![](https://newsofnepal.com/wp-content/uploads/2017/10/hamra-doctor.jpg)
१. म ४६ वर्षकी भएँ । म आँखा बिजाउने, सुख्खा हुने समस्याबाट ग्रस्त छु । लहान आँखा अस्पतालमा जँचाउँदा सधैँभरि आँखामा झोल औषधि हाल्नु भनेर दिएको छ । यसरी जीवनभर औषधि लगाउनु त गाह्रो नै होला, निको नै पार्ने कुनै उपाय भए बताइदिन आग्रह गर्दछु ।
– सुष्मिता खतिवडा, उदयपुर ।
सुस्मिताजी, लहान आँखा अस्पतालमा परीक्षण गराएर त्यहाँका विशेषज्ञ चिकित्सकले भनेको कुरामाथि प्रश्न उठाउन जरुरी छैन । किनकि त्यो अस्पताल तथा त्यहाँ कार्यरत चिकित्सकहरु अब्बल भएको कुरा सर्वविदित नै छ । त्यस्तै तपाईंको आँखा सुख्खा हुने समस्या साधारण वा अस्थायी नभएर आँखाको भिजाउने झोल तत्वको उत्पादन प्रक्रिया नै कमजोर भएर हुने समस्या हुन सक्छ । त्यो आफैं सुधार हुने वा ठीक हुने समस्या नभएर सधैँ त्यो झोल औषधि राख्नुपर्ने हुन्छ । यस्तो समस्या आजकल धेरै नै व्यापक छ । हजुरमात्रै होइन त्यसको पीडित व्यक्ति । आजको मितिमा त्यो समस्याको स्थायी समाधान विज्ञानले पत्ता लगाउन सकेको छैन । त्यसैले आफ्नो उपचारमा इमानदार हुनुहोस्, चिकित्सकको कुरा सुन्नुहोस्, औषधि राख्न गाह्रो नमान्नुहोस् । साथै आशा पनि गर्नुहोस् कि विज्ञान धेरै अघि बढिरहेको छ, भविष्यमा आँखामा त्यो झोल पदार्थ उत्पादन गर्ने, बिग्रेको त्यो प्रणाली फेरि सुधार गर्न सक्ने प्रारूप उपचार वा जिन–उपचार (नभलभतष्अ(तचभबतmभलत) हाम्रो अन्तिम विश्वास बनेर आउनेछ । त्यसपछि स्थायी समाधान हुन पनि सक्छ ।
२. राजधानीका ठूला अस्पतालमा सस्तोमा राम्रो उपचार हुन्छ भनेर टाढादेखि आयो, टिचिङ, वीरजस्ता अस्पतालमा विद्यार्थी डाक्टरको बिगबिगी देखिन्छ । यस्ता सिकारु डाक्टरको भरले राम्रो उपचार के होला भन्ने लागिरहन्छ । सही सल्लाहको अपेक्षा गर्दछु ।
– रोहित, खोटाङ ।
रोहितजी, त्यहाँ सिकारु वा विद्यार्थी होलान्, हुन सक्छन् । उनीहरुले आउने सन्तति एवं मुलुककै स्वास्थ्यको जिम्मा लिनका लागि अध्ययन गर्नु, सिक्नु, देख्नु, अनुभव गर्नु त प¥यो नै । यो सर्वमान्य कुरा हो । यो अध्ययन तथा प्राक्टिस कसरी अनि कहाँ गर्ने भन्दा जुन संस्थामा, एकेडेमी वा कलेजमा शिक्षक हुन्छन्, बिरामी हुन्छन्, पढ्ने कार्यक्रम, प्रोग्राम वा प्रणाली हुन्छ, त्यहीँ नै हो । जहाँ सरकारबाट अनुमति प्राप्त हुन्छ अनि त्यहाँ छनोट भएर आएका विद्ययार्थीमात्रै पढ्ने हो । अब रह्यो कुरा