समृद्ध पालिका निर्माणको लागि शिक्षा, स्वास्थ्य र रोजगारी

0
Shares

दोलखा ।

दोलखाको मेलुङ गाउँपालिकाले बैदेशीक रोजगारीमा जाने युवाहरुलाई गाउँमै बस्ने वातावरण सहित समृद्ध पालिका निर्माण गर्न शिक्षा, स्वास्थ्य र रोजगारीमूलक कार्यक्रमलाई प्राथामिकताका साथ अघि बढाएको पालिका प्रमुख हिरा कुमार थोकरले बताए।
अहिलेको प्रमुख चुनौती भनेको युवा पलायन रोक्नेनै हो अध्यक्ष थोकरले भने– त्यसको लागि हामीले गाउँमै रोजगारीको व्यवस्था गर्न शिक्षा र स्वास्थ्यलाई प्राथामिकताका साथ अघि बढाई रहेका छौँ ।

गाँउपालिकाको समन्वयमा अहिले कृषि उत्पादन तथा उद्योगको लागि सहुलियत दरमा कर्जा उपलब्ध गराउने, व्यवसायीक तालिमको व्यवस्था गर्ने र कृषि उत्पादन तथा बजारीकरणमा सहयोग गर्ने कार्यक्रम सुरु गरिएको पालिका प्रमुख थोकरको भनाई छ । पालिकाले हेपड नामको गैर सरकारी संस्थासँगको समन्वयमा महिला कृषकहरुलाई लक्षित गर्दै कृषि सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिएको पालिका प्रमुख हिरा कुमार थोकरले बताए ।
पालिकाको समन्वयमा प्रभु, लक्ष्मी र हिमालयन बैङ्कले कृषकहरुलाई सहुलियत दरमा ऋण प्रभावह गर्ने सम्झौता भएको र एक जना कृषकले १५ लाख रुपैयाँ ऋण लिएर व्यवसाय सुरु गरिसकेको पालिकाले जनाएको छ ।

अहिले पालिकाको पूर्ण लगानी वा सहयोगमा ठूला उद्योग सञ्चालन गर्न कठिन रहेकोले कृषि क्षेत्रलाई प्राथामिकता दिदै पालिकाले साना उद्योग सञ्चालनमा सहयोग गर्दै आएको उपप्रमुख गायत्री आचार्यले बताइन्  । तर स्थानीय युवाहरुलाई कृषि तथा रोजगारीको व्यवस्था गरी गाउँमै रोक्न कठिन रहेको उपप्रमुख आचार्यले बताइन् ।

मेलुङ गाउँपालिकाले अहिले प्रत्येक वडाको केन्द्र जोड्ने सडक निर्माण गरेको, ती सडकहरुलाई क्रमशः पीच तथा ढलान गर्ने नीति अनुसार काम अघि बढाईएको, पालिकाको केन्द्र तोकी भवन सहित भौतिक पूर्वाधार तयारीको काम सुरु गर्न लागिएको, पालिका भित्रका पर्यटकीय केन्द्रहरुको पहिचान तथा प्रवद्धनको काम अघि बढाईएको पालिका प्रमुख थोकरले बताए । उनले मेलुङ गाउँपालिका खाद्यान्नमा आत्मनिर्भर रहेको र आलु तथा धान ठूलो परिमाणमा निर्यात समेत गर्दै आएको बताए ।