रानी महल नेपालको ताज महल



‘हम ना रहेंगे, तुम ना रहोगे, फिर भी रहेगी निशानियाँ’ कसैले ठीकै भनेका छन्, यस धर्तीमा हामी रहन्नौं, तर हाम्रा कृतिहरूले सधैँ हाम्रो याद गर्नेछन्। यस संसारमा आ–आफ्ना कीर्ति छोड्न राजामहाराजाहरू, बादशाहहरूले अनेकौं कार्य गरेर गए। सयौं वर्षपछिका पुस्तालाई पनि आश्चर्यचकित पार्ने गरी भव्य कलाकृति, भवन, महल छोडेर गए । मुगल सम्राट् शाहजहाँले आफ्नी प्यारी बेगम मुमताजको स्मृतिमा उनकै चिहानमाथि प्रसिद्ध यमुना नदीको किनारमा पूरै सिंगमरमरको भव्य महल निर्माण गर्न लगाए, जुन कि आज संसारको सात आश्चर्यमा एक गनिने ‘ताजमहल’को नामले चिनिन्छ। आफ्नी प्रिय रानीप्रतिको प्रेमको अनुपम उदाहरणको नमुनाका रूपमा ताजमहल आज जति चर्चित छ, भविष्यमा पनि त्यति नै चर्चित रहनेछ।

प्रेम सागरमा शाहजहाँ यति डुबेथे कि आफ्नी स्वर्गीय बेगम मुमताजलाई उनी ताजमहलको प्रत्येक कुनाकुनामा प्रतिबिम्बित भएको देख्थे। अन्तिम क्षणको अशक्त अवस्थामा पनि सम्राट् शाहजहाँले आफ्नो कोठामा राखेको ऐनामा ताजमहलको प्रतिबिम्ब हेरेर नै यस संसारबाट बिदा लिएका थिए । हाम्रै देशमा पनि राजा प्रताप मल्लले आफ्नी रानीको इच्छापूर्ति गर्न सात तीर्थका नदीहरूबाट पानी ल्याई ‘रानीपोखरी’ बनाए, जसले आज पनि काठमाडौं शहरको शोभा बढाइरहेको छ।
तर प्रसङ्ग यहाँ त्यस्तो व्यक्तिको छ, जो न राजा थिए, न त श्री ३, नेपालको इतिहास नै अर्कै ढङ्गले लेखियो, शासनको वंश पराम्परा नै अन्तैतिर मोडियो । यी व्यक्ति थिए– खड्गशमशेर, धीरशमशेरका माहिला छोरा।

जसरी, शाहजहाँले आफ्नी प्यारी बेगम मुमताजको स्मृति जीवन्त राख्नका लागि ‘ताजमहल’ बनाउन लगाए, त्यसरी नै खड्ग शमशेरका मुमताज हुन्‘तेजकुमारी’ र तिनको स्मृतिमा तयार भएको थियो– ‘रानीमहल’ । पश्चिम नेपालको पाल्पा जिल्लामा, कालीगण्डकीको एउटा किनारमा तानसेनबाटझन्डै ३ हजार फिटको गहिराइमा सात किलोमिटरको दूरीमा एक विशाल चट्टानमाथि निर्माण गरिएको यो सुन्दर भव्य कलात्मक महल आज पनि झन्डै सय वर्ष पुरानो आफ्नो प्रेमकथा बोकेर उभिइरहेको छ। ‘रानीमहल’को नामले प्रख्यात यस भव्य तर अब जर्जर भइसकेको महलले इतिहासको पाना पल्टाउनसहज भएको छ । उनको प्रेमको प्रतीकलाई जीवन्त राख्ने दुस्साहसले हामीलाई स्मरणीय कार्य गर्न उत्प्रेरित गर्दैछ।

