अङ्क २५, २०४४वैशाख–जेठको अङ्क

पर्दाभित्रको नाटक भुँवरीभित्र डली



‘हेलो… सिखा । सिंगापुरमा केही पत्ता लाग्यो ?’
‘अहँ, त्यहाँ त केही छैन ।’
‘त्यसो भए अब मनिलामै बुझ्नुपर्ने भयो ।’
‘ए मोरी तँलाई थाहा छ ? डली गुरुङले आत्महत्या गरिन् रे !’
‘के भए छ ?मोरीको लभ ट्रेजेडी त होइन ?’
‘होइन, होइन ।सिंगापुरमा हो कि फिलिपिन्समा हो लागुपदार्थ तस्करी गरेको अभियोगमा समातेकाले रे !’
‘हो ………….र ?’
‘मोरी नभए यत्रो हल्ला हुन्थ्यो त ? बिचरीलाई कसले फसाए छ, यस्तो खाऊँ–खाऊँ र लाऊँ–लाऊँ भन्ने उमेरमा । अब त हामी जस्ती तरुनी छोरीबेटीहरूले भुँइमा टेक्दा पनि फुकेर टेक्नुपर्ने भइसक्यो ।’
दिन दुई गुणा रात चौगुणा हुँदै बढ्छ, डलीको हल्लाले । शहर बजार ढपक्कै ढाक्छ पत्रपत्रिकामा ठूला–ठूला अक्षरले डलीको नाम लेखिन्छ, फोटो छापिन्छ । सबैको मनमा कौतूहल जाग्छ । तर स्पष्ट पुष्टि कतैबाट हुँदैन । रात बित्दै जान्छ, अग्राख पलाउँदै आउँछ । हो भनेर ठोकुवा गर्न पनि कसैले सक्दैन, होइन भनेर पन्छिन पनि जान्दैन । आखिर हाम्रो कर्तव्य मात्र नभई एक कलाकारका सम्बन्धमा खोजीनीति गरी सही र सत्य समाचार प्रकाशनमा ल्याउने दायित्व हामीमाथि सुम्पिन आएको महसुस गरी देश तथा विदेशबाट समेत विविध साधनबाट समाचार सङ्कलन गर्न हामी तत्पर भयौं ।

मजस्ती एउटी नारीलाई नेपाल फर्कनसमेत घृणा उत्पन्न गरायो 

काठमाडौंको शहरमा जसरी यस वर्षको मौसमी गर्मी, दिन प्रतिदिन बढेकोछ त्यसै गरी लागुपदार्थ तस्करी गरेको अभियोगमा चलचित्र अभियानकी नायिका सुश्री डली गुरुङलाई अन्तर्राष्ट्रिय बजारमा गिरफ्तार गरी जेल कोचिएको, मृत्युदण्ड पाइसकेको र आत्महत्या गरेको आदि इत्यादि समाचार प्रकाशन एवं होहल्लाले झन्झन् चुली थप्दै गएको छ । यसरी थपिँदै गएको चुलीको जग के हो भन्ने कुरा हामीले अनुसन्धान गरिसकेका छौं ।

अतः हाम्रा जिज्ञाशा पाठकवर्गमा भ्रमनपरोस् भन्ने उद्देश्य राखी सुश्री डली गुरुङसँग यस स्तम्भकारले टेलिफोन सम्पर्कस्थापना गरी सोधिएका सवालजवाफसमेत यस पर्दाभित्रको नाटकमा प्रस्तुतगर्न लागेका छौं । चलचित्र ‘अभियान’मा नायिकाको भूमिका निर्वाह गरेकी सुश्री डली गुरुङको नाम चलचित्रसर्वसाधारणसमक्ष प्रदर्शन हुनुभन्दा अगावै एक खाद्य उद्योगका लागि तयार गरिएको मोडलिङबाट निकै चर्चित भयो । सायद यसै मोडलिङको प्रभावले होला, पञ्चायत व्यवस्थाले २५ वर्ष टेकेको उपलक्ष्यमा श्री ५ को सरकार र एमएम फिल्मको संयुक्त लगानीमा निर्माण हुन लागेको ‘२५ वसन्त’ कथानक चलचित्रमा नायिकाको भूमिका निर्वाह गर्न चयन भएकी थिइन् भन्ने अनुमान पर्यवेक्षकहरूले गरेका छन् ।