सिकारुको भरमा राम्रो उपचार हुँदैन भन्ने, त्यो सरासर गलत हो । सिकारुको भरमा वा विद्यार्थी भरमा उपचार गर्ने, अपरेसन गर्ने वा औषधि दिनेजस्ता सबै कुरा छोडिएको हुँदैन । उनीहरु आफूभन्दा अग्रजको निगरानीमा, अग्रज वा शिक्षकको निर्देशनमा काम गर्छन् । अग्रजलाई रिपोर्ट पेश गर्छन् । आफ्नो विचार व्यक्त गर्छन् । त्यसपछि अग्रजले दिएको सल्लाह अनि निर्णयमा निदान र उपचारले अन्तिम रुप प्राप्त गर्छ । हरेक शिक्षण संस्थामा उपचार गर्नु भनेको त गर्व गर्ने कुरा हो । किनभने त्यहाँ दुई–तीन पुस्ताका उपचार प्रदायक हुन्छन्, अनुभवी तथा नयाँ वैज्ञानिक दख्खल भएका हुन्छन् । कसैले कुनै कुरा छुटाए पनि अर्कोले सम्झने हुन्छ । त्यसको तुलनामा एक्लो बृहस्पतिजस्तो निर्णय गर्दै हिँड्ने व्यक्तिले सधैँ शत प्रतिशत ठीक निर्णय गर्छ भन्ने पक्का नहुन सक्छ । तसर्थ ढुक्क हुनुहोस् कि उच्च गुणात्मक उपचार वीर वा शिक्षण अस्पतालमा धेरै सम्भव छ, बरु बिरामीको चाप हुने भएकाले ठाउँ वा पालो पाउन भने सहज हुनेछैन ।
३. कहिलेकाहीँ नचाहँदा नचाहँदै पनि दौँतरीसँग यौनसम्बन्ध हुने खतरा बढी नै हुँदो रहेछ । यस्तो अवस्थामा गर्भ नरहोस् भनेर आकस्मिक गर्भनिरोधक चक्कीको प्रयोग गर्दा भविष्यमा गर्भ नै नरहने खतरा हुन्छ कि हुँदैन ? सविस्तार बताइदिन अनुरोध छ ।
– सुचित्रा, भक्तपुर ।
सुचित्राजी, यहाँले भनेको केही मात्रामा सही हो भने केही मात्रामा अलि बेजिम्मेवार वा असावधानी हो भन्ने बुझ्नुपर्छ । यी सब कुराको ज्ञान हुनु, सुरक्षित हुनु नितान्त जरुरी हो । साथै यो नितान्त व्यक्तिगत कुरा पनि हो । यसलाई सिद्धान्तजस्तो गरेर लिन कदापि हुँदैन । परिपक्वता, जिम्मेवारी, सामाजिक सद्भाव, व्यक्तिगत स्वतन्त्रता तथा सुरक्षा भन्ने कुरा गहनाको रुपमा लिनुपर्ने हुन्छ । आकस्मिक गर्भनिरोधक चक्की जुन आकस्मिक सम्पर्कको ७२ घण्टाभित्र लिएर आकस्मिक गर्जो टार्न सकिन्छ । तर त्यो चक्की नियमित परिवार नियोजनको साधन होइन र त्यसरुपमा लिनु पनि हुँदैन । त्यस्तै धेरै लिनु पनि राम्रो हुँदैन र सुरक्षित पनि हुँदैन भन्ने बुझ्नुप¥यो । सुरक्षित यौनसम्पर्कका उपायहरु वा सम्बन्धित परामर्श परिवार नियोजनका क्लिनिकहरु एवं स्वास्थ संस्थाहरुमा सहजै प्राप्त गर्न सक्नुहुनेछ ।
४. मुटुरोग मानिसको मृत्युको प्रमुख कारण बनेको समाचार सुनिन्छ, पढिन्छ । मुटुलाई सधैँ स्वस्थ राख्नका लागि प्रमुखरुपमा के–के उपाय अपनाउन सकिन्छ ?