पृष्ठभूमि

वि.सं. १९०३ को ‘कोतपर्व’को नरसंहारपछि जङ्गबहादुर प्रधानमन्त्रीमात्र बनेनन्, अपितु केही वर्षभित्रै उनी श्री ३ महाराज भए। अझ त्यसमाथि पनि आजन्म प्रधानमन्त्री हुनुका साथै भविष्यका प्रधानमन्त्री पनि आफ्नै वंशका भाइहरू मात्र बन्न सक्ने व्यवस्थासमेत गराए। जङ्गबहादुरले आफ्नो शेषपछि प्रधानमन्त्री बन्ने मर्यादाक्रम आफ्नै भाइहरूमा राखे र भाइपछि आफ्ना छोरामा आउने गरी निश्चिन्त गरे । तर यही एक गल्तीले गर्दा पछि गएर जङ्गबहादुरको छोरा, नातिसमेत मारिए र शासनको रोलक्रम नै धीरशमशेरका छोराहरूको हातमा पर्नगयो ।

वि.सं. १९३३मा जङ्गबहादुरको मृत्युपश्चात् उनका भाइ रणोद्दीप प्रधानमन्त्री भए । यिनी अलि सोझा प्रकृतिका भएकाले राजकाजको कार्यमा कान्छा भाइ धीरशमशेरको निकै चल्ती हुन थाल्यो । जङ्गबहादुरले प्रधानमन्त्रीको रोलक्रम बाँधेअनुसार, अब रणोद्दीपपछि धीरशमशेर नै प्रधानमन्त्री हुनेवाला थिए, किनभने अरू भाइहरूको मृत्यु भइसकेको थियो। धीरशमशेरपश्चात् अन्य कुनै भाइ नभएकाले प्रधानमन्त्रीको रोल फेरि जङ्गबहादुरका छोरा जगतजङ्ग तथा यिनका भाइहरूमा जाने अवस्था थियो ।
तर, परिस्थितिले यिनीहरू शक्तिकेन्द्रबाट टाढिँदै जानलागे । यी जङ्गबहादुरका सत्र भाइ छोरामा सबभन्दा महत्वाकांक्षी माहिला भाइ खड्गशमसेर थिए। उनी जसरी भएपनि सत्ता आफ्नो दाजुभाइमा ल्याउन दृढ थिए । तर यसका निमित्त सैन्य शक्तिको पूरा परिचालन गर्नका साथै आफ्नै काका तथा जङ्गबहादुरका छोराहरूलगायत अन्य काकाहरूका छोराहरू समेतलाई आफ्नो बाटोबाट नहटाई कार्य सिद्ध हुन सक्दैनथ्यो।

तर वि.सं. १९४१मा प्रधान सेनापति धीरशमशेरको मृत्यु भयो। उनका सत्र भाइ छोराहरू थिए, जसमध्ये जेठो वीरशमशेर, माहिलो खड्गशमशेर हुन्। धीरशमशेर प्रधान सेनापति छँदा, यिनका छोराहरूको जुन बोलवाल एवं मानसम्मान थियो, त्यो अब विस्तारै घट्दै गयो । वि.सं. १९४२ कार्तिक महिनामा ब्रिटिस भारत सरकारले माग गरेअनुसार चार रेजिमेन्ट गोर्खाली सेनारावलपिण्डीमा पठाउनुपर्ने भयो। जनरल वीरशमशेरको नेतृत्वमा उक्त फौज रावलपिण्डी पठाउने निर्णय प्रधानमन्त्री रणोद्दीपले गरे। नोभेम्बर २३ तारिख १८८५ का दिन उक्त सेना काठमाडौंबाट प्रस्थान हुने भयो। यसको दुईदिनअगाडि युद्धका लागि चाहिने सबै गोलीगठ्ठा वीरशमशेरलाई जिम्मा लगाइयो ।