‘२५ वसन्त’मा अभिनय गर्न डलीले सम्झौतापत्रमा हस्ताक्षर गरिन् तर प्राविधिक उपकरणको व्यवस्थापन ढिलो भएकाले गर्दा निर्धारित समयमा चलचित्र शुटिङ हुन नसकेकाले ब्डादसैँको लगतै डली काठमाडौंबाट प्रस्थान गरिन् । पाकिस्तानबाट निर्माण हुने ‘लेडी स्मगलर’ नामक चलचित्रमा नायिकाको भूमिका निर्वाह गर्न डली गुरुङलाई चलचित्र अभियानको शुटिङमा पाकिस्तानबाट आएका निर्देशक तथा निर्माताले चयन गरेको हो भन्ने कुरा विशेष सूत्रबाट जानकारी प्राप्त भएको छ । अतः डली गुरुङ उक्त चलचित्रमा मनोनयन हुनुको खास कारण उनी शास्त्रीय नृत्य, उर्दू भाषा एवं अंग्रेजी भाषामा निपुणसमेत भएकाले चलचित्र नायिकाको निमित्त उपयुक्त मोर्डन गर्ल (आधुनिक नारी) भएकाले हो भन्ने कुरा पर्यवेक्षकहरूको धारणा रहेको छ ।

विक्रम संवत् २०२४ साल माघ महिना (इस्वी सन् १९६७ नोभेम्बर १५)मा मलेसियाको पेनाङमा जन्मिएकी सुश्री डली गुरुङको रहनसहन, वातावरण, अध्ययन आधुनिक पश्चिमी समाजको हावाले छोएका छरछिमेकी सङ्गी साथीहरूसँग भएको थियो । आफ्ना बाबु इन्द्रजित गुरुङ गोर्खा ब्रिटिस आर्मी भएकाले उनको पारिवारिक वातावरण पश्चिमी वातावरणसँगघुलमिलभएकोथियो । त्यसैले डली छोरी मान्छे भएतापनि कसैसँग धक नमानी बोल्थिन् । चुलबुले चढ्दो बंैसकी डली केटी होस् या केटा सबैलाई समान व्यवहार गर्थिन् भन्ने उनको पारिवारिक भनाइ छ ।

२०३१ सालमा इन्द्रजित गुरुङ काठमाडौं आउँदा ललितपुरको सानेपामा घर खरिद गरी गएका थिए । त्यसको केही वर्षपछि भारतको मणिपुर (नागाल्यान्ड)बाट सानेपामा आफ्ना परिवारसहित बसोबास गर्न थालेका थिए । करिब २ वर्षअगाडि उनकी आमाको शारीरिक रोगले मृत्यु भएको थियो । आमाकोमृत्युपश्चात् उनको पारिवारिकजीवनमा बाबु इन्द्रजित गुरुङले आफ्ना छोराछोरीमा आमा नभएको आभास नहोस् भन्ने उद्देश्यले बाबु भएर आमाको समेत दायित्व पूरा गरिरहेका छन् भन्ने कुरा उनका छरछिमेक एवं इष्टमित्रबाट स्पष्ट भएको छ ।

डली गुरुङले काठमाडौं छाडेको झन्डै ६ महिना व्यतीत भइसकेको छ । तर दुई महिना अगाडिदेखि उनको नाम पत्रपत्रिकाका लागि सामग्री तयार गर्ने मसला बनेको छ । राजधानीबाट प्रकाशन हुने विभिन्न पत्रपत्रिकाले डलीको नाम उच्च तस्कर एवं होटल सञ्चालकलगायत बहालवाला परराष्ट्र मन्त्रीसँग पनि सम्बन्ध रहेको तथा उनको घर महाराजगंजमा रहेको र उनका बाबु इन्द्रजित गुरुङले सौतिनी आमा ल्याएकाले बाबुसँग छुट्टिएर उनी सानेपामा डेरा गरी बसेकी छिन् भन्ने कुरा उल्लेख गरिएको छ ।

