विमानस्थल पूर्ण रुपमा यथाशीघ्र सञ्चालनको पहल गर्न देउवासँग उद्योगीव्यवसायीको माग

0
Shares

बुटवल।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सुचारु गर्न समन्यवात्मक भूमिका निर्वाह गरिदिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग माग गरेको छन् । संघले यस क्षेत्रको आर्थिक मेरुदण्डका रुपमा रहेको यो विमानस्थलबाट निरन्तर उडानको व्यवस्था गर्न माग गरेको हो ।

मंगलबार भैरहवामा देउवालाई ज्ञापनपत्र बुझाउँदै संघले विमानस्थलसँग सम्बन्धित सम्पूर्ण व्यवसाय, पर्यटन तथा आर्थिक अवस्था समेत नराम्रोसँग प्रभावित भएको बताएका छन् । विमानस्थल पूर्णरुपमा सञ्चालन हुन नसक्दा यस क्षेत्रका उद्योगी तथा व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए । संघले ७ बुँदे माग राख्दै नेपाली कांग्रेसका सभापति देउवालाई ज्ञापनपत्र बुझाएको वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्यले बताए।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट उडान हुने अन्तर्राष्ट्रिय विमानहरुमध्ये कम्तीमा २५ प्रतिशत अनिवार्य गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट उडानका लागि समन्वय गरिदिनुपर्ने, विमानस्थलमा उडान भएर सञ्चालनमा आउन नसकेका विद्युतीय उपकरण शीघ्र सञ्चालनमा ल्याउनुपर्ने संघको माग छ ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले ४३ अर्ब बढी लगानीमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ८० अर्बको निजी क्षेत्रको लगानी भए पनि विमानस्थल सञ्चालनमा नआउँदा निजी क्षेत्र मर्कामा परेको बताए ।ज्ञापनपत्र बुझ्दै सभापति देउवाले व्यवसायीको मागप्रति आफू सकारात्मक रहेको र विमानस्थल पूर्ण सञ्चालनका लागि आवश्यक पहल गर्ने बताए।