ठूलो रेडियो मानिन्थ्यो । १०, १२ वर्षको उमेरदेखि घरमै सहोदर दाजु शिव पौडेलसँगै सीआरआईको नेपाली सेवा सुन्थेँ, कारण थियो चिनियाँ नागरिकले बोल्ने साह्रै मिठो र ठेट नेपाली भाषा । ६ कक्षामा पढ्दादेखि नै म सीआरआईलाई चिठी पठाउँथे ।
ठेलीका ठेली चीन सचित्र, बेइजिङ रिभ्यु, पोष्टकार्ड र चिनियाँले हातैले लेखेको चिठी चीनबाट आउँदाको शान जन्मे हुर्केको गाउँ बेलचौतारामा छुट्टै हुन्थ्यो । गाउँमा स्रोता क्लाब पनि बनाइयो । देशैभरिका स्रोता क्लबहरुको छाता संगठनको रुपमा स्थापित सीआरआई स्रोता क्लबहरुको राष्टिय परिषद् नेपालको केन्द्रीय सदस्य पनि भएँ ।
सीआरआईले उत्कृष्ठ नेपाली स्रोताका रुपमा छानेपछि सन् २००० मा म र कुस्माका अग्रणी स्रोता राजेन्द्र पहाडीले चीनको १६ दिनको भ्रमणको अवसर पाएका थियौं । माइक्रोबायोलोजीको विद्यार्थी म चीन भ्रमणबाट फर्किएपछि पत्रकारिता पेशातर्फ लाग्ने निर्णयसहित नेपाल प्रेस ईन्स्टिच्युटमा १० महिने तालिम लिएँ । पत्रकारिता पेश ज्यादै मर्यादित मानिथ्यो त्यसताका । तालिमकै क्रममा दुई महिनाको ईन्टरसीपको लागि गएको म रेडियो सगरमाथामा चार महिनासम्म बोल्न त के स्टुडियोमा छिर्नसमेत नपाएपछि नेपाल समाचारपत्रमै काम गर्न जाने योजना बनाएँ । त्यसो त तालिम संयोजक र नेपाल समाचारपत्रका सम्पादक कपिल काफ्ले गुरुको अभिभावकत्वका कारण मेरो बाइलाइनमा फाट्फुट्ट समाचार ईन्टरनसीपमा जानुअघि नै समाचारपत्रमा छापिन्थे ।
त्यसको आधारमा भक्तपुरमा नेपाल समाचरपत्रको रिपोर्टर खाली हुनेवित्तिकै कपिल सरले मलाई त्यहाँ पठाउनुभयो । दैनिक पत्रिकामध्ये सबैभन्दा बढी सर्कुलेशन हुने समाचारपत्रको साख जोगाउने ठूलो चुनौती थियो भक्तपुरमा । रेडियो सगरमाथाका ऋषि आचार्य र समाचारपत्रकी फोटो पत्रकार सुमी बनेपालीसहित भक्तपुरका कैयौँ पत्रकारको सहयोगमा त्यो चुनौतीसँग जुध्न र आफ्नो कलम तिखार्न ठूलो मद्दत पुग्यो । सामाखुशीको डेराबाट हर्लिक्सको सानो बोत्तलमा चिसो दुध चिया, पानी, अण्डा र चनासहितको झोला बोकेर बिहान विश्व भाषाका क्याम्पसमा चिनियाँ भाषाको कक्षा र दिनभरि भक्तपुरको रिपोटिंगसहितको दैनिकी गुजारियो ।
काठमाडौँको बागबजारबाट एकातर्फी कम्तिमा डेढ घण्टाको यात्रामा भक्तपुर जाने र आउने बसको सीटमा कहिल्यै पनि बस्न पाइएन भन्दा फरक पर्दैन । भक्तपुरबाट फर्किँदा धेरैजसो त ढोकामा एउटा खुट्टाले टेकेर बाँकि पुरै जीउ बसबाहिर झुण्ड्याएर यात्रा गरियो । जति ढिलो भए पनि भक्तपुरबाट समाचारपत्रको समाचार डेस्कमै पुगेर समाचार लेखेर बुझाउँथे । समाचारपत्रका गाडीमा राति घर पुग्दा कि त १० बज्थ्यो कि त रातको १२ बजे ।