पूर्वी कमान्डिङरणवीर जङ्गले रावलपिण्डी जाने मात्रै गोलीगठ्ठा जिम्मा लगाउने सल्लाह दिए तापनि रणोद्दीपले यसतर्फ जान दिएनन् र उल्टै ‘सान्नानी (धीरसमशेरको छोरा)लाई गोली गट्ठा जिम्मागाउनकिन नहुने’ भनी दुई दिनअगाडि नै सब हतियार गोली गट्ठा दिए। यो कुरा नै रणोद्दीपका लागि आफ्नैमृत्युनिम्त्याउने कुरा सिद्ध भयो । हातहतियार सबै जिम्मा लगाइसकेपछि, माहिला भाइ मेजर जनरलशमशेरले दाजु वीरशमशेरलाई विद्रोह गर्नमा उक्साए। तर, वीर अलि अनकनाएको देखी खड्गशमशेरले भने– ‘सैनिक विद्रोह म आफैँ गर्छु, हजुर चुपचाप बस्नुहवस्, यो मौका भने फेरि हाम्रो पालो आउन असम्भव छ।’ खड्गशमशेरको यस कुराले प्रेरित भई वीरशमशेरले आफ्ना अरू भाइ नेतासँग सरसल्लाह गरेर त्यही रातमा रणोद्दीपको हत्या गर्ने षडयन्त्र अनुरूप जिम्मा खड्ग शमशेरलाई नै दिए।

त्यसपश्चात् खड्ग शमशेर आफ्ना भाइ डम्मरशमशेर तथा भीमशमशेरलाई साथमा लिई रणोद्दीपको दरबारमा पुगे। सुत्नुअघि आफ्नो खुट्टामा तेल दल्न लगाई नाम लेख्दै गरेका रणोद्दीपलाई गोली हानी त्यहीँ हत्या गरे। यसरी खड्ग शमशेरको दुस्साहसले गर्दा वीरशमशेर प्रधानमन्त्री बन्न सफल भए। रणोद्दीपकोहत्या गर्नुका साथै जङ्गबहादुरको छोरा जगतजङ्ग तथा नाति युद्ध प्रतापजङ्गलाईसमेत त्यही रातमा फौज पठाएर मार्न लगाए। यसरी श्री ३ जङ्गबहादुरको छोरा र नाति पनि यस सैनिक विद्रोहका शिकार भए ।

वीरशमशेर प्रधानमन्त्री हुँदा उनी ३२ वर्षका थिए । खड्गशमशेर २४ वर्षका थिए । अब यी भाइहरूको रोलक्रमअनुसार प्रधान सेनापति खड्गशमशेर, पश्चिम कमान्डिङ जनरल रणशमशेर, पूर्व कमान्डिङ जनरल देवशमशेर, दक्षिण कमान्डिङ जनरल चन्द्रशमशेर, उत्तर कमान्डिङ जनरल भीमशमशेर र एवं क्रममा अन्य भाइहरू भए ।
तत्पश्चात् प्रधानमन्त्री वीरशमशेरले प्रधान सेनापति खड्गशमशेरलाई राजकाजको प्रायःजसो काम सुम्पे ।

यसले गर्दा खड्गशमशेर निकै शक्तिशाली बन्न पुगे। भाइभारदारहरू पनि उनीकहाँ चाकडी गर्न पुग्थे र विस्तारै स्थिति यस हदसम्म पुग्यो कि प्रधानमन्त्री तथा श्री ३ महाराज वीरशमशेरको समेत वास्ता गर्न छाडियो । यसैले गर्दा वीरशमशेर निकै सशङ्कित हुन पुगे र सोच्न थाले– ‘कहीँ खड्गशमशेरले आफूलाई पनि काकालाई जस्तै सिध्याउने त होइन?’ यस्तै मनस्थितिले पिरोलिएका वीरशमशेरले अब खड्गशमशेरलाई हरेक पाइलामा षड्यन्त्रकारीका रूपमा देख्न थाले। उनी खड्गशमशेरलाई नहटाईकन आफू सुरक्षित हुन नसक्ने निक्र्योलमा पुगे । अन्ततः वि.सं. १९४३ फागुन २० गतेका दिन खड्गशमशेरलाई प्रधानसेनापति पदबाट हटाइयो र सोही दिन यिनलाई पाल्पा, गौंडा नजिक हाल गुल्मी जिल्लाको ‘ठाडा’मा निर्वासित गरियो ।

