वेश्यावृत्तिमा लगाएको अभियोगमा स्पा सेन्टरका सञ्चालक पक्राउ



काठमाडौँ।

रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तिमा लगाएको अभियोगमा काठमाडौँ महानगरपालिका-९ रातोपुलस्थित नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरका संचालक संखुवासभा चिचिला गाउँपालिका-१ घर भएका ४३ वर्षीय दिनेश पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।  साथै सेन्टरबाट २ नाबालिका र १ युवतीलाई प्रहरीले उद्धार गरेको छ ।

 उक्त स्पा सेन्टरमा काम गर्ने युवतीहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाई यौन शोषण गर्ने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले पौडेललाई पक्राउ गरेको हो ।

 युवतीहरूलाई आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी स्पा सेन्टरमा बोलाउने गरेको, मसाजका साथै शारीरिक सम्पर्क राख्न दवाव दिने गरेको र पौडेलले भने अनुसारको काम गर्न नमानेमा शारीरिक तथा मानसिक यातना दिनुको साथै अश्लिल फोटो तथा भिडियो सामाजिक सञ्जालमार्फत आफन्तलाई पठाइदिने जस्ता डर त्रासमा पार्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । रातो पुल र एयरपोर्ट नजिकै रहेका पौडेलका २ वटा स्पा सेन्टरमा काम गर्ने युवतीहरूलाई आलोपालो एक ठाउँबाट अर्को ठाउँमा पठाउने गरेको खुल्न आएको छ ।

 पौडेललाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्