राति कार्यालयको गाडीमा जाने हुँदा अग्रज दाजुहरुको हाँसो ठट्टासहितको पत्रकारिताको अनुभव सुन्न पाउथेँ । त्यसले हामीबीचको आत्मीयताको दुरी कम हुँदै गइरहेको थियो । समाचारपत्रको गाडी नभएको दिनमा भीमसेनथानबाट सामाखुशीसम्म हिंडेरै पुग्थेँ । एक पटक बीर अस्पतालअघि लुटिनबाट जोगिएको पनि हो । सवारी साधान नहुनाले रातमा लामो बाटो हिँड्दा कार्यालय वा घर नपुग्दासम्म सधैँ डर लागिरहन्थ्यो । एक वर्ष भक्तपुरको कष्टपूर्ण दैनिकीपछि साधना मासिकमा काम गर्ने अवसर पाएँ ।
बिहान १० बजे कार्यालय जाने र बेलुकी ६ बजे निस्कने दैनिकी बन्यो । साधना आएको करिब एक वर्षपछि नै संसारकै प्रतिष्ठित सञ्चारमा माध्यम सीआरआईमा काम गर्ने अवसर पाएको थिएँ । चीनले विदेशी पत्रकारलाई काम लगाउँदा आफ्नै भूमीमा आफ्नै नागरिकको रोहबारमा काम लगाउने गरेको थियो । विदेशमा कुनै पत्रकारलाई काम लगाउँदा चिनियाँ नागरिक नै पठाउने गरेको थियो । चीनबाहिर विदेशी नागरिकले पत्रकारको रुपमा काम गर्न पाएको सम्भवतः चिनियाँ सञ्चार माध्यमको इतिहासमा म पहिलो थिएँ । काम पनि गाह्रो थिएन । हरेक दिन अपरान्ह ५ बजेतिर बेइजिंगबाट फोन आउने, मैले बढीमा एक मिनेटको एउटा समाचार पढ्नुपर्ने । त्यही समाचार मेरो आवाजमा बज्थ्यो । शनिबार र आइबार बिदा । तलब १५० डलर मासिक ।
कुशुम दिदीले कामना प्रकाशन गृहका नेतागणको मौखिक अनुमती लिन अनिवार्य गरेपछिको भोलिपल्ट बिहानी सत्रमा साधनाका सम्पादक लक्ष्मण अधिकारी कार्यालय आउनुभएको थिएन । मैले प्रधानसम्पादक पुष्करलाल श्रेष्ठलाई अप्ठ्यारो मानी मानी सबै कुरा खुलस्त बताएँ । अर्काे सञ्चारमाध्यममा जागिर खाने भए राजीनामा बुझाउनुहोस् भन्ने पुष्कर सरको प्रतिक्रिया आउने अड्कल गरिरहेको थिए ।
यस्तो अवस्थामा सीआरआईको अवसर पनि गुम्ने र कामनाको जागिर पनि छोड्नुपर्ने अवस्था आउनसक्ने सोचेर त्यो परिस्थितिको सामना गर्ने मनस्थिति तयार पारेको थिएँ । सबै कुरा सुनेपछि पुष्कर सरले आफ्नो प्रकाशन गृहको एउटा पत्रकार विश्वको प्रतिष्ठित सञ्चारमाध्यमको विदेशस्थित सम्वाददाताको रुपमा काम गर्न पाउनु आफ्नो संस्थाको गौरवको विषय हो भन्दै सीआरआईको रिपोटिंगका क्रममा परेको कुनै पनि अप्ठ्यारा फुकाइदिने वचनसमेत दिनुभयो । अपराह्न मैले आफ्नो सम्पादक लक्ष्मण अधिकारीलाई पनि सोही बमोजिमको जानकारी गराएपछि उहाँले पनि आवश्यक सहयोग गर्ने भन्दै अगाडि बढ्न प्रेरणा दिनुभयो ।
समाचारपत्रका भक्तपुरको रिपोर्टरको रुपमा काम गर्दा लगभग समाचारपत्रमा शत प्रतिशत समाचार नै प्रकाशित भए । भक्तपुरबाट समाचार संकलन गरेर भीमसेन स्थानको कार्यालयमा समाचार डेस्कमा पुग्दा कुनै पनि अग्रजहरुको अगाडि टाउको उठाउने साहस गर्न सक्तिनथें । तर लगभग सबै अग्रजहरुबाट मैले हौसला र प्रेरणा पाइरहेँ । साधनामा काम गर्न थालेपछि पनि अग्रजहरुले समाचारपत्रको डेस्कमा गएर सिक्ने वातावरण बनाइदिनुभएको थियो ।