वि.सं. १९४५मा खड्गशमशेरलाई ‘ठाडा’बाट पाल्पा गौंडाको तैनाथ गरियो र पश्चिमतर्फका प्रधान सेनापतिको पद दिई ‘चार टप्पा’ अर्थात् दिनहुँ घोडामा चढी घुम्न तराईतर्फ भैरहवा, तौलिहवासम्म र पहाडतर्फ बागलुङ र पर्वतसम्मको अख्तियारी दिई यिनको घाउमा मल्हम लगाउने काम गरियो । तर यो कुरा प्रस्ट थियो कि अब उप्रान्त काठमाडौंको शक्तिकेन्द्रमा खड्गशमशेरको कुनै पनि भूमिका रहने भएन। यस प्रकारले शमशेर खलकका लागि शासन सत्ता हत्याउनमा प्रमुख भूमिका खेलेका खड्गशमशेरले काठमाडौंको शक्तिकेन्द्रबाट टाढा, पाल्पामा निर्वासित जिन्दगी बिताउनुप¥यो । हाम्रो कहानीको शुरुवात पनि अब यहींबाट हुन्छ ।

प्रेमी खड्गशमसेर
राजकाज सञ्चालनबाट व्यस्त जीवन बिताउन अभ्यस्त भइसकेका खड्गशमशेरलाई, पाल्पाको निर्वासित जीवनसँग सम्झौता गर्न अति नै कठिन हुने नै भयो । यस्ता निराशाका क्षणहरूमा आफ्नो दुःख भुलाउन उनकी कान्छी रानी तेजकुमारी नै सहायक भइन्। रानी तेजकुमारीको मायालु बन्धनमा खड्ग शमशेर आफ्ना अतीतका घाउहरू सबै पुर्न चाहन्थे। तानसेनको त्यो प्राकृतिकवातावरण हेरेर उनी अघाउँदैनथे । कति दिन त नदीको किनारमा नै साँझ पथ्र्याे, अङ्कमाल गरेर बसिरहेका जोडीलाई बोलाउने हिम्मत अङ्गरक्षकलाई हुँदैनथ्यो । जब बगरमै झमक्क साँझ पथ्र्यो, तब फर्किने समस्या हुन्थ्यो । त्यसैले आफ्ना मालिकको यो स्वभाव थाहा पाएका उनका अङ्गरक्षकहरू तानसेनबाट प्रस्थान गर्दा नै लालटिन र मैन्टोल बोकेर हिँड्थे।

यस प्रसङ्गमा पाल्पाली बूढापाकाहरू रोचक प्रेम कथा सुनाउँछन् । उनीहरूका अनुसार खड्गशमशेरको एउटा हात घोडाको लगाममा हुन्थ्यो भने अर्को हात रानीको कम्मरमा । रानी घरीघरी आफ्नो हात पछाडि फर्काएर आफ्नो राजालाई बाँधिरहेकी हुन्थिन्। यसरी प्रायःजसो अर्गली, रिडी, राम्दीलगायत विभिन्न रमणीय स्थलहरूमा घुम्न जाँदा उनीहरू कोसौं परपरसम्म पुग्थे। खासगरी तानसेनबाट साढे दुई घण्टाको बाटो तल पर्ने काली गण्डकीको किनार उनीहरूको निकै मनपरेको क्रिडास्थल थियो ।