यस्तै अर्को एक साप्ताहिक प्रकाशनले डली मनिलामा बसोबास गरिरहेको घरको टेलिफोन नम्बर मनिला जेलको हो भन्ने आशङ्का गरी अर्को टेलिफोनसमेत उल्लेख गरी उक्त टेलिफोन नम्बरबाट काठमाडौंका एक युवकसँग सम्पर्क स्थापित गर्न प्रयोग गर्ने र उक्त टेलिफोन नम्बरसम्भवतः भारतको राजधानी दिल्लीस्थित ‘होटेल मौर्य सेराटन’को रहेको कुरासमेत उल्लेख गरी निकै गहिराइमा पुगिसकेको कुरा पुष्टि भएको छ ।

यसै सिलसिलामा यस स्तम्भकारले दिल्लीमा यस मासिक प्रकाशनका प्रतिनिधिसँग होटल मौर्य सेराटनको टेलिफोन नम्बर कति अङ्कबाट शुरू हुन्छ भनी बुझ्न लगाउँदा ३०१०१०१ बाट शुरू हुने र ८८३२६३ बाट शुरू हुने टेलिफोन नम्बर सम्भवतः भारतको उत्तर प्रदेशको रहेको कुरा हाम्रा प्रतिनिधिले जानकारी पाएका छन् ।

यसै प्रसङ्गमा २०४४ वैशाख ६ गते साँझ डली गुरुङका माइला दाजु महेश गुरुङलाई साथ राखी साँझ ५ बजे कामना कार्यालयबाट यस स्तम्भकारसमेत बसी टेलिफोन नम्बर ७३२१२१७मा डली गुरुङसँग मनिलामा कुरा गर्न दूरसञ्चारमा लाइनको माग गरियो । लाइन माग गरिएको ठीक १९ मिनेटमा (५ः१९) डलीसँग ट्रक टेलिफोनलाइन स्थापित भयो ।
ट्रंक लाइन स्थापित भएपछि यस स्तम्भकारले डलीसँग गरेको
प्रश्नोत्तर:
स्तम्भकार: ‘२५ वसन्त’मा सम्झौता गरी किन अभिनय नगरेको हो ?
डली: म त्यस फिल्ममा सम्झौता गर्ने पक्षमा थिइनँ । कसैको बलजफ्तीले मैले सम्झौता पत्रमा हस्ताक्षर गरें तर धेरै लामो समय पर्खंदा पनि फिल्म शुटिङ शुरू हुन नसकेकाले म हिडेकी हुँ ।

यसै प्रसङ्गमा पाकिस्तानबाट निर्माण गर्न लागेको ‘लेडी स्मगलर’ चलचित्रको कार्य पूरा गरेर फिलिपिन्स हिँडेको हो या कार्य नै नसकी हिँडेको हो भन्ने सवालको जवाफमा डलीले भनिन्– ‘पाकिस्तानमा म झण्डै दुई महिना बसें । त्यहाँका निर्देशक समिम आरा तथा निर्माता नादिमले शुटिङको समय निश्चित तोक्न नसकेको कारण म पाकिस्तानबाट फिलिपिन्स हिँडेकी हुँ ।’ केही पाकिस्तानीहरूले उनलाई बेलाबेलामा ट्रंक गरी हैरान गरिरहेका छन् भन्ने कुरासमेत स्पष्ट गरेकी छिन् ।

काठमाडौंमा मच्चिएको लागुपदार्थ तस्करीको हल्ला सम्बन्धमा सत्य के हो भनी प्रश्न गर्दा डलीले भनिन्– ‘यी सब कुरा झूठा हुन्। मदेखि डाहाले छटपट भएर लेखेका वा लेखाएका हुन् । यस्ता तथ्यहीन समाचारबाट नेपालका केही पत्रपत्रिकाले मेरो चरित्र हत्या गर्ने प्रयास गरेकोले म ज्यादै दुःखी छु । जुन कुराबाट मलाई नेपालका आफ्नो एउटै घरआँगनका दाजुभाइप्रति विश्वासको सङ्कट आइपरेको जस्तो लागेको छ । मजस्ती एउटी नारीलाई नेपाल फर्कनसमेत घृणा उत्पन्न गरायो ।’

