नेपाल समाचारपत्रसँगको मेरो साइनो



२०५३ फाल्गुण ३ गते शुक्रबार तत्कालीन राजपरिषद् भवनमा आयोजित विशेष समारोहमा श्रद्धेय प्रधानसम्पादक पुष्करलाल श्रेष्ठ र बामपन्थी नेता माधवकुमार नेपालका बीच पंक्तिकार ।
दानदास श्रेष्ठ
पुष्करलाल श्रेष्ठ र कामना प्रकाशन गृह एउटै असर्फीका दुई पाटा ठानेको छु । नेपाली पत्रकारिताको ढुकुटीको यो अमूल्य असर्फी इतिहासकै एउटा स्वर्ण दस्तावेजको रूपमा स्थापित नेपालीपनको अमूल्य निधि हो ।
नेपाली पत्रकारिताका जाज्वल्यमान नक्षत्र श्रेष्ठको जीवन समर्पणले निर्मित निधिसँग आबद्ध जो कोहीको छाती गौरवले फुल्नु स्वाभाविक हो । जीवन संघर्षको एक अध्यायका क्रममा २०५२ फागुन १ गते कामना प्रकाशन गृहमा प्रवेश गरेको थिएँ । संयोगवश जनयुद्धको नाम दिएर माओवादी जंगल पनि सोही दिन पसेको थियो ।
दरबारको जागिरेले अन्यत्र काम गर्न नपाउने राजप्रासादको कडा नियमका बाबजुद कामना प्रकाशन गृहमा थप जागिर खानुको छुट्टै कहानी छ ।  नेपाल समाचारपत्र (तत्कालीन ‘आजको समाचारपत्र’) का सबै पृष्ठको अन्तिम भाषा सम्पादनको जिम्मा लिएर शुरू गरेको त्यो रात्रिकालीन जागिर दरबार हत्याकाण्डपछिको दुई वर्षसम्म सहायक जागिर बनाएको २०६० देखि मुख्य जागिरकै रूपमा स्थापित गरियो ।
मुखिया पदमा२०३४ मा दरबार छिरेको २०६० सालमा राजाको सहायक संवाद सचिव पदमा पुगेर अवकाश भएकै वर्षबाट नेपाल समाचारपत्रको जिल्ला डेस्क इडिटरको रूपमा सहायक सम्पादक भई काम गर्ने जिम्मा पाएको थिएँ । त्यसपछि झण्डै आठ वर्ष गरी कुल १८ वर्ष कामना परिवारमा आबद्ध रहेका बखतको आरोह–अबरोहका अनुभूति आज पनि मानसपटलमा ताजा रहिरहेको छ ।
पहिलो अनुभूति, भाषा सम्पादकको विज्ञापन अनुसार अन्तर्वार्ता दिन कामना प्रकाशनमा प्रवेश गरेको अपराह्नको समयमा प्रकाशन गृहबाट झुण्ड झुण्ड मानिसहरूको तँछाड–मछाड भीड सामान ‘लुट्दै’ बाहिर दौडिरहेको दृश्यले मन खलबलियो । पछि बुझ्दा कुरो अर्कै रहेछ । त्यस समय नेपालकै नं. १ सन्ध्याकालीन प्रकाशन‘महानगर दैनिक’बजारमा शीघ्रातिशीघ्र पु¥याउन प्रतिस्पर्धा गर्ने हकरहरूको तछाडमछाड पो रहेछ ।
त्यसबेला दैनिक १ लाखप्रति महानगर प्रकाशन हुने गरेको तथ्याङ्क छ ।  कामना प्रकाशन प्रवेश गरिसकेपछि त्यहाँभित्र एकत्रित परिवार सदस्यहरूको विविधताले एउटा छुट्टै संसारको अनुभूति भयो । विभिन्न पेशा, वर्ग र क्षेत्रका व्यक्तिहरूको संगम स्थलको रूपमा रहेर फेरि त्यही संस्थाबाट अन्य ठूला सञ्चारमाध्यम भनिएका संस्थामा कामना प्रकाशन गृहबाट बग्रेल्ती जनशक्ति प्रवाह हुने गरेको देख्दा कतै ‘रिक्रुटमेन्ट–सेन्टर’ जस्तो पनि अनुभूति भयो – कामना प्रकाशन गृह । कामना गृहमा पत्रकारितामा पोख्त भएपछि अन्य सञ्चार गृहले स्वीकार गर्ने भनेपछि वास्तविक ठूला सञ्चारगृह त कामना प्रकाशन पो रहेछ ।