एकान्तप्रेमी रानी असाध्य धर्मात्मा पनि थिइन्। कुनै नयाँ एकान्त ठाउँमा पुगेपछि केहीबेर त उनी त्यहाँका वनदेवताको पूजा–प्रार्थनामै बिताउँथिन्। उनका पतिदेव पनि उनीबाट यति धेरै प्रभावित थिए कि पत्नीका हरेक इच्छाहरू पूरा गर्न कुनै कसर बाँकी राख्दैनथे। ‘स्वामी! म अकालमै मरें भने हजुर के गरिसिन्छ?’ खड्गशमशेरको न्यानो प्रेमको अँगालोमा बाँधिएकी रानीले एक दिन भनिन् । ‘धत् लाटी, यस्तो कुरा पनि बोल्नू!’ रानीको यो कुरा उनलाई मन परेन। ‘मैले यदि साँच्चिकै सफा मनले हजुरको सेवा गरेकी रहिछु भने यसैगरी हजुरको काखमा मर्न पाऊँ!’ उनी गम्भीर भावमादेखिइन्। ‘तिमी किन यस्तो कुरा गछ्र्यौ रानी, तिमीलाई बडामहारानी नबनाईम मर्न दिन्नँ।’ खड्गशमशेरले आफ्नो मुठी कसे।“तर स्वामी, मेरा लागि त हजुर सधैँश्री ३ होइसिन्छ। हजुरको काख कुनै महारानीको सिंहासनभन्दा के कम छ र! यसभन्दा बढी मलाई कुनै चाहना छैन ।’ उनले आफ्नो निधार खड्गशमशेरको छातीमा राखिदिइन्।‘तिमी जेसुकै भन तिम्रैलागि भनेपनि काठमाडौँमाथि हमला नगरी छाड्दिनँ ।’ उनी दृढ देखिए । ‘तर, मलाई त किनकिन आफ्नो आयु छोटो छ जस्तो लाग्छ।’, उनले काली गण्डकी बगेतिर हेर्दै भनिन्– ‘मेरा लागि त हजुरले कुनै जोखिम मोल्नु नै पर्दैन, मात्र एउटा वचन दिए पुग्छ।’ रानी आफ्नै कुरामा लागिरहिन् ।

‘तिम्रा लागि त म ज्यान दिन पनि तयार छु, भन मैले के गर्नुप¥यो?’ उनले आफ्ना दुवै हातले रानीका गाला समातेर आफूतिर फर्काए । उनले टप्प दुईथोपा आँसु खसाले । आफ्ना प्रियतमको सो हाल देखेर उनको छातीमा टाउको अड्याएर रानी पनि रून थालिन्। उनले धेरैबेरसम्म पतिका आँखामा टुलुटुलु हेरेपछि भनिन्‘म मरेपछि यस काली गण्डकीको यसै किनारमा मेरालागि एउटा दरबार निर्माण गरेर तीर्थस्थल बनाइदिसेला है?’ रानी किन एकोहोरिएकी हुन्, खड्गशमशेरले पत्तो लगाउन सकेनन् । रानीको कुरा सुनेर उनका आँखा रसाएर आए। हेर्दाहेर्दे काली गण्डकीको बालुवामा उनले तप्प दुई थोपा आँसु खसाले । आफ्नो प्रियतमको सो हाल देखेर छातीमा टाउको अड्याएर रानी पनि रुन थालिन् ।

‘तिमीलाई आज के भयो रानी, यो पनि कुनै बोल्ने कुरा हो र! आफ्नाहरूले गलहत्ती लगाएर निकालेपछि तिमीबाहेक मेरो यस संसारमा को छ र? अब आइन्दा कहिल्यै यस्तो कुरा मुखबाट ननिकाल है!’ उनले रानीको गाला मुसारे।तर बडा अचम्मको कुरा भयो, यसको केही दिनपछि नै काली गण्डकीको किनारमै उनको निधन भयो। रिडी तीर्थस्थलमा स्नान गर्न गएकी रानी फेरि फर्किनन् । खड्गशमशेर एकदमै एक्ला भए। उनको अगाडि रानीका तिनै अन्तिम बचनहरू मात्र प्रतिध्वनित हुन थाले। उनका आँखाबाट निद्रा सदाका लागि बिलायो। उनी विक्षिप्त जस्तै एक्लै बरबराउन थाले। उनलाई आफैँदेखि डर लागेर आयो । कतै रानीको अन्तिम इच्छा पूरा नगरीकन आफू पनि मर्छु कि भन्ने चिन्ता लाग्यो। त्यसैले उनले तुरुन्त कलकत्ता, भारतबाट बेलायती इन्जिनियर ल्याएर कालीगण्डकीको उपयुक्त स्थानमा दरबार बनाउने ठाउँका लागि सर्वेक्षण गर्न लगाए।