आगामी केही समयपछि हुने ‘एसिया मिस कम्पिटिसन’मा भाग लिने निधो गर्नुभएको छ भन्ने कुरा के सत्य हो भन्दा डली भन्छिन्–‘भाग लिने विचार गरेकी हुँ तर यसमा होइन ।’उनले यसपछि हुने ‘एसिया मिस कम्पिटिसन’मा भाग लिनेछु भनेकी छिन् ।
हाल फिलिपिन्समा के गरिरहनुभएको छ भन्ने प्रश्नको उत्तरमा उनले भनिन्– ‘मोडलिङगर्दै छु,यसको आम्दानीबाट यहाँ भाषा अध्ययनसमेत गरिरहेको छु ।’यस कार्यबाट आफूलाई नेपालमा भन्दा राम्रो आम्दानी भएकाले मनिलामा बसिरहेको बताइन् । यसै टेलिफोन सम्पर्कमा डली बसिरहेको घरका घरधनीसँग कुराकानी भएको थियो ।

डलीका पिता इन्द्रजित गुरुङ

यसैगरी डली गुरुङका पिता इन्द्रजित गुरुङसँग सम्पर्क राखी डलीले आत्महत्या गरिन् भन्ने हल्ला, जेल परेको आदि कुरा सम्बन्धमा तपाईंको प्रतिक्रिया के छ भनी प्रश्न गर्दा उत्तरमा गुरुङ भन्छन्– ‘यस विषयमा म मेरी छोरीप्रति पूर्ण विश्वस्त छु । साथै मैले छोरीसँग बेलाबेलामा ट्रंकबाट कुराकानी पनि गरेको छु । यहाँ जतिपनि उनको विषयमा चर्चा भएको छ, केबल फजुल गफ हो । त्यस कारण यसमा म के टिप्पणी गरूँ । जुन पत्रपत्रिकामाथि हाम्रो विश्वास थियो त्यो विश्वास घट्दै गएको छ । छरछिमेकको तथा साथीभाइले भेट्नासाथ तिम्रो कान्छी स्वास्नी खोई भनेर मजाक गर्न थालेका छन्, अरू कुरा के भनौं ?’

(डली गुरुङसँग यस स्तम्भकारले फिलिपिन्समा टोलिफोन सम्पर्क गर्दाभरिएको टेपवार्ता कसैलाई सुन्न इच्छा भएमा कामना कार्यालयमा आई सुन्न सक्नुहुनेछ ।) आर.के धर्मस्थलीको विशेष रिपोर्ट

निर्देशक नीर शाह
डलीसँग फिलिपिन्लमा ट्रंकबाट कुराकानी भइसकेपछियस स्तम्भकारले ‘२५ वसन्त’का निर्देशक नीर शाहसँग २०४४ वैशाख १७ गते बिहान ११ बजे टेलिफोन सम्पर्क गरी सोधेको एक प्रश्नको उत्तरमा शाह भन्छन्– ‘डलीले सम्झौता गर्दा मेरो फिलिपिन्समा पनि शुटिङ गर्नु छ त्यसकारण त्यहाँको र यहाँको शुुटिङ समय नजुधेमा म शुटिङ गर्नेछु भनेकी थिइन् । तर हाम्रो चलचित्रको उपकरणको व्यवस्थापन ढिलो भएकाले निर्धारित समयमा फिल्म शुटिङ हुन सकेन । डली फिलिपिन्स जानुभन्दा केही दिन अगाडि आएर म फिलिपिन्स जाँदै छु भनेर स्पष्ट भनेर गएकी थिइन् ।’ त्यसपछि डलीको स्थानमा अभिनय गर्न नायिका अंशुमाला शाहीलाई चयन गरिएको निर्देशक नीर शाह बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्