यतिमात्र होइन स्वयम् सरकारका तत्कालीन परराष्ट्र मन्त्रीले समेत इराकमा १२ नेपालीको आमहत्याको घटना पुष्टि गर्न नेपाल समाचारपत्रलाई आधार मान्नुपरेको घटनाले त कामना गृहको गरिमा कति उपल्लो स्तरसम्म थियो भन्ने स्पष्ट हुन्छ । सरकारी पहुँच पुग्न गाह्रो इराक घटनामा नेपालीको हत्या बारेको समाचार कामना प्रकाशनको संवाददाता दीपक रिजाल विदेशमै बसेर सम्प्रेषण गरिरहेका थिए । स्मरणीय छ, नेपाल समाचारपत्रले १२ नेपालीको आमहत्या भनेर ‘एक्स्क्लुसिभ समाचार’ प्रकाशन ग¥यो, तर प्रतिस्पर्धामा अघि बढ्ने नाममा अन्य समाचार माध्यमले १३ नेपालीको हत्या भनेर लेख्यो । बाइलाइनको नामलाई १३औँ मृतकमा गन्ती गरेर गल्ती गरेको तिनलाई के थाहा ! यसरी अगाडि बढ्ने नाममा स्वयम् समाचार लेखकलाई पनि मृतक घोषित गर्ने कस्ता संवाददाता होलान् !
पंक्तिकारको स्मरणमा थुप्रै कुरा जमिरहेका छन् । दरबार हत्याकाण्डका दिन२०५८ जेठ १९ गते शुक्रबार साँझ ६ः३० बजे राजा वीरेन्द्रसँग स्पोटलाइट पत्रिकाका सम्पादक माधवकुमार रिमालको दर्शन भेटको कार्यक्रम थियो । पत्रकारलगायत संवाद सचिवालयअन्तर्गतका क्षेत्रका महानुभावलाई दर्शन भेट स्थलसम्म पु¥याउने जिम्मेवारीअनुसार सोदिन रिमाललाई मंगलसदन (राजाले दर्शन भेट दिने एक स्थल) सम्म पु¥याई सो दिनको ड्युटी सकाएर घर फर्की साँझ साविकबमोजिम बेलुकी ८ बजे नेपाल समाचारपत्रको भाषा सम्पादनको ड्युटीमा पुगेको केही समयपछि नै दरबार हत्याकाण्ड घटेको अप्रिय खबर आइपुग्यो, प्रधानसम्पादक पुष्करलाल श्रेष्ठ समाचार डेस्कमा स्टेन्डबाई रहनुभयो ।
यताबाट पंक्तिकारले संवाद सचिवको मोबाइलमा फोन गर्दा बिजीका बिजी रहेछ, नभन्दै सम्बद्ध डेस्कका संवाददाता मित्रहरू दरबारतिरै लागे । आफूलाई भने उताको जिम्मेवारीले सतायो । घटना साँचो भए दरबारमा आवश्यक कार्यका लागि तम्तयारी हुनुपर्ने बाध्यकारी जिम्मेवारीका कारण प्रधान सम्पादकसँग बिदा मागी घरतिर लागियो । नभन्दै मध्यरातमै बोलावट भएर संवाद सचिवालयको ड्युटीमा पुगियो । भोलिपल्ट दरबार हत्याकाण्डको ब्यानर न्युजको नेपाल समाचारपत्र बजारमा हातहातै सकिएर बाहिरका मानिसले प्रतिलिपिप्रतिसमेत सयौँ रुपियाँमा बिक्री  गरिरहेको अर्को समाचार संकलन गर्न भ्याए समाचार संवाददाताले ।