रानीमहलको बाटोः पछारिन पनि ठाउँ छैन

यो कुरा १९५० सालको हो । रानी स्वर्गे भएको वर्षदिन बित्दा नबित्दै रानीमहलको शिलान्यास गरियो । शिलान्यास गरेको शुरूको तीन वर्ष निर्माणस्थलसम्म जाने बाटो र पुल बनाउँदा बनाउँदै बित्यो । पाल्पातिरबाट बगेर गएको बराङदी नदी कालीगण्डकीमा मिसिने दोभानमा गोथिक (ग्रीक) शैलीमा बनाउन शुरू गरिएको यो महल १९५४ सालको कार्तिक वैकुण्ठे चतुर्दशीका दिन पूरा भयो। यसबीच यसको नाम रानीमहल र यस घाटको नाम रानीघाट प्रचलित भइसकेको थियो ।

 ठूलो बाढी र कटानले पनि केही बिगार्न नसक्ने चट्टाने थुम्कोलाई भवन निर्माणका लागि उपयुक्त ठह¥याइएको यो ठाउँमा तानसेन बजारबाट पुग्न निकै विकट पहाड र ठाडो भीर पार गर्दै जानुपर्छ । त्यसैले त्यही महलमा पुग्नकै लागि भनेर भवन बनाउनुभन्दा अगाडि बाटो र पुलमा मनग्य समय र श्रम लगाउनुप¥यो । कडा पहरो फोरेर हात्ती हिँड्ने बाटो बनाउनु कुनै सामान्य कुरो थिएन, तर यो असजिलो काम पनि खड्गशमशेरको दृढ इच्छाशक्तिको अगाडि सजिलो भइदियो ।

यो स्थान तानसेनबाट करिब७ किलोमिटर टाढा पर्छ र यस ठाउँमा पुग्न झन्डै साढे दुई घण्टा जति लाग्छ । मर्मतसम्भार हुन नसकेकाले आजभोलि भने हात्ती हिँड्न सक्ने बाटो बाँकी रहेको छैन। ठाउँठाउँमा सानो गोरेटो मात्र बाँकी छ। रानीघाट पुग्नुभन्दा एकछिन अगाडि आउने भिरालो बाटोमा छिपछिप पानी पनि बगिरहने भएकाले ठाउँठाउँमा अति नै चिप्लो छ । डरलाग्दो कुरा त के छ भने यस भिरालो बाटोबाट मान्छे चिप्लियो भने पछारिने ठाउँपनि पुग्दैन, एकैचोटि ‘वैकुण्ठ’ पुगिन्छ। सायद यसै कारणले पनि यस भीरको नाम वैकुण्ठे भीरराखिएको हुनसक्छ । यस भीरबाट बैकुण्ठे नाम गरेको सैनिक त्यहीँबाट लडेर वैकुण्ठ गएकाले यसको नाम भीर राखिएको हो कि जस्तो पनि लाग्छ ।

जेहोस्, ‘ट्रेकिङ’मा मजा लिनेहरूका लगि यो जति स्वादिलो बाटो अर्को हुनै सक्दैन किनभने यति दुःख गरेर वैकुण्ठे भीर पार गरेपछि जुन स्वर्गीय ठाउँ हेरेर आनन्दित हुन पाइन्छ, त्यसको मजा अर्कै छ। यस्तो मजा हिम्मतिला पर्यटकहरूले मात्र पाउँछन्। ‘रानीमहल’को पहिलो दर्शन पनि यसै वैकुण्ठे भीर पार गर्नासाथै हुन्छ । बाटोमा पर्ने झरनाहरूको मनमोहक दृष्यले पनि आनन्दित नहुने सायद कोही नहोलान्।

