रोमाञ्चकमा पुग्दा खेलै सकियो



काठमाडौं।

नेपाल सुपर लिगको दोस्रो संस्करणअन्तर्गत मंगलबार एफसी चितवन र काठमाडौ रेजर्सबीचको खेल १–१ बराबरीमा सकिएको छ । यो खेलको ८५ मिनेटसम्म दुबै टोली गोलको लागि कयौ मुभ बनाइरहे । तर, अन्तिमको समयमा दुबै टोलीले एक–एक गोल गर्दा खेल रोमाञ्च तरिकाले समाप्त भयो । यसअघि आ–आफ्नो पहिलो खेलमा चितवन पोखरासँग हारेको थियो भने काठमाडौले इलामलाई हराएको थियो ।

दशरथ रंगशालामा पहिले चितवनले अग्रता लिएको थियो । ८७ औं मिनेटमा विमल घर्तीमगरको प्रहारमा काठमाडौका खेलाडीले आत्मघाती गोल गरेका थिए । यो गोलले चितवनलाई १–० को अग्रतामा राखेको थियो । यो गोल ढिलो भएको हुँदा चितवन जित पाउनेमा ढुक्क थियो । यो उनीहरुको एनएसएल इतिहासमा पहिलो जित समेत हुनेतिर थियो ।

तर, काठमाडौंका लागि जुनियर नकेन्गीले थपिएको समयमा गोल गरेका थिए । उनले डिबक्सको लाइनबाट दुई खेलाडीको बीचमा बायाँ खुट्टाले भली प्रहार गर्दै गोल गरेका थिए । उनको प्रहारलाई विशाल श्रेष्ठले बचाउनै सकेनन् । यो सुन्दर गोलसँगै खेलमा रौनक थपिएपनि त्यतिबेलासम्म समयले खेल सकिएको संकेत गरिसकेको थियो । जारी प्रतियोगितामा यो पहिलो बराबरी खेल समेत हो । अघिल्ला खेलमा नतिजा निस्केको थियो ।

खेल निकै प्रतिस्पर्धात्मक भएको थियो । खेलको सुरुवातमै विमल घर्ती मगरले रफिक अमिनुको लागि राम्रो पास निकालेका थिए । चितवनको लागि यो गोल गर्ने मौका थियो । तर, क्लोज रेन्जमा रहेको बलमा अमिनु पुग्नु अघि नै काठमाडौंका गोलकीपर अभिषेक बरालले बल समातेका थिए । यस्तै छिरिङ गुरुङको क्रसलाई पनि अभिषेकले विफल पारिदिएका थिए ।

३५औं मिनेटमा चितवनको लागि गोलको मौका आएको थियो । गोलकीपर विशाल श्रेष्ठले बललाई लामो प्रहार गरेका थिए । यो बलमा रोशन रानामगरको नियन्त्रणमा रहेन । उनले प्रहार त गरे तर, अभिषेकले बल समाए । रोशनले बललाई अलि माथि चिप गरेको भए शायद चितवन १–० को अग्रतामा पुग्नेथियो ।

दोस्रो हाफमा पनि चितवनले गोलको लागि निकै प्रयास गरेको थियो । तर, कोही खेलाडी पनि गोल गर्न सफल भएनन् । विमलले गोल गर्ने प्रयास पनि लक्ष्यहिन भएको थियो । उनको प्रहारमा कुनै लक्ष्य नै थिएन ।

शुरुवाती करिब दश मिनेटसम्म चितवनले काठमाडौंमाथि निकै दवाव राखेको थियो । काठमाडौंका खेलाडीले विस्तारै खेलमा पकड जमाउँदै जाँदा पहिलो हाफमा केही प्रहार गर्न सफल भएको थियो । १४ औं मिनेटमा तोजीदिनोभको प्रहार लक्ष्यमा रहेन । ३९औं मिनेटमा अफ्रिए अक्वाहको फ्रिकिकमा मार्को इभनोभिचले हेडर सम्पर्क गर्न सकेनन् ।

जाडोमा दर्शक बढेन

जाडो याम भएको हुँदा फ्लड लाइटमा खेल भएपनि दर्शकको संख्या बढेको छैन । शुक्रबार उदघाटनको दिनमा जति दर्शकको उत्साह देखियो । त्यसको भोलिपल्ट देखिनै दर्शकको संख्यामा कमि आएको हो । भीआईपी सिटहरु पनि खालि खालि छ भने पूर्वतिरको प्यारापिटमा कम दर्शक देखिएको छ । दायाँ बायाँको प्यारापिटमा फाटफुट चार पाँच जना दर्शकको उपस्थित रहेको छ ।

जाडोको समयमा घाम प्यारो हुने हुँदा दर्शकले फुटबल हेर्न नआएको एक दर्शकले बताए । उनले नेपाल समाचारपत्रलाई बताए—चिसो बढिरहेको छ । खेलमा त्यति रौनक पनि देखिएको छैन । फेरि यसलाई टिभी र यूट्युबमा प्रत्यक्ष प्रसारण पनि गरिएको छ । यस्तो अवस्थामा रंगशालामा आएर फुटबल हेर्न नआएको हुन सक्छ मेरो कुरा गर्ने हो भने, वास्तवमा चिसोमा यति रातिसम्म हेर्न पनि सकिँदैन । जति जति समय कट्दै जान्छ चिसो बढ्दै जान्छ, अनि फुटबल कसरी हेरिरहुँ । कि त फुटबलमा राम्रो प्रतिस्पर्धा हुनुप¥यो ।

प्रतिक्रिया दिनुहोस्