नेपाल समाचारपत्रको विश्वसनीयताप्रति आम पाठकहरूको दरिलो लगावले प्रकाशन गृहकै गरिमा उँचो बन्दै गएको सत्य हो । पुष्करलाल श्रेष्ठको सपना पनि त्यही थियो । ‘नेपालीपनको नेपाली पत्रिका’श्रेष्ठको मुख्य आकाङ्क्षा नै हो । एउटैै सञ्चार संस्थालाई छापा, श्रव्य, श्रव्यदृश्य तथा अनलाइनलगायत आम सञ्चारका सबै साधन दिइयो भने ‘मिडिया टाइकुन’बन्ने मौका मिल्न जाने हुँदा त्यसको शुरूदेखि विरोध जनाउँदै राज्यले यसमा विशेष ध्यान पु¥याउन प्रधान सम्पादक श्रेष्ठले सजग गराउँदै आएको आजै जस्तो लाग्छ । तर एकल वृहस्पति झूठा भनिएझैँ कसैबाट त्यसको सुनुवाइ नहुँदा आज सूक्ष्म रूपले मुलुकमा त्यसको असर देखा परिरहेको छ ।
स्पष्टवक्ता पुष्करलालश्रेष्ठको प्रधान सम्पादकत्वको नेपाल समाचारपत्रको विश्वसनीयता राजादेखि रंकसम्म व्यापक थियो भन्ने कुरा पनि स्पष्ट छ । स्मरणीय छ, उनै पुष्करलाल श्रेष्ठ पहिलो व्यक्ति हुनुहुन्छ जसले राजासँग दर्शनभेटका लागि दर्शनभेटस्थल अर्थात् मंगलसदनसम्म सवारी साधन लग्ने अनुमति पाउनु भएको थियो । त्यति मात्र होइन राजासँग दर्शनभेट पाउने पत्रकारको दर्शनभेटको तस्वीर राजाको दस्तखतसहित प्रदान गर्ने प्रचलन पनि पुष्करलाल श्रेष्ठको पालादेखि नै चलेको हो ।
संस्मरणको अर्को पाटो, दरबारका सचिव होस् वा आमनागरिक जो कोही नेपाली आफैं कथा बुन्न माहिर छन् भनी उनै संवाददाता रिजालले पंक्तिकारलाई सुनाएको घटना पनि कम घतलाग्दो छैन ।  एक दिन रिजालकै बाइलाइनमा प्रकाशित दरबारसम्बन्धी समाचारबारे एक जम्काभेटमा दरबारका सचिवले रिजाललाई ‘दानदास त्यहीँ भएपछि दरबारको समाचारको त के कमी होला?’ भनेर सुनाएछन् ।
एकै छिन त सचिव र रिजालबीच टकराव नै भएछ । उक्त बाइलाइन समाचारको पंक्तिकारलाई ‘स’ पनि थाहा थिएन । नखाएको विष लाग्दैन भनिन्थ्यो, लगाउन खोज्नेहरूको कमी पनि हुन्न रहेछ ! दरबारको समाचार बाहिर प्रवाह गर्ने आरोप यदाकदा सुन्ने गरेकोमा त्यसको विपक्षमा कमसेकम रिजाल जस्तो एक जनामित्र साक्षीको रूपमा प्रकट गराउन सकेकोमा भने पंक्तिकारलाई भित्रैदेखि खुसीको अनुभूति भएको थियो । सो घटनाले पंक्तिकारको दुई ठाउँको जागिर एउटा विशुद्ध प्रोफेसनलबाहेक अरू छद्म कार्य केही होइन भन्ने ज्वलन्त उदाहरण पनि दिएको छ ।
समष्टिमा २०५२ सालदेखि २०६९ सम्म झण्डै १८ वर्षको कामना प्रकाशनसँगको सान्निध्यले पत्रकारितादेखि राष्ट्रिय जीवनका विविध पक्षको अनुभूति संगाल्न पाउनु मेरो अहोभाग्य सम्झेको छु । कामना प्रकाशन गृहका संस्थापक प्रधान सम्पादक स्व. पुष्करलाल श्रेष्ठको अगाध माया–मोह, जीवनपर्यन्त सदा सम्झिइरहनेछ । संस्थाको ४० औँ वर्षगाँठको सुअवसरमा श्रेष्ठको आत्मालाई पूर्ण शान्ति मिलोस् – हृदयदेखि श्रद्धासुमन अर्पण ! कामना प्रकाशनको विरासत र अस्तित्वलाई जीवन्तमात्र हैन जाज्वल्य बनाउँदै जान भाबी पुस्तालाई सदा सामथ्र्य मिलिरहोस्, हार्दिक शुभकामना !

प्रतिक्रिया दिनुहोस्