रानीमहल र यसको रौनक
रानी महल चट्टाने थुम्कोमाथि छ । तर झट्ट हेर्दा चट्टान देखिँदैन। चट्टानको, फेदैबाट कतै चट्टानलाई कुँदेर र कतै गाह्रो लगाएर पूरै घरजस्तो बनाइएको छ। रानीमहलको दक्षिणतर्फ पाल्पातिरबाट आउँदा बाटोमा पर्ने वैकुण्ठे पहाड पर्छ भने पारिपट्टि, कालीगण्डकी पारि स्याङ्जा जिल्लाको सतुंगा पर्छ। महलको मुख्य मोहडा उत्तर–पश्चिम फर्किएको छ। पश्चिममा कालीगण्डकी र पूर्वमा वराङदी नदी छ। महल दोभानको ठीक अन्तिम विन्दुमै अवस्थित छ। विशाल चट्टानको थुम्कोमाथि निर्मित यस महलले झन्डै ११२ फिट लामो भूभाग ओगटेको छ। मुख्य भवन २ तले भएको यसको उचाइ ५६ फिट जति छ ।

साना ठूला गरी २५ कोठा भएको यो महल कुनै समयमा मूल्यवान् इरानियन गलैंचा एवं कलकत्ताको सिलार्जस कम्पनी मार्फत बेलायतबाट झिकाइएको अत्याधुनिक फर्निचरहरूबाट सजिएको थियो। यस महलको सीमानाभित्र विशाल प्राङ्गण छ। प्राङ्गणको दायाँ–बायाँ पानी पोखरी, मनमोहक बगैंचा, कलश, आधुनिक पार्क, फलामे खम्बाहरू र झुलिरहेका फलफूलका गमलाहरू छन्। त्यस्तै पश्चिमपट्टि नाग–नागिनीहरूले शिवलिङ्गमा जलसेचन गरिरहेका कलात्मक दृश्यहरू बनाइएका छन्। साथै सोही जलधारामा नुहाउन सुविधायुक्त स्नानघर पनि बनाइएको छ। उत्तर–पश्चिम कुनामा अर्थात् कालीगण्डकीको ठीक माथिल्लो भागमा भव्य बुर्जायुक्त आठकुने आकर्षक शीतल पाटी (विश्राम घर) पनि बनाइएको छ ।

यसैगरी प्राङ्गणको तल्लो भागमा पूर्वपट्टि कार्यालय कक्ष रहेको छ भने त्यसको तल्लो भागमा घोडा बाँध्ने तबेला, सुरक्षा सेनाहरू बस्ने र खाना पकाउने ठाउँ बनाइएको छ । महलको प्राङ्गणदेखि पश्चिममा कालीगण्डकीको किनार र पूर्वमा बराङ्दी नदीसम्म कुँदिएका सिँढीहरू छन्। महलमा स्वच्छ खानेपानीको व्यवस्था गरिएको र त्यो पानी महलको माथिल्लो कोठासम्म पु¥याइएको थियो भन्ने कुरा भग्नावशेषका डोबहरूले देखाउँछन्। वैकुण्ठे पहराबाट कुलो खनेर पानी यहाँ ल्याइएको थियो। अनकन्टारमा बनेको त्यस महलमा बिजुली बत्ती पनि बालिने व्यवस्था रहेछ भन्ने पनि कुरा अवशेषहरूले नै बताउँछन्। सायद बत्तीका लागि चाहिँ जेनेरेटर नै उपयोग गरिँदो हो। यस महलमा एउटा अभिलेख पनि राखिएको छ, जसमा प्रस्ट शब्दमा रानी तेजकुमारीको स्मृतिमा बनाइएको कुरा उल्लेख गरिएको छ।
स्वर्गीय रानीसँग यसरी गफ गरिन्थ्यो

मुगल सम्राट् शाहजहाँले ताजमहलमा जसरी आफ्नी रानी मुमताजको प्रतिबिम्ब देख्थे, ठीक त्यसैगरी हाम्रा खड्गशमशेर यस महलको विश्रामघरमा बसेर स्वर्गीय रानीसँग गफ गर्न पाउँथे। मध्यरातमा उनी नुहाई धुवाई गरेर पश्चिमपट्टिको (कालीगण्डकीको भुमरी परेको ठीक माथिल्लो भागमा रहेको) बुर्जामा उभिएर कालीगण्डकीलाई एकटक लगाएर हेरिरहन्थे। भनिन्छ, काली गण्डकीको आवाजमा उनी आफ्नी स्वर्गीय रानीको बोली प्रतिध्वनित भएको पाउँथे। यसै बोलीसँग उनी कुरा गरिरहन्थे, आफ्नो प्रश्नको जवाफ पाइरहन्थे।