साधना मासिकमा सबैभन्दा लामो समय काम गर्ने नगण्य पत्रकारहरुमध्ये सायद म पनि एक हुँ । सम्पादक लक्ष्मण अधिकारीसँग साह्रै डर लाग्थ्यो तर सहसम्पादक रोहिणी घिमिरेसँग कुनै अप्ठारो नलाग्ने । यही डरले मलाई कलम तिखार्न मद्दत मात्र पुगेन, रिपोटिंगका लागि ठूलो भरोसा र आधार बन्यो । सीआरआईको विश्वासमा पर्ने एउटा मुख्या आधार कामना प्रकाशन गृहका सम्पूर्ण कर्मचारीको एकता, सहयोगी व्यवहारको ऋण मैले सायद जीन्दगीभर तिर्न सक्तिनँ ।
लक्ष्मण सरलाई लेख बुझाएपछि सम्पादकको प्रतिक्रिया सुनेर टिप्न मैले कापी र कलम साथैमा लिएर जान्थेँ । लेखमा थप सम्पादन गर्न नपर्ने भएपछि सम्पादकको काठबाट निस्किएर उहाँको आँखा छलेर मज्जाले नाच्थेँ । लेख अनुमोदन भएपछिको मेरो नचाइ रोहिणी सर, छत्र क्षितिज, शैलेन्द थापालगायतले आजसम्मका हरेक भेटमा सम्झाउने गर्नुहुन्छ ।
विज्ञानको विद्यार्थी भए पनि पत्रकारितामा मेरो नेपाली भाषाको स्तर त्यति कमजोर थिएन । तर व्याकारण सैद्धन्तिक कुराभन्दा लेखाइका व्यवहारिक कुरामा मैले जोड दिइरहेको थिएँ । सम्पादकबाट अनुमोदन भएको लेखहरु सहसम्पादकसमेत रहनुभएका प्रुफरिडर रोहीणी सरकोे हातमा परेपछि म उहाँसँगै हुन्थेँ । रोहीणी सरले गर्नुहुने शुद्धाशुद्धिको प्रत्यक्षदर्शी र सिकाइबाट मैले नेपाली भाषाको लेखाइको शुद्धता निखार्दै लगेँ ।
रोहीणी सरसँगको चार वर्षभन्दा बढीको सिकाइले मलाई चीनमा गएर सीआरआईमा नेपाली भाषाको समाचार र लेख सम्पादन गर्न, बेइजिंगस्थित कम्युनिकेशन युनिभर्सिटीमा नेपाली भाषा पढाउन धेरै सजिलो भयो । अझ कुनै पनि नेपाली शब्द कुनै हिच्किचाहटविना विश्वविद्यालयको कक्षा कोठाको ह्वाइट बोर्डमा लेख्न सक्थेँ । कामना प्रकाशन गृहको संघर्षपूण सिकाइले मलाई चीनमा पनि धेरै सजिलो भयो । अझ चीन बसाइकै क्रममा मैले सात वटा किताब पनि चिनियाँ भाषाबाट नेपालीमा अनुवाद गर्न सकेँ ।
सीआईआई र साधनाको काम गर्दा गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वामा काम गर्ने अवसर पाएपछि भने साधनामा समय दिन सकिनँ । एउटा पत्रकारले तीन वटा सञ्चारमाध्यममा काम गर्न सक्ने आँट गर्न सकिनँ । अंग्रेजी भाषामा कजोर भए पनि कामनाका अग्रज गुरुहरु र साथीहरुको सम्पर्क तथा सहयोगको जगमा सिन्ह्वाको काममा ठूलो राहत मिलेको थियो । आम सञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर तहको अध्ययन गरेर चीनबाट नेपाल फर्किपछि केही वर्षको लागि पत्रकारिता छोडेर चिनियाँ भाषाको टुरिष्ट गाइडको रुपमा काम गरेँ ।
कामना प्रकाशन गृहमा पत्रकारिता गर्दा बढुलेको ज्ञान र बनाएका सम्पर्कले पर्यटन क्षेत्रमा पनि मलाई ठूलो मद्दत पुग्यो । ६ वर्षअघि टाभल एजेन्सी पनि खोलेर आफ्नो पेशालाई निरन्तरता दिइरहेको छु । पछिल्लो समयमा नेपाल समाज मिडिया स्थापना गरेर पत्रकारितामा फर्किएको छु । मलाई यो धरातलमा उभ्याउने मुख्य आधार कामना प्रकाशन गृहसँग सम्बन्धित सबैको ठूलो साथ र सहयोग छ । सबै नमन ।
प्रतिक्रिया