– रुद्र सापकोटा, बसुन्धरा, काठमाडौं ।
रुद्रजी, संसारमा मृत्युको नेतृत्वदायी कारणको रुपमा मुटुको रोगलाई नै लिने गरिन्छ । यो प्रमाणित तथ्य हो, अध्ययन भएको सत्यता हो । मुटुको साथसाथै अरु पनि नसर्ने रोगहरु आजको विकसित समाजको ठूलो समस्या हो । विकासको गतिसँगै विकासशील देशमा पनि यो ठूलो समस्या भएको छ । त्यस्तै राज्यको विशाल आर्थिक भारको क्षेत्र पनि यही नै देखिएको छ । हुन त मुटुलाई स्वस्थ राख्ने उपायहरुले अरु रोगको पनि रोकथाम भएर जाने हुन्छ । नसर्ने रोगबाट बच्ने वा मुटुलगायतका अंगहरु स्वस्थ राख्न चाहिने मुख्य बुँदा भनेको जीवनशैलीमा सुधार नै हो । खानपानमा विचार गर्ने, सादा खाना खाने, पत्रु तथा तामसी खानाबाट टाढा बस्ने गर्नुप¥यो । धेरै चिल्लो, धेरै नुनिलो, मैदा, चिनीजस्ता कुराहरु मुटु स्वास्थ्यको लागि राम्रा होइनन् भन्ने कुरा महसुस हुनुप¥यो । यस्ता चिज खान भएन अथवा अति न्यून मात्रामा लिने गर्नुप¥यो । त्यस्तै कमसेकम पसिना निकालेर दैनिक ३० मिनेटदेखि एक घण्टासम्म नियमित व्यायाम वा हिँडडुल गर्नुप¥यो । सकेसम्म रिसाउने तथा नकारात्मक सोच्ने गर्नुहुँदैन, नसकेमा अवश्य कमचाहिँ गर्नै पर्छ । नियमित स्वास्थ्य परीक्षण तथा आवश्यक भएमा उपचार पनि गर्नुपर्छ । ख्याल गरेर, सिकेर, अध्ययन गरेर, विचार आदानप्रदान गरेर, सहभागिता बढाएर जीवनशैली सुधार गर्न गर्न सकिन्छ, जसले गर्दा मुटु स्वस्थ राख्न सहयोग पुग्छ ।
५. सन् २०१९ मा देखा परेर विश्वभर फैलिएको कोरोना महामारी के अब संसारबाट निर्मूल भएको हो ? अब मास्क लगाएर नहिँड्दा पनि हुन्छ ?
– सुरज केसी, सर्लाही ।
सुरजजी, अहिलेको परिवेश हेर्दा कोरोना महामारी मत्थर वा सुषुप्त भएको देखिन्छ । यो निर्मूल नै चाहिँ भएको छैन । किनभने अस्पताल तथा परीक्षण गरिने प्रयोगशालाहरूमा फाट्टफुट्ट संक्रमण देखिएकै छ । तर यतिखेर जटिलता देखिने, अस्पताल भर्ना हुने, मृत्यु नै गराउने अवस्था भने नगन्य नै छ । यसले पहिलेदेखि नै समुदायमा छिटफुट रहेको फ्लु, इन्सेपÞm्लाइटिस वा अरु अवसरवादी संक्रमणको जस्तै आफ्नो अवसरवादी उपस्थिति नदेखाउला भन्नचाहिँ सकिँदैन । सतर्कता अपनाउनु नै बुद्धिमानी हुन्छ । अब रह्यो मास्क लगाउने कुरा, कोरोनालगायत धेरै कुराको प्रतिरक्षा र प्रदूषणबाट बच्न मास्क लगाउनु राम्रो हो । मास्क लगाएर घाटा हुनेवाला केही छैन भन्ने बुझ्नुस् ।