बिचरा रानीमहल
रानीमहल रहेको ठाउँमा आजभोलि हरिशयनी र हरिबोधनी एकादशीहरू, शिवरात्री र जैकुण्ठे चतुर्दशीमा मेला लाग्छ। त्यस भेकका मान्छेहरूको दाह संस्कार गर्ने ठाउँ पनि यहीँ भएको छ। पारि स्याङ्जातिरबाट कालीगण्डकीमाथि रहेको नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल तरेर आउनेजाने बटुवाहरूका लागि, तीर्थयात्री र मलामीहरूका लागि गत वर्षसम्म यो थकाइ मार्ने भवन थियो। तर, अब त यसले कसैलाई एकछिन ओत दिन पनि नसक्ने भएको छ। बिचरा रानीमहलको जस्ताको ताजलाई २०४२ सालको हुरीले फुकालेर भुइँमा फालिदिएपछि यो महल झाँको फिँजाएर बसेकी बूढी जस्तै देखिएको छ ।
यस महलमा प्रयोग भएका किलाकाँटीलगायतका सम्पूर्ण सामान विदेशी थिए। यो कुरा जति बल गरेपनि उखेलिन नसकेका केही बाँकी रहेका कब्जाहरूले बताउँछन्। भिक्न मिल्ने र बल गरेर तान्दा आउने काठपात र काँटीकन्जाहरू भने ‘आ… अब यो बूढो महललाई के काम’ भनेर अरूकै हात लागे । तर, हाम्रो सरकारले भने यस महलको कत्ति सदुपयोग गरेन । यस रानीघाटबाट ¥याफ्टिङ गरेर कालीगण्डकी हुँदै नारायणी नदीको किनारमा रहेको शहर नारायणघाटसम्म सजिलैसँग आउन सकिन्छ भन्ने कुरा पर्यटकलाई बताइदिएर विदेशी मुद्रा कमाउन सकिन्छ, तर यो झन्झट गर्न सायद सरकार चाहँदैन ।

खड्ग शमशेर के भए त?
अन्तमा पुनः खड्गशमशेरकै प्रसङ्ग कोट्याऊँ । प्रधानमन्त्रीको रोलक्रमबाटहटाइएका खड्गशमशेरको पालो फेरि आएन । वीरशमशेरको निधनपछि देवशमशेर प्रधानमन्त्री बने, तर उनलाई चार महिना पनि प्रधानमन्त्री बन्न दिइएन । कुटिल चन्द्रशमशेर देव शमशेरलाई हटाई आफैँ प्रधानमन्त्री बने। तर चन्द्रशमशेरलाई आफ्ना दाजु खड्ग शमशेरबाट भय छँदै थियो । निर्वासित भएर बसेका खड्ग शमशेरलाई त्यहाँ पनि चैनसँग बस्न दिइएन। उनलाई काठमाडौंमा हमला गर्न लागेको आरोप लगाई चन्द्रशमशेरले सैन्य शक्ति प्रयोग गरी त्यहाँबाट पनि धपाए । भनिन्छ, आफ्नो बाँकी जिन्दगी, यिनले वनारसमा बिताउनुप¥यो र त्यहीँ १९७८ साल पुस ८ गतेका दिन यस संसारबाट बिदा लिए। आफ्ना बाहुबलले शमशेर खलकलाई शासन सत्ता दिलाउनमा समर्थ, तर आफ्नै भाग्यले ठगिएका खड्गशमशेर प्रधानमन्त्री त बन्न सकेनन्। तरपनि आफ्नो प्रेयसीको सम्झनामा बनाइएको ‘रानीमहल’ आज पनि कालीगण्डकीको किनारामा उभिरहेको छ। यसको जर्जर अस्तित्वले त्यहाँका बासिन्दालाई खड्ग शमशेरको प्रेमकथा सुन्न र सुनाउन आजपनि घचघच्याइरहेको छ।

प्रतिक्रिया दिनुहोस्